Comments Add Comment

नगरपालिका भवन विवादले प्यूठान सदरमुकाम बन्द

१५ माघ, प्यूठान । हालै घोषणा भएको प्यूठान नगरपालिकाको कार्यालयको स्थान विवादले विहिवार सदरमुकाम खलंगा बजार बन्द भएको छ । बुधवारको सर्वदलीय बैठकले नगरपालिका भवन भिमरुक फाँट विजुवारमा बनाउने निर्णय गरेलगत्तै खलंगाका स्थानीयले सांकेतिक विरोधमा बजार बन्द गराएका हुन् ।
Pyuthan-Banda
नगरपालिका घोषणामै यसको केन्द्र खलंगा रहने तोकिएकाले नीति विपरित सार्न लागिएकोले विरोधमा उत्रनु परेको खलंगाका स्थानीय तथा नगर विकास समितिका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । फाँट जोगाउने जिल्लागत नीतिलाई दलहरुले नै उलंघन गरेको र छनौट समितिले प्राथमिकतामा राखेको स्थानलाई ध्यान नदिई झिमरुक फाँटमा भवन निर्माण गर्ने निर्णय आफूहरुलाई मान्य नहुने उनले बताए ।
निर्णय फिर्ताको माग गर्दै स्थानीयले नगरपालिकाको कार्यालय र प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नगरपालिका भवन कहाँ बनाउने भन्ने विषयमा लामो समयदेखि प्रक्रिया थालिएको हो । नगरपालिकाले भवन निर्माणका लागि कम्तिमा ६ रोपनी निःशुल्क जग्गा आह्वान गरेकोमा विभिन्न १३ ठाउँमा जग्गा दिनका लागि निवेदन समेत परेको थियो ।

जग्गा छनौटका लागि गठन भएको एक प्राविधिक समितिले शेरबहादुर गुरुङ लगायतको खलंगा सैनिक व्यारेक नजिक, रणबहादुर शाह लगायतको खलंगा भञ्ज्याङ नजिक, हरीबहादुर सेजुवाल लगायतको खलंगा थापाडाडाँ र नरबहादुर कार्की लागायतको बिजुवार खेलकुद मैदान नजिकको जग्गा प्राविधिक अध्ययन समितिले छानेर नगरपालिका कार्यालयमा पेश गरेको थियो ।

स्थानको टुंगो लागेपछि डिजाइन स्टिमेत तयार भई निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारीमा रहेको कार्यकारी अधिकृत नेवबहादुर वलीले बताए । यस वर्ष भवन निर्माणका लागि एक करोड बजेट प्राप्त भएको समेत उनले जानकारी दिएका छन् ।

सात गाविस समेटेर घोषणा गरिएको नगरपालिकाको पायक पर्ने ठाउँ छनौट गरिएको नेकपा मालेका नेता तिलविक्रम के.सी.ले बताए ।

उक्त निर्णयका लागि जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, एनेकपा माओवादी लगायत सम्पूर्ण दलहरुले सहमति गरे पनि राष्ट्रिय जनमोर्चाले भने असन्तुष्टि जनाएको थियो ।

घोषणादेखि नै विवाद

जिल्ला सदरमुकाम खलंगा र विजुवार गाविसलाई समेटेर नगरपालिका घोषणा भएकोमा स्थानीयको विरोधकै कारण झिमरुक उपत्यकामा रहेका सात वटा गाविसलाई समेटेर प्यूठान नगरपालिका घोषणा भएको थियो । वर्षौं पहिले जिल्ला सदरमुकाम खलंगा की विजुवार बनाउने भन्ने विषयमा स्थानीय धु्रविकरण भएको घटना नगरपालिकाले पुनः बल्झाएको छ ।

दुई गाविस मिलाएर घोषणा भएको नगरपालिका विवादका कारण सात गाविसमा पुगे जस्तै भवन निर्माण गर्ने विवादले प्राप्त एक करोड रुपैंया फ्रिज हुने चिन्ता समेत बढाएको स्थानीय बताउँछन् ।

-विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment