Comments Add Comment

नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न राप्रपा नेपालको माग

२८ मंसिर, काठमाडौं । राप्रपा नेपालले बेलायती राजदूतले धर्म परिवर्तन गर्ने/गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर बेलायती राजदूतले दिएको विवादास्पद अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कोइरालाले बेलायती राजदुतको भनाई आपत्तिजनक रहेको स्वीकार्दै परराष्ट्र मन्त्रालय मार्फत जानकारी लिने बताएको राप्रपा नेपालले जनाएको छ । ‘आवश्यक परे राजदुतलाई बोलाएरै भएपनि संवेदनशील विषयमा सार्वजनिक रुपमा अभिव्यक्ति नदिन सचेत गराउने पनि प्रतिनिधिमण्डललाई विश्वास दिलाउनु भयो,’ राप्रपा नेपालले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नोटमा पृथ्वीनारायण शाहको तस्वीर राख्न माग

अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधि मण्डलले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र पनि बुझाएको छ । साथै राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न माग गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले पृथ्वीनारायण शाहलाई सम्मान दिने विषयमा आफू अत्यन्त सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

हिन्दुराष्ट्र सुनिश्चित गर्न माग

राप्रपा नेपालका नेताहरुले सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र सुनिश्चित हुनु पर्ने पार्टीको अडान प्रधानमन्त्री समक्ष राखेका थिए ।

प्रधानमन्त्री कोइरालाले मुलुक गम्भिर मोडमा रहेकाले सहमतिका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने, नभए विधि र प्रक्रियाबाट भएपनि माघ ८ गतेभित्र संविधान जारी गर्न आफू प्रतिवद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री कोइरालाले निर्धारित मितिमा संविधान जारी नभए मुलुक अस्थिरता तर्फ जान सक्ने खतरा रहेकाले आफूलाई सहयोग गर्न राप्रपा नेपालसँग आग्रह गरेका थिए ।

प्रतिनिधि मण्डलमा राप्रपा नेपालका अध्यक्ष थापा, उपाध्यक्षद्वय टंक ढकाल, निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ र सहप्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment