Comments Add Comment

एकै रातमा शीर्ष नेतालाई कसले मिलायो ?

अरूण बराल

५ माघ, काठमाडौं । वर्षभरि संविधानका अन्तरवस्तुमा झगडा गरेका नेताहरु आइतबारदेखि चमत्कारिक ढंगले सहमतिको नजिक आएका छन् । एकै रातमा कसले ल्यायो शीर्षनेतालाई सहमतिमा ? यसमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भूमिका मुख्य देखिएको छ ।

यस्तो छ भित्री कथा

सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुई साता पहिले नै संविधानको मस्यौदा लेख्न आफूलाई दिनुपर्ने माग गरेका थिए । तर, यसमा एमाओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई सबैभन्दा बढी सशंकित भए । नेम्वाङले केपी ओलीसँग मिलेर माघ ८ मा सफ्ट कु गर्न लागेको प्रचण्ड-बाबुरामले आशंका गरे । त्यसपछि एमाओवादी मोर्चाले आन्दाेलन सशक्त बनाउने र संविधानसभाभित्रै प्रतिकारमा उत्रने घोषणा गर्‍यो ।

Subash Nembang 1

एमाओवादीले एउटा रहस्य के थाहा पाएन भने सभाध्यक्ष नेम्वाङले मस्यौदा आफूले लेख्ने प्रस्ताव राख्दा एमाले अध्यक्ष केपी ओली झापामा थिए । एमालेका कानूनविद नेता अग्नि खरेल पनि झापामा थिए । नेम्वाङले ओली र खरेल कसैलाई पनि यसबारे जानकारी दिएका थिएनन् । तर, एमाओवादीले नेम्वाङको मनशाय बुझेन र ओलीसँग मिलेर सभाध्यक्ष अघि बढ्न खोजेको आरोप लगायो ।

नेम्वाङ निकट स्रोतहरुका अनुसार उनले एमाले कांग्रेसले भनेजस्तै प्रस्ताव अघि सार्न चाहेका थिएनन् । उनी ०६९ जेठ २ को सहमतिमा टेकेर एमाओवादी जनजातिलाई समेत मान्य हुने मस्यौदा लेख्न चाहन्थे । यसो गर्दा नेम्वाङ र ओलीवीच अन्तरविरोध बढ्थ्यो र नेम्वाङको पदसमेत एमालेले धरापमा पारिदिन सक्थ्यो । यही भएर सभाध्यक्ष नेम्वाङले ‘म कालकूट विष पिउन तयार छु’ भनेका थिए ।

एमाओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराईले नेम्वाङलाई केपी ओलीकै कित्तामा राखेर आलोचना गरिरहेका बेला शनिबार एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सभाध्यक्ष सुवास नेम्वाङवीच छुट्टै भेटवार्ता भयो ।

नेम्वाङले पनि आफू कांग्रेस र एमालेको मात्रै नभई सबै दलको साझा सभाध्यक्ष भएको बताए । श्रेष्ठले पनि पार्टीभित्र सहमतिको ठोस पहल गर्ने सभाध्यक्षलाई बताए । त्यसपछि दुबै नेताले सहमतिको विन्दु के हुन सक्छ भन्ने योजनासमेत बनाए ।

सभाध्यक्ष र एमाओवादी उपाध्यक्ष श्रेष्ठवीच छलफल हुनुभन्दा अघिल्लो दिन त्रिपुरेश्वरमा प्रचण्ड मोर्चाको बैठक बसेको थियो । सो बैठकमा प्रचण्डले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बोलाएका थिएनन् । तर, प्रचण्डले नबोलाई नारायणकाजी त्यहाँ पुगे । त्यहाँ श्रेष्ठले नेपालबन्द घोषणा गर्ने मोर्चाको कार्यक्रमको आलोचना गरे । आन्दोलनको साटो मिल्न सक्ने एजेन्डामा सहमतिमा गएर उपलब्धिको रक्षा गर्नुपर्ने श्रेष्ठले त्यहाँ बताए ।

Naryan kaji Shrestha

आफ्नो पार्टीले लिएको मुठभेडको नीतिप्रति असहमति राख्दै उपाध्यक्ष श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठक तत्काल बोलाउन प्रचण्डसँग माग गरे ।

उपाध्यक्ष श्रेष्ठको जोडबलकै कारण आइतबार बिहान एमाओवादीको विवाद व्यवस्थापन समितिको बैठक बस्यो । समितिमा उपाध्यक्ष श्रेष्ठले सभाध्यक्ष नेम्वाङसँग भएको छलफलमा केन्द्रित हुँदै सहमतिको प्रस्ताव राखे । श्रेष्ठको प्रस्तावमा टोपबहादुर रायमाझीले उत्साही हुँदै तत्कालै सहमति जनाए । त्यसपछि महासचिव कृष्णबहादुर महरा, डा. बाबुराम भट्टराई र प्रचण्डसमेत सहमत भए ।

एमाओवादी उपाध्यक्ष श्रेष्ठको प्रस्तावलाई आधार बनाएर अघि बढ्ने निर्णय अनुसार १९ दलीय मोर्चाको बैठक बस्यो र सहमतिको प्रस्ताव पारित भयो ।

अर्कोतर्फ सभाध्यक्ष नेम्वाङले सत्तापक्षका नेताहरुसँग पनि घनिभूत छलफल चलाए । आइतबार चारपक्षीय र बहुपक्षीय छलफल भए, जसले गर्दा सहमतिको वातावरण बन्यो । र, यही सहमतिलाई आज दलहरुले अन्तिम रुप दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment