Comments Add Comment

हतियार उठाउने विप्लवको चेतावनी

Biplab at butwal२९ कात्तिक, बुटवल । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले सर्वहारा वर्गको राज्यसत्ता स्थापनाको लागि भन्दै फेरि हतियार उठाउने चेतावनी दिएका छन् ।

माओवादी सचिव विप्लव नेतृत्वको असन्तुष्ट पक्षले कात्तिक २६ र २७ गते कपिलवस्तुको शिवगढी जंगलमा गरेको दुई दिने गोप्य विशेष अन्तरक्रियापछि शनिवार विहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा विप्लवले पुनः सशस्त्र क्रान्तिको आवश्यकता औंल्याएका हुन् ।

पत्रकार सम्मेलनमा उनले आफूहरुको हतियार उठाउने रहर नभएको भन्दै राज्यले दमन गरे प्रतिरोध गर्ने जनताको अधिकार भएको बताए । ‘हतियार त राज्यले उठाएकै छ,’ पत्रकारहरुको जिज्ञासामा विप्लवले भने, ‘जनताको न्यायपूर्ण आन्दोलनमाथि दमन गरिए प्रतिरोध गर्ने जनताको अधिकार हो ।’

पार्टीलाई फुटाउँने आफ्नो चाहना नभएको उल्लेख गर्दै विप्लवले पार्टीलाई सशक्त र एकतावद्ध बनाउने दावी गरे । तर भेलाका निर्णयहरु लागू नगरे पार्टी फुट्न सक्ने संकेत गरे ।

पार्टी नेतृत्व लामो समयदेखि अलमलमा रहेकोले पार्टीलाई सशक्त क्रान्तिकारी कार्यदिशा तय गरि अघि बढ्नुपर्ने माओवादी सचिव तथा असन्तुष्ट समूहका नेता विप्लवको भनाई छ ।

सचिव विप्लवले संविधानसभा विघटन गरी अधिकारसम्पन्न राष्ट्रिय राजनीतिक सभा गठन नगरे जनविद्रोहमा जाने निश्चित भएको बताए । पार्टीसँग असन्तुष्ट चन्द समूहले राष्ट्रिय राजनीतिक सभा गठनको मागलाई गम्भीरताका साथ उठाएको बताएको छ ।

‘हामीले देशले सही निकास पाओस् र द्वन्द्व नहोस् भनेर यो माग ‘सिरियस्ली’ उठाएका छौं, यदि गरिदैन भने जनविद्रोहमा जानैपर्छ भन्ने छलफलले निश्कर्ष निकालेको छ’ चन्दले भने, ‘भेलाका निर्णयहरुलाई आफ्नो पार्टी र अरु दलसँग पनि राख्छौं ।’
दोस्रो संविधानसभाको नाममा जनयुद्धबाट स्थापित सबै उपलब्धीलाई निषेध गरी पुरानै संसदीय व्यवस्था लाद्ने षड्यन्त्र भएकाले यसलाई अस्वीकार गर्ने र  वैदेशिक हस्तक्षेप नाङ्गो ढंगबाट बढेकाले राष्ट्रिय स्वाधिनताको पक्षमा प्रतिरोध संघर्ष अघि बढाउने निर्णय भेलाले गरेको उनले जानकारी गराए ।

पत्रकारहरुको जिज्ञासामा नेता चन्दले आफूहरुका माग सुनुवाई नभए जनसत्ता ब्युताउनेसम्मको चेतावनी दिए । अबको विद्रोह सहर र गाउँबाट एकसाथ हुने र विशेषगरी सहरीया मध्यम वर्ग, राष्ट्रिय पुँजीपति वर्गको पनि साथ लिने चन्दले दावी गरे ।

‘किरणजी सम्मानित र इमान्दार नेता हो तर नेतृत्वमा असफल हुनुभयो’-चन्दले भने-‘कार्यकर्ताले सही निर्णय क्षमताको गतिशील नेतृत्व चाहेका छन् ।’ विशेष अन्तरक्रिया नाम दिइएको भेलामा ४४ जिल्लाबाट करिब ३ सय नेता र अगुवा कार्यकर्ताहरु सहभागी भएको बताइएको छ ।

नेतृत्व लामो समयदेखि अलमलमा रहदै दिशाहिन बन्नु घातक भएको ठहर गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । आफूहरुको विशेष अन्तरक्रियाले संविधान निर्माणको सन्दर्भमा संसदीय ब्यवस्था लाद्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको जारी विज्ञप्तिमा उल्लेख छ ।

साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले आफूहरुलाई टुटाउँन फुटाउन खोजेको आरोप लगाउँदै विप्लवले सुस्पष्ट विचार र कार्यदिशासहित एकढिक्का भई अघि बढ्नुको विकल्प नरहेको बताए । आगामी मंसिर भित्रै विशेष अधिवेशन गरी स्पष्ट दिशा दिएर अघि बढ्न विप्लवले नेतृत्वलाई सुझाएका छन् ।

-कपिल ज्ञवालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment