Comments Add Comment

सरकार-विद्यार्थी वार्ता निष्कर्षविहीन

८ पुस, काठमाडौं । सवारी साधनको भाडा घटाउन माग गर्दै आएका विद्यार्थी संगठन र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । माग सम्वोधन गर्न सरकार तयार नभएको भन्दै विद्यार्थीहरुले आन्दोलनलाई थप सशक्त पार्ने चेतावनी दिएका छन् ।

भाडा घटाउन सोमबार २४ घण्टे अल्टिमेटम दिएका संयुक्त विद्यार्थी आन्दोलन समितिका प्रतिनिधिसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि र मुख्य सचिव लीलामणि पौडेलले मंगलबार छुट्टा छुट्टै छलफल गरेका थिए ।

‘तत्काल भाडा घटाउन सरकार तयार देखिएन, हाम्रो आन्दोलन जारी हुन्छ,’ नेबिसंघ प्रवक्ता यूपी लामिछानेले अनलाइनखबरलाई भने ।

भाडा घटाउन आफूहरु सकारात्मक भएको भन्दै मन्त्री निधि र मुख्य सचिव पौडेलले आन्दोलन स्थगित गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका थिए । उनीहरुले छिट्टै भाडा घटाउन आफूहरु सकारात्मक भएको समेत बताएका छन् ।

‘अहिले घटाइएको भाडा व्यवहारिक भएन भन्ने हामीलाई पनि लागेको छ,’ मन्त्री निधिले वार्तामा भनेको भनाइ उद्धृत गर्दै नेबिसंघ प्रवक्ता लामिछानेले अनलाइनखबरसँग भने, ‘उहाँहरुले एक-दुई दिन भित्रै माग सम्वोधन गर्ने आश्वासन दिनुभएको छ ।’

अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले मन्त्री सिंह र मुख्यसचिव पौडेल पूर्व तयारी विना वार्तामा बसेकोले सहमति नभएको बताए ।

‘उहाँहरुले तपाईंहरुको मागमा सकारात्मक छौं तर निर्णयमा पुगेका छैनौं भनेर रेडिमेड जवाफ दिनुभयो,’ अनलाइनखबरसँग कुरा गर्दै मल्लले भने, ‘निर्णय नगरेसम्म आन्दोलन रोक्दैनौं, यसअघि क्याम्पस अगाडि मात्रै प्रदर्शन गर्थ्यौं अब ‘सडकमा पुग्न बाध्य हुनेभयौं भनेर निस्कियौं ।’

मल्लका अनुसार मुख्य सचिव पौडेलले यातायात व्यवसायीसँग पनि छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए ।

वार्तामा विद्यार्थीहरुलाई सवारी साधनमा भाडा छुट दिने सहमति कडाइका साथ कार्यान्वयन गर्ने, सडकको दुरी दुई-दुई किलोमिटरमा खण्डित गरी भाडा निर्धारण गर्ने लगायतको सहमति भने भएको छ । हाल शून्यदेखि ४ किलोमिटरलाई खण्डित गरी भाडा तोक्ने गरिएको छ ।

संयुक्त रुपमा आन्दोलन गर्दै आएका सत्ता पक्ष र प्रतिपक्षका १५ विद्यार्थी संगठनका नेताहरु वार्तामा सहभागी थिए ।

बुधबार मध्यान्ह १२ बजे अखिल क्रान्तिकारीको कार्यालयमा बैठक बसेर आगामी कार्यक्रम तय गर्ने विद्यार्थी नेताहरुले जानजकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment