Comments Add Comment

वैद्यले भने- मुस्लिम विद्रोहीबारे अध्ययन गर्न बाँकी छ

१४ पुस, काठमाडौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले इस्लामिक विद्रोही संगठन आईएसआईबारे अध्ययन गर्न बाँकी रहेको बताएका छन् ।

नेकपा-माओवादीको राजधानीमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा कार्यकर्ताहरुको प्रश्नको जवाफ दिने क्रममा वैद्यले भने-आईएसआईबारे अध्ययन गर्न बाँकी छ, अलि अध्ययन गरेर लेखौंला ।’

Mohan baidhya kiran

  • फाइल फोटो

नेताहरुको सम्पत्ति सार्वजनिक गरिने

नेकपा-माओवादीका केन्द्रीय नेताहरुको सम्पत्ति सार्वजनिक गरिने वैद्यले बताए । ‘नेताहरुको सम्पत्ति बाहिर सार्वजनिक गर्ने होइन, पार्टीभित्र सार्वजनिक गर्नु ठीक होला’, वैद्यले भने, ‘कांग्रेस एमालेले बाहिर सम्पत्ति सार्वजनिक गर्छन्, अनि सरकार गएपछि सम्पत्ति जोड्ने काम गर्छन्, हामीले त त्यसो गर्ने कुरा भएन नि ।’

आलोचना आत्मालोचनाको प्रयोग गर्न सकिएन

वैद्यले पार्टीभित्र आलोचना-आत्मालोचनाको पद्दतिको प्रयोग गर्न नसकिएको बताए । ‘पार्टीभित्र आलोचना/आत्मालोचनाको पद्दति आवश्यक रहेछ’, वैद्यले भने, ‘तर यसको प्रयोग गरिएन ।’

पम्फा, गुरुङ र बादलमा समस्या

नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’, सचिव देव गुरुङ र पार्टी पोलिटब्युरो सदस्य पम्फा भुसालमा समस्या रहेको माओवादी अध्यक्ष बैद्यले स्वीकारे ।

‘पम्फाजी, गुरुङ्जी र बादलजीमा पार्टीमा नभन्ने तर तल-तलसम्म लैजाने समस्या छ’, वैद्यले भने, ‘एकपटक पूर्वमा गएका बेला बादलजीका कारण मलाई पत्रकारसामु उत्तर दिनै गाह्रो भयो ।’

कर्मचारी संगठन समस्या

पार्टीको कर्मचारी संगठनमा भएको समस्यालाई पार्टीले चाहेर पनि हल गर्न नसकेको वैद्यले स्वीकारे । ‘अन्य संगठनहरुमा खासै समस्या छैन,’ वैद्यले भने, ‘कर्मचारी संगठनमा हामीले चाहेर पनि केही गर्न सकेनौं ।’ अव कडाइका साथ अनुशासन लागू गरिने वैद्यले प्रतिवद्धता जनाए ।

एमाओवादीसँगको एकतामा जोड

नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले पार्टी एकतामै जोड दिएका छन् । बादलले एमाओवादीसँग एकताका लागि खुट्टा उचालेको आरोप लगाउँदै विप्लवले पार्टी फुटाएपछि वैद्य माओवादीले गरेको राष्ट्रिय भेलामा बादलले एमाओवादीसहितका दलसँगको एकतामा नै जोड दिएको भेलामा सहभागी एक सदस्यले बताए ।

कार्यकर्ताहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उनले फुटलाई एकत्रित गर्नुपर्छ भन्ने कुरा गलत नभएको बताए । नेपालको कम्युनिष्ट आन्दोलनहरुमा मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनहरुमा पनि फुटपछि एकता भएका उदाहरणसमेत पेश गर्दै बादलले एकताको नीति अगाडि सार्नु नै सही हुने बताए ।

भेलामा सहभागी एक सदस्यका अनुसार विप्लवले कुनै पनि पार्टीसँग एकता गर्न नदिने प्रपञ्च रचेकोसमेत बादलको कथन थियो । फुटलाई एकता गर्न नदिने विप्लवको नीति रहेको भन्दै बादलले कम्युनिष्ट आन्दोलनलाई फेरि एक ढिक्का गर्नुपर्ने उल्लेख गरे । एमाओवादीसँगको एकताका लागि पार्टीले सारेको ६ बुँदे आधारबारे प्रष्ट्याउँदै बादलले ६ बुँदे नीतिमा पार्टी दृढ रहेको बताए ।

आफूहरुले क्रान्तिकारीहरुसँगको एकतामा जोड दिएको जिकिर गर्दै वादलले भर्खरै पार्टीबाट अलग्गिएर गएका विप्लवले दक्षिणपन्थीहरुसँग एकता अगाडि बढाएको आरोप लगाए ।

भेलाको उद्देश्य विप्लव प्रवृत्तिको चिरफार

नेकपा-माओवादीको राजधानीमा सोमवार सम्पन्न राष्ट्रिय भेलाको उद्देश्य नै विप्लव प्रवृत्तिको चिरफार भएको बादलले बताए । ‘भेलाको उद्देश्य विप्लव प्रवृत्तिको चिरफार र कार्यकर्ताहरुलाई सम्प्रेषण गर्ने उद्देश्य थियो, त्यो सफल भएको छ,’ बादलले भने, ‘नयाँ वैचारिक आधारमा पार्टीलाई एकता गर्ने भेलाको अर्को उद्देश्य हो ।’

भेलामा सहभागीहरुका अनुसार सशस्त्र संघर्षलाई वीरहरुको चमत्कारको रुपमा बुझ्ने विप्लव प्रवृति हो ।

भेलामा खाली रहेका केन्द्रीय सदस्यमा ‘ढोडिया’ थापिएको बताएपछि बादलले चर्को आलोचनाको सामना गर्नुपर्‍यो । कार्यकर्ताले चर्को विरोध जनाएपछि बादलले भेलामा माफी मागेका थिए ।

राजधानीमा शुक्रबारदेखि आयोजना भएको वैद्य माओवादीको राष्ट्रिय भेला सोमबार वैद्यले जवाफ दिएपछि सकिएको छ ।

यो पनि पढ्नुहोस् : विप्लवले छाडेपछि वैद्य माओवादीमा ६४ केन्द्रीय सदस्य पद रिक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment