Comments Add Comment

सभासद भन्छन्-हाननीय भनेपछि लोगो लुकाउनुपर्‍यो

११ माघ, काठमाडौं । माघ ५ गते मध्यरातमा संविधानसभामा भएको तोडफोड र आक्रमणपछि जनताले आफूहरुलाई हाननीय भन्दै व्यंग्य गर्न थालेको गुनासो सभासदले गरेका छन् ।

गणेश उज्जन स्मृति प्रतिष्ठानको साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै एमाले सभासद यज्ञराज सुनुवारले मध्यरातको तोडफोड काण्डपछि सभासदको लोगो लगाएर हिँड्न पनि लाज भएको बताए । ‘सार्वजनिक ठाउँमा सभासद भन्ने थाहा पाए भने हाननीयज्यू भन्दै व्यंग्य गर्छन्’ सुनुवारले भने ‘ताननीय र हाननीय भन्ने व्यंग्य सहनु र संविधान दिन नसकेकोमा लज्जित हुनुपर्दा लोगो लगाएर हिँड्नै छाडियो’ । 

एमाले केन्द्रीय सदस्यसमेत रहेका सुनुवारले एमाओवादी र मधेसी मोर्चाका सभासदहरुका कारण सार्वजनिक रुपमा सभासद पदको खिल्ली उडेको बताए ।

सोही कार्यक्रममा कांग्रेस सभासद रामहरी खतिवडाले संविधान बन्न नदिन तोडफोड र आक्रमणमा उत्रिएको एमाओवादीका सभासदहरु खुर्सानीको धूलो समेत बोकेर संविधानसभामा प्रवेश गरेको आरोप लगाए । उनले भने-खुर्सानीको धूलो होइन बम बोकेर आए पनि अब संविधानसभाबाट संविधान जारी गर्न हामी कुनै कसर बाँकी राख्दैनौं ।

द्वन्द्वकालमा विद्रोही माओवादीबाट मारिएका ओखलढुंगा पोकलीका गणेशकुमार श्रेष्ठ र उज्जनकुमार श्रेष्ठ दाजुभाइको स्मृतिमा परिवारले प्रतिष्ठान गठन गरेर सामाजिक काम गर्दै आएका छन् ।

हालसम्म गणेश उज्जन स्मृति प्रतिष्ठानको तर्फबाट करीब एक दर्जना गाउँमा विद्यालय भवन, पुस्तकालय र रामेछाप तथा ओखलढुंगाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठले जानकारी दिइन् ।

साधारणसभाले सावित्री श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा उज्जनकुमार श्रेष्ठ, महासचिव सुरेन्द्र बोगटी र सचिवमा प्रकाश राई चयन भएका छन् ।

प्रतिष्ष्ठानको सल्लाहकारमा ओखलढुंगा क्षेत्र नम्बर १ का सभासद यज्ञराज सुनुवार, क्षेत्र नम्बर २ का सभासद रामहरी खतिवडा, रामेछापका पूर्वसांसद देवशंकर पौडेल, रामेछापकै कृष्ण महतलगायत चयन भएको प्रतिष्ठानका गणेशमान लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment