Comments Add Comment

केपी ओलीसँगै टाँस्सिएर बसे गच्छदार

Kp-Oli-and-bijay-kumar२५ पुस, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माफी नमागेसम्म एमाले नेताहरु सहभागी बैठकमा नजाने निर्णय गरेका मधेसी मोर्चाका नेताहरु अन्ततः आफ्नो अडानबाट एक कदम पछाडि हटेका छन् ।

सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा शुक्रबार आयोजित चारदलका शीर्ष नेताहरुको बैठकमा मधेसी मोर्चाका नेता विजयकुमार गच्छदार ओलीकै छेऊमा टाँसिएर बसेपछि मोर्चाको अडान तोडिएको हो ।

एमाओवादी नेता डा. बाबुराम भट्टराईको अध्यक्षतामा राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्नुअघि चारदलका शीर्ष नेताहरुको बैठक बसेको थियो । सो बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सभाध्यक्ष सुवासचन्द्र नेम्वाङको सहभागिता थियो ।

चार नेतापछि आयोजित अर्को छलफलमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि एमाले नेता सहभागी बैठकमा उपस्थित भएका थिए ।

दुई दिनअघि बालुवाटारमा आयोजित बैठकमा एमाले अध्यक्ष ओली र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोवीच भनाभन भएपछि मधेसी मोर्चाले विज्ञप्ति नै निकालेर ओलीले माफी नमागेसम्म एमाले सहभागी बैठकमा नजाने निर्णय सार्वजनिक गरेको थियो ।

एमाले अध्यक्ष ओलीले भने आफू ज्युँदो हुञ्जेल माफी नमाग्ने बताएका थिए ।

माफी नमागे चारदलको वार्तामा जाँदैनौं : उपेन्द्र

ओलीले माफी नमागी वार्तामा नजाने भनेका नेताहरु ओलीसँगै टाँसिएर बस्नुभएछ नि भन्ने प्रश्नमा मधेसी मोर्चाका नेता उपेन्द्र यादवले अनलाइनखबरसँग भने-‘भेट हुँदा बोलचालै नगर्ने भनेको होइन, सभामुखले बोलाएको छलफलमा र सम्वाद समितिमा सहभागी हुन्छौं, तर, चारदलवीच हुने राजनीतिक वार्तामा मात्रै नबस्ने भनिएको हो ।’

केपी ओलीले माफी नमाग्दासम्म चार दलको वार्तामा एमालेसँग नबस्ने अडान कायमै रहेको यादवले अनलाइनखबरलाई बताए ।

बैठकमा भनाभन हुनु सामान्य : एमाले सचिव

यसैवीच एमाले सचिव योगेश भट्टराईले बैठकमा भनाभन हुनु सामान्य कुरा भएको बताए ।

‘बैठकमा कसैले गाली गर्‍यो भन्दैमा नजाने हो भने ओलीजी नै नजानु पर्ने हो,’ अनलाइनखबरसँगको कुराकानीमा भट्टराईले भने- ‘बैठकमा ओली कामरेडलाई संघीयताविरोधी, भडुँवा, शान्तिप्रक्रिया विरोधी, इत्यादि आरोप लगाउने गरिएको छ, तैपनि उहाँले प्रतिक्रिया जनाउनुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment