Comments Add Comment

फेसबुकबाट भेटिए हराएका बालक

१४ माघ, इलाम । गत पुस १३ गते ईलामको जितपुर उच्चमावि कक्षा ६ मा अध्ययनरत बालक सन्तोष मगर विद्यालयबाट घर फर्केनन् । साँझसम्म घरमा बालकको पर्खाइ भयो । रात अवेरसम्म पनि घर नफर्किएपछि आमा मनमायाको व्यग्रता बढ्दै गयो । उनले आफ्ना अर्का छोरा गौजबहादुर र पति ख्यामबहादुरलाई गाउँमा बालकको खोजीको लागि पठाइन् । स्थानीय एफएम रेडियोबाट बालक हराएको सूचना बजाईयो । तर अँह, बालक कतै फेला परेनन् । आफन्त, छिमेकी, साथिभाई कसैको घरमा सन्तोष फेला नपरेपछि परिवारमा रुवाबासी चल्यो ।

Santosh
सन्तोष मगर

स्थानीय एक पसलेले बालक विद्यालयको पोशाक परिवर्तन गरी एनसेलको ५० रुपैयाँको रिचार्ज कार्ड र १० वटा चुरोट किनेर इलामतर्फ गएको जानकारी अभिभावकलाई दिए । त्यसपछि प्रहरीको समेत सहयोगमा बालकको खोजी इलाम, झापा र नेपाल-भारत सीमा क्षेत्रमा केन्द्रित भयो । परिवारजनमा बालक फेला पर्छकी भन्ने आशा त थियो तर भरोसा कम थियो । तर खोजि रोकिएको थिएन ।

एक्कासी जितपुरकै स्थानीय समाजसेवी गोविन्द गिरीले माघ १० गते बालकको तस्विर फेसबुकमा देखेको जानकारी परिवारजनलाई दिए । उता इलाम ग्रीन फेसबुक पेजमा छापिएको सामाग्री पढेर बैदेशिक रोजगारमा रहेका एक स्थानीय आफन्तले परिवारजनलाई बालकको अवस्था अवगत गराए । २८ दिनपछि परिवारमा खुसियाली छायो । बालक भारतमा सकुशल भेटिए ।

बालक सिलिगुढीमा फेला परेकोबारे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराइयो । प्रनाउ अनुपम समशेर राणाको सल्लाह र इलाम ग्रीन नामक संस्थाको सहयोगमा परिवारका सदस्य बालक उपचाररत सिलिगुढी बागडुग्रास्थित गयागंगा टि स्टेटमा रहेको नवजीवन सामुदायीक अस्पतालमा पुगे । साँझमा अस्पताल पुगेका दाजु गौजबहादुरले भाइ सन्तोषलाई भेटे । उनको खुसीको सीमा रहेन । आमा बुवा, साथीसंगी र इष्टमित्रलाई तत्काल फोन गरेर भाइलाई भेटेको उनले जानकारी गराए ।

भारतको अस्पतालमा बालकलाई रेखदेख गर्दै आएकी गंगा राईनी र गयागंगा चिया कमानका मजदुरहरुले बालकको उपचारमा सहयोग गरिरहेको गौजले जानकारी दिए । केहिदिनको उपचारपछि उनीहरु इलाम र्फकने तयारीमा छन् ।

यसरी आयो फेसबुकमा समाचार

आई लभ सिलिगुढी नामको फेसबुक पेजले सिलिगुढी बागडुग्रामा रहेको गयागंगा टि स्टेटमा रहेको नवजीवन सामुदायीक अस्पतालमा उनको उपचार भइरहेको सार्वजनिक गरेको थियो । सो सूचनालाई द दार्जीलिङ क्रोनिकल नामको फेसबुक पेजले साभार गर्‍यो । आफ्ना एक फेसबुके इलामे मित्र आशा फागोलाई जानकारी दियो । फागोले इलामग्रीन फेसबुक पेजका एडमिन सुदिप श्रेष्ठलाई जानकारी दिइन् । श्रेष्ठले ढिलाई नगरी फेसबुक पेज मार्फत बालकको समाचारलाई सार्बजनिक गरे । केहि घण्टामै समाचारलाई एक सय बढीले शेयर गरे । अनि शेयर भएको समाचार केहि क्षणमै बालकको परिवारसम्म पुग्यो ।

सूचना पाएपछि श्रेष्ठले इलामका प्रहरी नायव उपरीक्षक अनुपम शम्सेर राणासँग कुरा गरेर परिवारको खोजीमा लागेका थिए । उनले बालक उपचाररत अस्पतालमा सम्पर्क गरी बालकको अवस्था फेसबुक पेजमा अपडेट गरिरहे ।

उता गयागंगा चिया कमानमा कार्यरत मजदुरहरुले बालकको उपचारको लागि रकम संकलन गरे । त्यसको नेतृत्व कमानका एक मजदुर गंगा राइनीले गरिन् । उनकाअनुसार मारुती भ्यानले किचेर घाइते अवस्थामा बालक भेटिएका थिए । उनको हात र खुट्टामा गहिरो चोट लागेको थियो । स्थानीयले अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए ।

कसरी पुगे बालक सिलिगुडी ?

बालकलाई जितपुरबाट इलाम र इलामबाट विर्तामोड पुयाइएको थियो । त्यहाँबाट काकरभिट्टा हुँदै सिलिगुडी आइपुगेको बालकले बताएका छन् । तर कसले जितपुरबाट विर्तामोड पुर्‍यायो, त्यहाँबाट बागडुग्रासम्म पुर्‍याउने अर्कै व्यक्ति को थिए भन्ने हालसम्म खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा बालक अपहरित भएको हुनसक्ने प्रहरीको आशंका छ । बालकको उपचारबाट फर्किएपछि बालक हराएको कारण पत्ता लाग्ने प्रहरी नायव उपरीक्षक अनुपम समशेर राणाले बताए ।

सुदीप श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment