Comments Add Comment

लोकतान्त्रिक विधिबाट संविधान जारी गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Sushil koirala

९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा नयाँ संविधान जारी गर्ने प्रतिवद्धता विपक्षी दलहरुको अवरोधका कारण पूरा हुन नसकेको आरोप लगाएका छन् ।

संविधान राजनीतिक दस्तावेज भएकोले पछि संशोधन गर्न सकिने भन्दै उनले आफ्ना असहमति राखेर भए पनि नयाँ संविधान जनतालाई दिनुपर्ने बताए ।

टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले एक वर्षभित्रै नयाँ संविधान ल्याउने प्रतिवद्धता दलहरुले गरे पनि संविधानसभामा उत्तेजनात्मक गतिविधि र तोडफोड गरिएकाले पूरा नभएको बताए ।

आफ्नो सम्बोधनको प्रारम्भमै एमाओवादीको भूमिकाको कडा आलोचना गरेका प्रधानमन्त्री कोइरालाले भने, ‘दुःखका साथ मैले भन्नु परेको छ की माघ ८ मा संविधानसभा उत्तेजनतात्मक गतिवधि र तोडफोडको प्रदर्शनीस्थल बन्न पुग्यो, केही राजनीतिक दलले लोकतान्त्रिक विधिको वेवास्ता गरेकोले देश संकटमा पर्न गएको छ ।’

उनले एमाओवादी लगायतका विपक्षी दल छलफलमा आउनुको साटो संविधानसभाबाट संविधान जारी हुन सक्दैन भन्ने राजनीतिक दलहरुसँग मिलेर आन्दोलमा लागेकोमा दुःख व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, ‘मिलेर हासिल गरेका उपलब्धिलाई मिलेर नै संस्थागत गरौं भन्ने  हाम्रो भावनालाई कतिपय सहयात्री दलका नेताहरुले कमजोरीको रुपमा उपयोग गर्न खोज्नु भएको छ । जसका कारण संविधान निर्माणको कार्य अनिर्णय र अन्यौलको बन्दी हुन पुगेको छ । अब यस परिस्थितिको अन्त्य हुनु पर्दछ ।’

देश संवेदनशील मोडमा

संविधान निर्माण गर्ने प्रयत्नमा संवेदनशील मोडमा उभिएको भन्दै उनले लोकतान्त्रिक विधि प्रक्रियाबाट जतिसक्दो छिटो संविधान जारी गर्ने प्रतिबद्धता जनाए । यसका लागि सरकारले समस्त देशबासी र प्रवासी नेपालीको व्यापक समर्थन पाउने अपेक्षा समेत गरे । ‘संविधान निर्माण गर्ने प्रयत्नमा हामी आज एउटा संवेदनशील मोडमा उभिएका छौं । म दृढतापूर्वक देश र जनतालाई आश्वस्त गराउन चाहन्छु, शान्तिपूर्ण छलफल र लोकतान्त्रिक विधिको अबलम्बन गर्दै हामी देशमा चाडै नै संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नेछौ ।’

उनले मुलुकले आर्थिक रुपमा धान्न सक्ने, राष्ट्रिय एकतालाई मजबूत बनाउने, सामाजिक सदभाव र सहिष्णुता कायम हुने लोकतान्त्रिक संविधान तथा संघीय प्रदेशहरुको निर्माण गर्नुपर्ने अडान दोहोर्‍याएका थिए ।

मेलमिलापमा जोड

दलहरुबीच सहमति र सहकार्यको सम्भावना भने अझै नसकिएको भन्दै प्रधानमन्त्री कोइरालाले एकता र मेलमिलापको भावनाले सुन्दर शान्त नेपाल निर्माणका लागि आह्वान गरे । ‘मेरो सबै राजनीतिक दलहरुसंग विनम्र अनुरोध छ, राष्ट्रिय एकता र मेलमिलापको उदात्त भावनाले लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान निर्माण गरौं । सुन्दर शान्त नेपालमा द्रुत विकासको थालनी गरौं,’ प्रधानमन्त्रीले विपक्षी दलहरुसँग आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment