Comments Add Comment

सन्थाल समुदायमा सोहराय पर्वको रौनक

SAMSUNG CAMERA PICTURES

ध्रुव भट्टराई

१९ माघ, विराटनगर । अल्पसंख्यक सन्थाल समुदायमा परम्परागत सोहराय पर्वको रौनक सुरु भएको छ । सोमबारबाट शुरु भएको यो पर्व ६ दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।

पर्व अवधिभर ६  दिनसम्म नयाँ लुगा लगाउने चेलीबेटी माइती ल्याएर विभिन्न परिकार खाँदै र पूर्वजको सम्झनामा पूजाआजा गरेर मनाउने चलन छ । पर्वको स्वागतमा सिजुवा, इटहरा, बरडंगासहितका पूर्वदक्षिणी मोरङका गाविसमा नाचगान शुरु भइसकेको छ ।

SAMSUNG CAMERA PICTURES

संस्कृति जोगाउन महिला अग्रसर

विषेश गरी माघ पूणिर्मामा मनाइने भएपनि समयमा एकरुपता गर्ने निर्णयसहित यो पर्व आजबाट मनाउन शुरु गरिएको नेपाल सन्थाल आदिवासी उत्थान संघका महासचिव बलराम टुडुले बताए ।

‘युवा पुस्ता विदेसिने थाले, हाम्रो भाषा संस्कृति लोप हुदै गयो, त्यहीभएर यसलाई बचाउन सबै मिलेर लागेका छौं,’ टुडुले भने ।

सन्थाल समुदायको विभिन्न रिति रिवाज र संस्कृति जर्गेनाका लागि महिलाहरु अग्रसर भएका छन् । पुराना पुस्ताले समाल्दै आएको संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्ने उनीहरु सकृय भएका हुन् । ‘आफ्नो रिती जोगाउन पर्‍यो नी,’ मोरङ सिजुवाकी उर्मिला हस्दाले भनिन् ।

SAMSUNG CAMERA PICTURES

  • सभासद ऋषिकेश पोखरेल भादगाउँले टोपीमा

सरकारप्रति गुनासो

प्रकृति पुजकका रुपमा लिइने सन्थाल समुदायको सँस्कृति जोगाउन सरकारले ध्यान नदिएको उनीहरुले गुनासो गरेका छन् । ‘अरु जाति समुदायको चाडमा विदा दिइन्छ, कार्यक्रम गर्न पैसा दिइन्छ, तर हामीलाई कहिले पनि सरकारले हेरेन,’ नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखिराम हस्दाले गुनासो गरे ।

सामुहिक रुपमा सोहराय पर्व मनाउन जिल्ला विकास समितिदेखि गाविसमा आर्थिक सहयोग मागे पनि संस्कृति संरक्षण शिर्षकमा बजेट हुन्न भनेर आफूहरुलाई फर्काइएको उनले बताए ।

मोरङको सिजुवामा आयोजित सन्थाल समुदायको सोहराय पर्वमा सभासद ऋषिकेश पोखरेल सहभागी भएका थिए । सन्थाल समुदायको मौलिक पहिरनमा सजिएर नाचगानमा समेत गरेका सभासद पोख्रेलले सँस्कृति संरक्षण एवम् सम्वर्द्धन गर्न राज्यपंक्ष गम्भिर हुनुपर्ने बताएका थिए ।

अल्पसंख्यक आदिवासीमा सूचीकृत सन्थाल समुदायको कुल जनसंख्या हाल ५२ हजार रहेको बताइन्छ । झापा, मोरङ र सुनसरी जिल्लामा यो समुदायको बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment