गौतम श्रेष्ठ
१५ पुस, गौर । बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा रौतहटका ५५ वर्षीय भक्तबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रपुर नगरपालिका ४ पहरीटोलका राईले ७ देखि १० वर्ष उमेरका पाँच बालिकालाई करणी गरेको भन्दै स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका हुन् ।
जंगलमा दाउरा खोज्न गएका स्थानीय बालिकाहरुलाई रकमको लोभ देखाएर राईले विगत १० दिनदेखि बलात्कार गरेको स्थानीयको आरोप छ ।
बाबुविरुद्ध छोरीको उजुरी
पक्राउ परेका राईकी छोरी सुष्माले महिला अधिकारकर्मीसँग बुवालाई कारवाही गर्न माग गरेकी छिन् । बाबुको चरित्र खराब रहेकै कारण परिवारको विचल्ली भएको भन्दै उनले हदैसम्मको कारवाही गर्नु पर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरीका लागि आएका बालिकाहरुले सन्चारकर्मीहरुलाई राईले पटक पटक आफूहरुलाई बलात्कार र यौन हिंसा गरेको बताए ।
‘टिभी हेर्न गएको बेलामा पनि उसले हामीलाई नराम्रो गर्दथ्यो,’ पीडित एक बालिकाले भनिन्, ‘हामीलाई कहिले ३० रुपैयाँ, कहिले ५० रुपैयाँ दिन्थ्यो, अरु कसैलाई भने मार्ने धम्की पनि दिन्थ्यो ।’
राईले कहिलेकाहीँ चाउचाउ र चकलेटको प्रलोभन पनि दिने गरेको बालिकाहरुकोे भनाई छ ।
चन्द्रपुरकी स्थानिय गीता भारती र महिला सुरक्षा दबाब समूहको पहलमा बालिकाहरुलाई जबर्जस्ती गर्ने राईलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिम्मा लगाइएको हो ।
यौनहिंसाको सूचना पाएपछि उद्धारका लागि पुगेका महिला अधिकारकर्मीहरुले पनि बालिकाहरु माथि निकै ठूलो अन्याय भएको बताएका छन् । महिला सुरक्षा दबाब समूहकी अध्यक्ष देवकी नेपालले पीडकलाई कडा कारवाही गरिनु पर्ने बताइन् ।
महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा मंगलबार पीडित ५ बालिकाको स्वास्थ्य परिक्षण गरिएको र रिपोर्टले पनि उनीहरु करणीको शिकार भएको प्रष्ट भएको अध्यक्ष नेपालले बताइन् ।
पीडित बालिकाहरुलाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको छ । पीडकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक रुद्रकान्त झा बाहुनले बताएका छन् ।
प्रतिक्रिया 4