Comments Add Comment

२००७ सालका क्रान्तियोद्धा सरकारबाट उपेक्षित

१६ माघ, भोजपुर । १०४ बर्षे जहाँनिया राणाशासन अन्त्यको लागि संघर्ष गर्ने तत्कालिन जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर रामप्रसाद राई उपेक्षामा परेका छन् ।

Ram_pd_raiसदरमुकाममा त्रिभुवन पार्क बनाएर तत्कालीन राजा त्रिभुवन, रामप्रसाद र नारदमुनी थुलुङको शालिक राखिए पनि संरक्षण हुन सकेको छैन । पार्कमा टाउकोविहीन त्रिभुवनको शालिकसंग रामप्रसाद र नारदमुनीको शालिक फोहोरले पुरिने अवस्थामा पुगेको छ ।

तत्कालिन विद्रोही नेकपा माओवादीले त्रिभुवनको शालिकको टाउको फुटाएर फालिदिएका थिए । शान्ति स्थापनाको ७ बर्ष पुगिसके पनि मर्मत गरिएको छैन ।

त्यसमाथि जिल्ला विकास समितिको आवास भवन बनाउन पार्कको पर्खाल भत्काएर सिमेन्ट मुछ्ने काम गरिएको छ । निर्माण सामग्री समेत पार्कमै थुपारिएको छ । जिविसले झोलुङ्गे पुलका सामग्री समेत पार्कमै राखिदिँदा पार्क कुरुप बनेको छ ।

सहिद दिवस, प्रजातन्त्र दिवसको प्रसंग पारेर बडारकुँडार गरी अविरमाला लगाईदिएर औपचारिकता पूरा गर्ने बाहेक स्याहार सम्भार हुँदैन । त्यसपछि अर्को वर्षसम्म कसैले पार्कको संरक्षणमा ध्यान दिने गरेका छैनन् ।

सामाजिक असमानता, राणाशासनको अन्त्य, प्रजातन्त्रको स्थापना, सामन्ती परम्परा र अन्धविश्वास विरुद्ध आफ्नै सेना निर्माण गरी रामप्रसाद राईले २००७ सालमा भोजपुरबाट पहिलोपटक क्रान्ति सुरु गरेका थिए । राणाशासन अन्त्य हुनुमा रामप्रसादले थालेको संघर्षको पनि योगदान थियो ।

भोजपुरलाई ऐतिहासिक जिल्लाको रुपमा परिचित गराउने २००७ सालको क्रान्ति र क्रान्तिको थालनी गर्ने रामप्रसाद राईको महत्वपूर्ण भुमिका रहेको नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारी बताउँछन् । ‘राणशासन विरुद्ध संघर्ष गर्नु कुनै चानचुने कुरा थिएन,’ तिवारी भन्छन्, ‘आफ्नो जीबनको प्रवाह नगरी देश र जनताको लागि क्रान्ति सुरु गरेका राईको सरकारले सम्मान गरेन ।’

राणाविरोधी आन्दोलनका क्रममा रामप्रसाद राईले पहिलो पटक भोजपुरको प्रशासनीक अड्डा कब्जा गरेका थिए । त्यसपछि क्रमशः पूर्वका सबै जिल्लाहरु कब्जा भएका थिए । पूर्वी जिल्लाहरुको कब्जापछि सिंहदरवार कब्जा गर्ने क्रममा विपि कोइरालासंग उनको मतभेद भएको थियो । रामप्रसाद राईको कहाँ कसरी मृत्यु भयो भन्ने जानकारी नभएपनि रामप्रसाद राईलाई सबैले नेपालको प्रमुख प्रजातान्त्रिक सेनानीको रुपमा स्वीकार्दछन् ।

उमेश अधिकारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment