Comments Add Comment

सभामुखलाई गम्छाले बाँध्न खोज्ने को थिए ?

१५ माघ, काठमाडौं । माघ ५ गते मध्यरातमा संविधानसभा भवनमा तोडफोड गर्ने र संविधानसभा अध्यक्ष तथा केही सभासदमाथि आक्रमणमा उत्रिने सभासदहरुको पहिचान भएको सचिवालयले जनाएको छ ।

mao ca member try to atack ca chairman  (4)

संविधानसभा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा गठित ५ सदस्यीय छानविन समितिले घटना अवधिको भिडियो, फोटो र अन्य प्रमाणहरुका आधारमा ती सभासदको पहिचान गरेको हो ।

सचिवालयले आफ्नै भिडियो र विभिन्न फोटो पत्रकारहरुले खिचेका तस्वीरसमेत संकलन गरेर बलियो प्रमाणका आधारमा तोडफोड र आक्रमणकारी सभासदको पहिचान गरेको एक कर्मचारीले बताए ।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने छानविनको अन्तिम टुंगो लागि नसकेको र सभाध्यक्षको निर्देशन बमोजिम प्रमाण जुटाएर छानविन भइरहेको जानकारी दिए ।

गम्छावाला को थिए ?

स्रोतका अनुसार हातमा गम्छा बोकेर सभाध्यक्ष नेम्वाङको आसनतर्फ दौडिएका सभासद अशोक मण्डल रहेको पुष्टि भएको छ । ‘उनको उद्देश्य सभामुखलाई त्यो गम्छाले बेरेर कुर्सीबाट खँदार्ने देखियो’ स्रोत भन्छ ।

मण्डल संविधानसभा बैठक शुरु हुन नपाउँदै जुत्ता खोलेर रोष्टममाथि चढी सिधै हातमा गम्छा बोकेर सभाध्यक्षतर्फ हान्निएका थिए । मर्यादापालकले अन्तिम स्टेपमा नरोकको भए उनले जे पनि गर्न सक्ने छानविन समितिको निश्कर्ष छ ।
सभाध्यक्ष नेम्वाङले भने एमाओवादी शीर्ष नेताहरुसँगको भेटमा ती सभासदले आफूलाई खादा लगाउनका लागि गम्छा बोकेर आएको भन्दै व्यंग्य गरेका थिए ।

को-को दोषी ?

प्राप्त फुटेज र फोटोका आधारमा केही सभासदलाई अनुशासनको कारवाही गर्नुपर्ने निष्कर्ष समेत समितिले निकालेको स्रोतले जनाएको छ ।

सभासदहरु अशोक मण्डल, उमेशकुमार यादव, धनजीत सिरपाइली, अमनलाल मोदी, जनार्दन शर्मा, दयाशंकर नायकलगायतले मर्यादा विपरीत काम गरेको पाइएको एक सदस्यले बताए ।

कुर्सी तोडफोड, एमाले अध्यक्ष केपी ओली लगायतका सभासदमाथिको आक्रमणलगायतका घटनाको भिडियो प्ले गरेर हेरिएको स्रोतले जनाएको छ ।

कुर्सी धेरै तोडफोड गर्नेमा एमाओवादीका उमेश यादव, अशोक मण्डल र दलजित सिरपाइली देखिएका छन् । ओलीलाई माइक प्रहार गर्ने पनि अशोक मण्डल रहेको स्रोतले जनाएको छ ।

संवेदनशील अंग समातिएको थिएन

केही महिला सभासदले आफैं अमर्यादित काम गरेर मर्यादापालकले दुव्र्यवहार गरेको आरोप लगाएको समेत पाइएको छानविन समितिका एक सदस्यले बताए । ‘जसको संवेदनशील अंग समातियो भनेको थियो, उनै माननीय ज्यू, पुरुष मर्यादापालकलाई झम्टिँदै लुगा तान्दै गरेको दृश्य भेटियो’ ती सदस्यले भने ।

संविधानसभामा भएको तोडफोड, आक्रमण र रोष्टम घेराउको पहिलो दिन सबैभन्दा राम्रो भूमिका मर्यादापालकले निर्वाह गरेको र कर्तव्य पालनाका क्रममा उनीहरु घाइते भएको पाइएको छ ।

के कारवाही होला ?

छानविन समितिले एक दुई दिनभित्रै सभाध्यक्षलाई प्रतिवेदन बुझाउने प्रवक्ता शर्माले बताए । ‘क्षतिको विवरण र तोडफोड तथा आक्रमणको सबै विवरण सभाध्यक्षलाई बुझाइन्छ’ शर्माले भने ‘दोषी देखिएको माननीयज्यूहरुको नाम पनि दिन्छौं’ ।

सभाध्यक्ष नेम्वाङले पूर्ण रिपोर्ट आइसकेपछि त्यसको अध्ययन गरेर आवश्यक कारवाही गर्ने बताएका छन् । ‘पर्याप्त प्रमाणहरुका आधारमा जे गर्नुपर्ने हो त्यो गरिन्छ’ उनले भने ।

स्रोतका अनुसार नेम्वाङ संविधानसभामा आइन्दा यस्ता अराजक घटना नहुन् भनेर दोषी सभासदलाई एक दिनका लागि भने पनि निलम्बन गर्ने पक्षमा छन् ।

निलम्बन गर्नुअघि सम्बन्धित दललाई जानकारी गराउने र पर्याप्त प्रमाण पनि देखाउन फोटो तथा फुटेजहरु संकलन गरिएको छ । ‘किन कारवाही भयो भन्ने जवाफ फोटोलेनै दिनेछ’ स्रोतले भन्यो ।

संविधानसभाको संशोधित नियमावली अनुसार संविधासनभाभित्र भएको तोडफोडको क्षति सम्बन्धित सभासदबाट असूल उपर गर्न सकिने सचिवलाय स्रोतले जनाएको छ ।

एमाओवादी भन्छ- कारण हेर्नुपर्छ, परिणाम होइन

संविधानसभामा भएको उक्त घटनाको जिम्मेवारी सभाध्यक्ष, प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीले लिनुपर्ने एमाओवादी सभासद हरिबोल गजुरेलले अनलाइनखबरलाई बताए ।

‘यस्तो परिस्थिति कसले सिर्जना गर्‍यो ? वातावरण कसले बनायो ?’ गजुरेलले भने-‘ घटनाको कारण पत्ता लगाउनुपर्‍यो नि त । सहमतिमा जानुपर्ने चीनकाजी बलपूर्वक रोष्ट्रममा जान खोजेपछि घटना भएको हो ।’

संविधानसभाको उक्त घटना आक्रोशको अभिव्यक्ति भएको र। पहिले पनि यस्ता घटना भएका गजुरेलले बताए । ‘एमालेका गोल्चे सार्कीले रामचन्द्रलाई हिर्काएका थिए,’ गजुरेलले भने-‘ हाम्रा सभासदले पनि चाहेको भए जुत्ताले हिर्काउन सक्थे, तर त्यसो गरेनन् र संयम अपनाए ।’

बाबुराम भट्टराईले बोलिसकेपछि संविधानसभा स्थगित गरेको भए यस्तो घटना नहुने भन्दै यसमा कसैलाई कारवाही गर्नतिर लाग्नुभन्दा कारण खोतल्नेतिर लाग्नुपर्ने गजुरेलको तर्क छ ।

उक्त घटना दुखद भएको भन्दै एमाओवादी कोषाध्यक्ष समेत रहेका गजुरेलले अनलाइनखबरसँग भने-‘ सहमति गरौं भन्दा नमानी सत्तापक्षले जबरजस्ती पेल्न खोज्दा आक्रोशमा यस्तो दुखद घटना भएको हो, यसमा कसैलाई कारबाही गर्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment