Comments Add Comment

विप्लवको गतिविधि पार्टी पद्दति विरोधी : वैद्य

२५ कात्तिक, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले सचिव नेत्रविक्रम चन्दलाई पार्टीविरोधी गतिविधि गरेको आरोप लगाएका छन् । यस्तो गतिविधि तत्काल बन्द गर्न विप्लवलाई माओवादीको पोलिटब्यूरो बैठकले निर्देशनसमेत दिएको छ ।

विप्लवले बुधबारदेखि गर्न लागेको राष्ट्रिय भेला रोक्न पोलिटब्यूरो बैठकले निर्देशन दिएको छ ।

मंगलबार राजधानीमा सम्पन्न दुईदिने पोलिटब्यूरो बैठकले विप्लवको गतिविधि पार्टी पद्दति विपरीत भएको ठहर गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै मंगलबार जारी प्रेस वक्तव्यमा वैद्य र बादलले भनेका छन्- ‘केही जिम्मेवार कमरेडहरुबाट पार्टी पद्दति विपरीत अलग ढङ्गले गतिविधि गरिरहेकाले उक्त गतिविधिहरु तत्काल बन्द गरी पार्टीलाई एकतावद्ध तुल्याउन निर्देशन दिने ।’

केन्द्रीय समिति बैठक नबोलाइएको भन्दै छुट्टै भेला गर्न लागेका विप्लवका लागि २९ गते बस्ने केन्द्रीय समिति बैठकले नैतिक दबाव पुगेको छ

पदाधिकारी र पोलिटब्यूरो बैठक बहिस्कार गरेको विप्लव समूहले बुधबार र विहीबार राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको छ । तर, वैद्यको अध्यक्षतामा बसेको पोलिटब्यूरो बैठकले कात्तिक २० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

मंसिर ६ गते केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत सहभागी हुन पाउनेछन् ।

माओवादीको पोलिटब्यूरो बैठकले मंसिर ४ गते संविधानसभा विघटनको माग गर्दै प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै पश्चिम नेपालका बाढी पीडितलाई राहत र पुनःस्थापनाको माग समेत बैठकले गरेको छ । माथिल्लो कर्णाली तथा अरुण-३ जस्ता सम्झौता राष्ट्रघाती भएको भन्दै माओवादीले ती सम्झौता खारेज गर्न माग गरेको छ ।

विप्लवलाई नैतिक अप्ठ्यारो

केन्द्रीय समितिको बैठक नबोलाइएको भन्दै बुधबारदेखि छुट्टै भेला आयोजना गरेको विप्लव समूहका लागि २९ गते बस्ने केन्द्रीय समितिको बैठकले नैतिक दबाव पुगेको छ ।

साथै मंसिर ६ गते विस्तारित बैठक बोलाइएपछि विप्लव समूहले अब पार्टी विभाजनको घोषणा गर्छ या केन्द्रीय समितिको बैठकमा सहभागिता जनाउँछ भन्ने प्रश्न पैदा भएको छ ।

पार्टी सचिव विप्लवले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनुपर्ने माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment