Comments Add Comment

प्रचण्डको ‘उत्पादन’ देखि विप्लवको ‘उत्पात’सम्म

;prachanda-baburam-baidya-biplov
राजनीतिक टिप्पणी

११ पुस, काठमाडौं । आजभन्दा १२१ वर्षअघि २६ डिसेम्बर १८९३ मा जन्मिएका चिनियाँ नेता माओत्सेतुङका नाममा नेपालमा पाँचवटा पार्टी खडा छन् । तीमध्ये एमाओवादीका प्रचण्ड र बाबुरामका आ-आफ्नै ‘थ्यौरी’ छन् । माओवादी नेता नेता मोहन वैद्य र विप्लवसँग पनि आफ्नै सिद्धान्त छन् ।

माओवादबाहेक अर्को सिद्धान्त नकथेका चाँहि मणि थापा र मात्रिका यादव मात्रै हुन् । प्रचण्डसँग ‘उत्पादन’, बाबुरामसँग ‘नयाँ शक्ति’, वैद्यसँग ‘जनयुद्धमा जनविद्रोह जोड्ने’ र विप्लवसँग ‘एकीकृत क्रान्ति’को कार्यदिशा छ ।

प्रचण्डको उत्पादन

Prachandaहेटौडा महाधिवेशनमा दस्तावेज प्रस्तुत गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएकाले समाजवादी क्रान्तिको आधार तयार पार्नुपर्ने लाइन अघि सारेका छन् । यसका लागि उत्पादनमा जोड दिने र मुलुकलाई सम्वृद्ध बनाउँदै समाजवादी क्रान्तितर्फ अघि बढ्ने प्रचण्डको प्रस्ताव छ ।

तर, पार्टीभित्रकै अपारदर्शी एवं फजुल खर्ची कार्यशैली, भ्रष्टाचार एवं अपसंस्कृतिका कारण एमाओवादी कार्यकर्ताले उत्पादन बढाउन नसक्ने चुनौती प्रचण्डसामु छ । हेटौडाको उत्पादनको कार्यदिशालाई अघि बढाउने गरी पार्टीले कार्यक्रम र योजना अघि सार्न सकिरहेको छैन ।

अर्कोतर्फ हेटौडा महाधिवेशनदेखि पार्टी केन्द्रमै चर्को विवाद देखापरेको छ र पार्टी विशेष महाधिवशेनमा जानुपर्ने अवस्थामा पुगेको छ ।

जनयुद्धलाई वीचैमा थाति राखेर शान्ति प्रक्रियामा आएको एमाओवादी कमजोर बनेको छ । कतै यो पार्टी विघटनको दिशामा त पुग्दैन ? गम्भीर प्रश्न उत्पन्न भएको छ, जसले गर्दा प्रचण्डको ‘उत्पादनको कार्यदिशा’ प्रश्नको घेरामा तानिएको छ ।

बाबुरामको नयाँ शक्ति

फाइल फोटो
फाइल फोटो

एमाओवादीका अर्का नेता एवं सिद्धान्तकार डा. बाबुराम भट्टराईले हेटौडा महाधिवशेनको दस्तावेजमा प्रचण्डलाई सघाए पनि त्यसछि ‘नयाँ शक्ति’ को ‘सेन्थेसिस’ अगाडि सारेका छन् ।

बाबुरामले माओवादीलाई नयाँ शक्ति बनाउनुपर्ने प्रस्ताव राख्दै आएका छन् । शान्ति प्रक्रियामा आएपछि जनवादी क्रान्तिको कार्यभार पूरा भएकाले समाजवादी क्रान्तिको मोडेल तय गर्नुपर्ने, जनवादी केन्द्रीयतासम्बन्धी संगठनात्मक सिद्धान्तलाई परिमार्जन गर्नुपर्ने लगायतका प्रस्तावहरु डा. भट्टराईले अघि सारेका छन् ।

तर, डा. भट्टराईले प्रचण्डसँग बेलाबखत सम्झौता गर्ने गरेको र आफ्नो एजेन्डा छाडिदिने गरेको आरोप लाग्ने गरेको छ । यो अवस्थामा उनले भनेको नयाँ शक्ति एमाओवादीभित्रैबाट कि बाहिरबाट सम्भव छ भन्ने प्रश्न पनि उनमाथि उब्जिएको छ ।

वैद्यको जनविद्रोह

mohan-baidyaएमाओवादीबाट अलग भएपछि माओवादी नेता मोहन वैद्यले ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने कार्यनीतिक सिद्धान्त अघि सारेका छन् ।

उनको यो सिद्धान्तले विगतको जनसेना, जनसत्ता र जनअदालतलाई ब्युँताएर विद्रोहमार्फत सत्ता कब्जा गर्ने भन्ने बुझिन्छ । यसमा रुसी र चिनियाँ मोडेललाई मिसाउन खोजेको देखिन्छ ।

तर, वैद्यले जनयुद्धको जगमा जनविद्रोहको सिद्धान्त अघि सारे पनि त्यसअनुरुपको कार्यक्रम दिन नसकी अढाइ वर्षसम्म वैद्यको पार्टी चरम संकटमा परेको छ ।

यही संकटका वीचमा शुक्रबारदेखि राजधानीमा वैद्य माओवादीले राष्ट्रिय भेलाको आयोजना गर्न लागेको छ ।

विप्लवको एकीकृत क्रान्ति

biplovजनयुद्ध छाडेर शान्ति प्रक्रियामा अल्मिलिएर विभिन्न सिद्धान्तको खोजीमा लागेका एमाओवादी नेतामध्ये नेत्रविक्रम चन्दले ‘एकीकृत क्रान्ति’ नामको अर्को सिद्धान्त बजारमा ल्याएका छन् । तर, यो एकीकृत क्रान्ति भनेको के हो भन्ने स्वयं विप्लवलाई पनि स्पष्ट हुन सकेको छैन । यसलाई विस्तारै सम्वृद्ध बनाउँदै जाने बताइएको छ ।

समग्रमा एमाओवादी नेताहरुले अघि सारेका उत्पादन, नयाँ शक्ति, जनविद्रोह र एकीकृत क्रान्ति नामका सबै सिद्धान्तहरु अस्पष्ट र भुलभुलैया जस्तै देखिन्छन् ।

माओवादको भजन

माओवादीका सबै समूहले माओवादका नाममा माओत्सेतुङको भजन गाउन छाडेका छैनन् । तर, पार्टीकै नाम माओवादी राखे पनि माओको नक्कल गरेर क्रान्ति सम्पन्न हुन नसक्ने निश्कर्षमा प्रचण्डदेखि विप्लवसम्म सबै सहमत देखइसकेका छन् । तैपनि माओवाद भन्न कसैले छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment