Comments Add Comment

एमाले अध्यक्ष केपी ओलीमाथि संविधानसभामै आक्रमण

protest on ca (7)

६ माघ, काठमाडौं । एमाओवादी सभासदहरुले संविधानसभाभित्र तोडफोड र हुलहुज्जत गर्ने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि समेत आक्रमण भएको छ ।

सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरे । केहीबेरको नाराबाजीपछि सभाध्यक्षले बैठक स्थगित गरेपछि माओवादी सभासदहरु तोडफोडमा उत्रिए ।

त्यसक्रममा आफूमाथि आक्रमण भएको एमाले अध्यक्ष ओलीले बताएका छन् । ‘मलाई नै ताकेर हान्ने काम भएको छ । मलाई माइकले छातीमा हान्ने काम भयो’ सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने-‘यस्ता घटनाबाट म डराउँदिँन ।’

आक्रमण गर्नेलाई चिन्नुहुन्छ ? भन्ने प्रश्नमा ओलीले भने- ‘चिन्ने कष्ट गर्नु पर्दैन ।’

प्रतिवाद गर्नै पर्दैन

अब कसरी प्रतिवाद गर्नुहुन्छ भन्ने प्रश्नमा ओलीले जसले जुन बाटो लिन्छ, त्यसको परिणाम उसले पाउँछ भन्दै त्यस्ताको प्रतिवाद गर्नु नपर्ने बताए ।’

माओवादीले संविधानसभामा तोडफोड गरेर असली रुप देखाएको ओलीले टिप्पणी गरे । उनले भने-‘बैठक स्थगित भएपछि फर्निचर तोडफोड, माइक भाँचभुाच भो । थकाइ लागुन्जेल माओवादीले आफ्नो असली रुप देखाए ।’

ओलीले संविधान बनाउने ठाउँमा कस्ता मानिस आएका रहेका छन् भन्ने प्रष्ट भएको भन्दै उनले बाँदरे घुर्की देखाउने र झट्टी हान्ने काम भएको बताए ।

उनीहरुलाई सम्झाउने प्रयास गर्ने भन्दै उनीहरुले सम्झौता भने नगर्ने बताए । एमाले अध्यक्ष ओलीले भने-‘उग्रपन्थीहरुलाई १२ बुँदे सम्झौता गर्दै यहाँसम्म ल्याइएको छ, अझै सम्झाउने बुझाउने काम जारी रहन्छ ।’

ओलीलाई आक्रमण भएपछि छेक्ने क्रममा एमाले मोरङ १ का सभासद ऋषिकेश पोखरेललाई पनि लागेको छ । घटनापछि पोखरेलले भने-‘ओलीलाई आक्रमण गर्न आएको देखेपछि मैले रोकेँ । उसलाई मलाई कम्बरमा हान्यो र माइकको झटारो विद्या भण्डारीलाई लाग्यो ।’

बैठकपछि एमाले उपाध्यक्ष भण्डारीले सम्वाद समितिका सभापति समेत रहेका माओवादी नेता डा. बाबुराम भट्टराईकै निर्देशनमा छानेर आक्रमण भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment