Comments Add Comment

सुवास नेम्वाङलाई एमाले सभासदको तीब्र दबाव

१४ पुस, काठमाडौं । संविधानसभाको अध्यक्ष तटस्थ हो कि होइन ? यो प्रश्न संविधानसभाको बैठकमै उठेको छ । सभाध्यक्ष सुवास नेम्वाङलाई यो प्रश्न उनकै पार्टी एमालेका स्थायी समिति सदस्यसमेत रहेका प्रभावशाली सभासद सुरेन्द्र पाण्डेले राखेका हुन् ।

संविधानसभामा संवाद समितिको प्रतिवेदनमाथि छलफल चलिरहेका बेला सोमवारको बैठकमा एमाले नेता पाण्डेले भने-‘संविधानसभा अध्यक्ष, सभामुख जस्तो तटस्थ हुन सक्दैन, संविधान निर्माणका लागि गतिशील भूमिका हुनुपर्छ ।’

Subash Nembang 1

  • सुवास नेम्वाङ, अध्यक्ष, संविधानसभा । फाइल फोटो

पाण्डेले यसो भन्दाभन्दै सभाध्यक्षको आसनबाट नेम्वाङले उनलाई रोक्दै भने-‘माननीय सदस्य, यो बहस यहाँ नगरौं, संविधानसभा नियमावलीले सभाध्यक्ष तटस्थ हुन्छ भनेको स्मरण गराउन चाहान्छु ।’

पाण्डेले आफूले सभाध्यक्षको गतिशील भूमिका खोजेको प्रष्ट पार्न थालेपछि नेम्वाङले पुनः उनलाई रोके । ‘दलहरुबीच सहमति नहुने, अनि सभाध्यक्षले केही नगर्ने ?’ पाण्डेको यो प्रश्नपछि नेम्वाङ केही बोल्न बाध्य भए ।

सभाध्यक्षले भने- ‘अहिले संवाद समितिको प्रतिवेदनमाथि छलफल गर्दै हुनुहन्छ, निर्धारित अवधिमा दलहरुले सहमति गरेनन् भने संविधानसभा नियमावलीबमोजिम अघि बढ्छ ।

नेम्वाङले यसो भन्दा सभासदहरुले समर्थनमा टेबुल थपथपाएका थिए । यसअघि कांग्रेस सभासद अर्जुन जोशीले पनि सहमतिका नाममा दलका नेताले समय खाएको भन्दै अब सभाध्यक्षको भूमिका देखिनुपर्ने बताएका थिए ।

पछिल्लो समयमा एमालेका सभासदहरुले सामुहिक रुपमै सभाध्यक्ष नेम्वाङलाई भेटेर सहमतिका नाममा अल्मलिन नहुने भन्दै प्रक्रियामा जानका लागि दबाव दिएका छन् ।

उनीहरुले प्रक्रियामा गएर संविधान निर्माण गर्ने बाटो खुलाउन नेम्वाङलाई पटक-पटक आग्रह गरेका छन् ।

संविधानसभा बैठकमा पनि कांग्रेस एमालेका सभासदहरुले प्रक्रियामा जान सभाध्यक्षले भूमिका खेल्नुपर्ने माग गर्न थालेका छन् भने एमाओवादी र मधेसी मोर्चाका सभासदले नेम्वाङको समर्थनमा बोल्न थालेका छन् ।

यहि सन्दर्भमा नेम्वाङले आफ्नो मुख खोल्दै नियमावलीबमोजिम अघि बढ्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment