Comments Add Comment

नेपालमा दिपावली भएन, दिल्लीमा रात्रीभोज

९ माघ, काठमाडौं । गृहमन्त्री वामदेव गौतमले नेपाली जनतालाई माघ ८ गते दिपावलीका लागि तयार भएर बस्न आग्रह गरेका थिए । तर, दिपावली गर्ने भनिएको माघ ८ मा संविधानसभामा जात्रा देखियो, नेपाली जनता निराश बने ।

यद्यपि माघ ८ को साँझ नेपालमा दिपावली नमनाइए पनि भारतको नयाँदिल्लीस्थित नेपाली दुतावासमा भने कर्मचारीहरुले माओवादी नेतासँग मिलेर रात्रीभोज आयोजना गरेको सन्देश काठमाडौंसम्म आइपुगेको छ ।

माघ ८ मा गृहमन्त्री गौतमले भनेजस्तो दिपावली गर्न नपाएर जनता चिन्तित भइरहँदा दिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोज आयोजना गरिको भन्दै कांग्रेस र एमालेनिकट प्रवासी नेताहरुले कार्यवाहक राजदूत कृष्ण ढकालको आलोचना गरेका छन् ।

नियमित भेटघाट भन्दै आयोजना गरिएको कार्यक्रममा दूतावासका कर्मचारी, एवं माओवादीका भारत प्रवासका नेता लक्ष्मण पन्तलगायत सहभागी भएपछि कांग्रेस र एमालेका नेताहरु रिसाएका हुन् ।

नेपाली काँग्रेसनिकट नेवि संघका केन्द्रीय सदस्य सन्दीप रानाले दिल्लीबाटै घटनाको भ्रतर्सना गर्दै दूतावासले संविधान बन्न नसकेको खुशी मनाएको जस्तो सन्देश गएको प्रतिक्रिया दिए ।

कांग्रेस र एमालेका कार्यकर्ताले नेपाली दूतावासमा माघ ८ मा माओवादीसँग मिलेर रात्रीभोज कार्यक्रम आयोजना गरिएको भन्दै प्रधानमन्त्री कार्यालयदेखि परराष्ट्र मन्त्रालयसम्म कर्मचारीको विरोधमा कुरा लगाएका छन् ।

यसबारे दूतावासले भने कार्यक्रम नियमित भेटघाट अन्तरगत आयोजना गरिएको र माघ ८ मै पर्नु संयोग मात्रै भएको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment