Comments Add Comment

माओ विश्वकै महान पुरुष : प्रचण्ड

११ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चिनियाँ नेता माओत्सेतुङ विश्वकै महान पुरुषमध्ये एक भएको बताएका छन् ।

Maoमाओ दिवसका अवसरमा शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्-‘उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका अग्रज स्रोत हुनुहुन्छ । माओ विश्वकै महान पुरुष मध्येकै एक बन्न पुग्नुभएको छ ।’

माओले दीर्घकालीन जनयुद्धको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त अघि सारेर मार्क्सवाद लेनिनवादमा योगदान पुर्‍याएको प्रचण्डले बताएका छन् ।

 माओ जयन्तीका अवसरमा संसारभरिका क्रान्तिकारीहरुले वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनासको प्रभाव र अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्नुपर्ने प्रचण्डले बताएका छन् ।

माओको सम्झनामा जारी गरेको विज्ञप्तिमा प्रचण्डले मालेमाको विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रहसमेत गरेका छन् ।

सबै माओवादीका बेग्लाबेग्लै कार्यक्रम

कम्युनिष्टका आदर्श नेता माओको जन्म जयन्ती शुक्रबार विभिन्न समूहमा रहेका माओवादीहरुले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने भएका छन् । एमाओवादीले १२१ औं माओ जयन्ती बताएको छ भने विप्वव समूहले १२२ औं माओ जयन्ती मनाउने निर्णय गरेको छ ।

एकीकृत नेकपा माओवादीले पार्टी मुख्यालय पेरिसडाँडामा कार्यक्रम गरी माओ दिवस मनाउँदै छ भने मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले माओ दिवसकै सन्दर्भ पारेर राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

यस्तै, केहीदिनअघि मात्रै वैद्य माओवादीबाट छु्रट्टिएको विप्लव माओवादीले भने माओ दिवसको सन्दर्भमा देशैभरीका कार्यकर्ता जम्मा गरेर खुलामञ्चमा आमसभा गर्दैछ ।

यसैगरी मात्रिका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा (एकीकृत)ले संयुक्त कार्यक्रम गरी माओ दिवस सन्दर्भमा विचार गोष्ठीको आयोजना गरेका छन् ।

दुई वर्षअघि एकीकृत माओवादीबाट विभाजन भएको वैद्य माओवादीले एकीकृत माओवादीमा रहँदा पनि तीन वर्षअघि छुट्टै माओ दिवस मनाएको थियो । त्यसयता विभाजित भएका नेपालका माओवादीलेहरुले छुट्टाछुट्टै कार्यक्रम गरी माओको स्मरण गर्ने गरेका छन् ।

सन् १८९३ डिसेम्बर २६ तारिखका दिन चीनको शाओसानमा जन्मिएका माओले चिनियाँ कम्युनिष्ट क्रान्तिको नेतृत्व गरेका थिए । माओको १९७६ सेप्टेम्बर ९ मा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment