Comments Add Comment

फजुल खर्चले यसरी टाट पल्टँदैछ टान

योगेश ढकाल

२० माघ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पदाधिकारीले जथाभावी खर्च गरेर टानको बजेट सिध्याएको भन्दै संस्थाभित्र असन्तुष्टि चुलिएको छ ।

taanटानका पदाधिकारीले डोनेशन दिने तथा कार्यालय प्रयोजनका सामाग्री खरिद गर्ने र आफ्नो घरमा लैजाने अनि अनावश्यक विदेश भ्रमण गर्ने गरेको गुनासो असन्तुष्ट व्यवसायीहरुको छ । पदाधिकारीले गरेको अधिकांश खर्चको बिल भर्पाइसमेत नभएको लेखा परीक्षण प्रतिवेदनमा समेत देखिन्छ ।

टानका पदाधिकारी टानको खर्चमा अमेरिका, जापान, ल्हासा, सिक्किम घुम्न गएको भन्दै भ्रमणको बारेमा पनि विवाद सुरु भएको छ ।

पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य गणेश सिम्खडाले अध्यक्ष रमेश धमलालाई टानमा अनियमितता बढेको भन्दै आपत्ति जनाएका छन् । नेपाल पर्यटन बोर्डमा आर्थिक अनियमितता भयो भनेर केही समय पहिले आन्दोलनको नेतृत्व टानका अध्यक्ष धमलाले आफैं गरेका थिए ।

घरघरमा पुगे ल्यापटप र एसी

टानका वर्तमान पदाधिकारीले टानको कोषबाट खरिद गरिएका सामाग्रीहरुको वील भुक्तानी टानको कोषबाट गर्ने तर समाग्री बेपत्ता बनाउने गरेको आरोप व्यवसायीहरुको छ ।

टानको लेखापरीक्षण गरेको जे एण्ड एशोसियट्स कम्पनीले यस्ता सामाग्रीको फेहरिस्त उल्लेख गरेको छ । टानले ल्यापटप खरिद गर्ने, कम्युटर खरिद गर्ने, एसी खरिद गर्ने तथा कार्यालयको प्रयोजनका लागि खरिद गरिएको भनिएका सामानको वील टानमा भेटिए पनि सामान भने बेपत्ता पारिएको बताइन्छ ।

लाखौं रुपैयाँ खर्चिएको खरिद गरिएका सामान कार्यालयमा नभेटिँदा कार्यसमितिका अन्य सदस्य र व्यावसायीले प्रश्न उठाएका छैनन् । गत साल ०७० फागुन १४ गतेको भौचर नम्बर १ मा कार्यालय प्रयोजनका लागि फर्निचरलगायत सामाग्री १ लाख ७० हजार ७ सय ५० रुपैयाँमा खरिद गरिएको उल्लेख छ । त्यसरी खरिद गरिएका सामान कार्यालयमा नभेटिएको व्यवसायी बताउँछन् ।

त्यसैगरी ०७० चैत्र २८ गते मर्कटायल अफिस सिष्टमबाट ८० हजार रुपैयाँको ल्यापटप तथा नोटबुकहरु २ लाख २६ हजार रुपैयाँमा खरिद गरिएको थियो । टानको भौचर नम्बर २ मा उल्लेख ती सामान कार्यालयको रेकर्डमा नभेटिएको लेखापरीक्षण कम्पनीले उल्लेख गरेको छ । ०७१ वैशाख १२ गते तीन वटा डेस्कटप कम्युटर एकवटा २ जीवीको ग्राफिक कार्डलगायत खरिद गरिएको थियो । प्लस मल्टिसिष्टम प्रालिबाट २ लाख २२ हजार ४५ रुपैयाँमा खरिद गरिएको थियो ।

त्यस्तै ०७१ वैशाख १८ गते २४ हजारमा खरिद गरेको एउटा क्याननको प्रिन्टरको रेकर्डमा पनि भेटिएको छैन । प्रिन्टर खरिद गरेको १० दिनपछि वैशाख  २८ गते टेक्नो ट्रेड प्रालिबाट १ लाख २१ हजार ५ सय ८२ रुपैयाँमा खरिद गरिएको एसी (वातानुकुलित) को अतोपत्तो छैन । ०७१ जेठ ६ गते ८ लाख ४४ हजार ७ सय १२ रुपैयाँमा खरिद गरिएका विभिन्न फर्निचर पनि टानको कार्यालयमा छैनन् ।  ०७१ असार १९ गते क्याननको ८ जीबीको ३ वटा भ्वाइस रेकर्डर ८४ हजार ७ सय ५० मा  खरिद गरेको भन्दै टानबाट भुक्तानी गरिएको देखिन्छ । तर, ती सामान पनि टानको कार्यालयमा नभएको व्यवसायी बताउँछन् ।

दनादन डोनेशन

टानका पदाधिकारीले मनलाग्दी रुपमा डोनेशन दिएको पनि भेटिएको छ । त्यसरी दिएका डोनेशनको कतिपयको रेकर्ड नभएको र अधिकांशको रकम बुझिलिएको नगदी रसिदसमेत भेेटिएका छैनन् । डोनेशन दिएको नाममा नक्कली नाम खडा गरी आफैले लिएको हो वा वास्तवमै दिएको हो भन्ने प्रश्न उठेको  असन्तुष्ट व्यवसायीको गुनासो छ ।

विना निवेदन, विना नगदी रसिद तथा कार्यक्रम विशिष्टकृत नभई दनादन रकम बाँडेको लेखा परीक्षणको क्रममा भेटिएको छ । टानले एक बर्षमा मात्रैमा यसरी डोनेशनबाट ४६ लाख ७७ हजार १ सय ९५ रुपैया ३३ पैसा बाँडेको छ ।

त्यसैगरी ०७० माघ ३ गते पर्यटन व्यावसायीहरुको संगठन पाटालाई तालिम तथा वर्कसप कार्यक्रमका लागि २ लाख ५० हजार  दिएको उल्लेख छ ।

त्यस्तै ०७० माघ ३  विना नगदी रसिद धादिङ जिल्ला उद्योग बाणिज्य संघलाई ८० हजार टानले दिएको छ भने ०७० माघ २६ गते कागजात विना नै ग्लोबल इन्कुल्सिभ एडभेन्चर अर्गनाइजेशनलाई ६ लाख ९३ हजार रुपैयाँ, २०७० चैत्र २८ गते लाङटाङ टुरिज्म एण्ड कन्जरभेशन उत्सवका लागि १ लाख ५० हजार रुपैयाँ दिएको देखिन्छ । उत्सवको पुरस्कारका लागि नगद १ लाख, मेडल, ट्रफी र प्रमाणपत्रका लागि २५ हजार रुपैयाँ दिनुपर्नेमा टानले २५ हजार बढी रकम भुक्तानी गरेको देखिन्छ ।

त्यस्तै पर्यटनसँग असम्बन्धित कार्यक्रमका लागि टोखा युथ क्लवलाई २० हजार रुपैयाँ र नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखालाई ५९ हजार रुपैयाँमा २ वटा डेस्कटप कम्प्युटर दिएको लगायतका अनियमितताको लामो फेहरिस्त लेखापरीक्षकले निकालेको छ ।

रक्सी पिउनै यत्रो रकम ?

लेखा परीक्षणका क्रममा टानले आयोजना गरेको एउटा कार्यक्रममा मदिरामा खर्चिएको रकमको हिस्सा देखेर चकित पर्नुपर्ने अवस्था छ । टानको उद्देश्य र क्षेत्राधिकारभन्दा बाहिरको उक्त कार्यक्रममा यति धेरै रकम खर्चिदा टानका कर्मचारी तथा अन्य सदस्य चुपचाप छन् ।  भौचर नम्बर ८ र ९ अनुसार १३ फागुन ०७० मा टानले मनाएको ल्होसार कार्यक्रममा २० लाख ९८ हजार ४ सय ५० रुपैयाँ खर्चिएको छ । जुन कार्यक्रम पर्यटनसँग सम्बन्धित भए पनि टानको उद्देश्य र क्षेत्राधिकारमा पर्दैन । साँस्कृतिक कार्यक्रम टानको जिम्मेवारीमा पर्दैन ।

तर, सो कार्यक्रममा व्रेकफास्ट, डिनर एण्ड स्न्यास्कमा १० लाख ७५ हजार ५ सय ३० रुपैयाँ र हार्ड डि्रंक्समा २ लाख ७९ हजार ८१ रुपैयाँ खर्च गरेको छ ।

उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रर्दशनका लागि ७ लाख ४३ हजार ८ सय ३९ रुपैयाँ खर्च भएको उल्लेख छ ।
टानको लेखामा उक्त कार्यक्रमका लागि ५ लाख २७ हजार ४ सय १९ रुपैयाँ आम्दानी भएको उल्लेख छ । तर, खर्च भने २० लाखभन्दा बढी गरेको छ ।

त्यस्तै टानको पोखरा च्याप्टरले मनाएको ल्होसार कार्यक्रममा पनि गतिलै खर्च गरेको छ । उक्त कार्यक्रममा भएको केही खर्च हातले लेखिएको बीललाई आधिकारिक मानेर रकम भुक्तानी गरिएको लेखापरीक्षणमा उल्लेख छ ।

भ्रष्टाचार भएकै छः व्यवसायी

टानमा विगतदेखि नै आर्थिक अनियमितता हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ । व्यवसायीको चर्को आलोचनापछि दुई बर्ष पहिला वर्तमान टानका अध्यक्ष रमेश धमलाकै नेतृत्वमा नवराज दाहाल, राजेन्द्र सापकोटा सदस्य रहेको छानविन समिति गठन भएको थियो । धमला समितिले टानमा आर्थिक अनियमितता हुने गरेको र त्यसको अन्त्यका लागि भन्दै केही सुझावसहितको प्रतिवेदनसमेत तयार गरेको थियो ।

‘टानको पैसामा अनावश्यक रुपमा  विदेश घुम्ने, विना विल र नगदी रसिद रकम भुक्तानी गर्ने देखिएको छ, यस्तो अनियमित कार्यको हामीले विरोध गर्न थालिसकेको छौं र यो अनियमिततालाई स्वीकार गर्न सक्ने अवस्था छैन,’ सिंखडा भन्छन्- ‘त्यही कारण मैले अध्यक्ष धमलालाई भनिसकेको छु, आउँदा दिनमा टानमा हाम्रा साथीहरुको भूमिका चर्को रुपमा आउनेछ ।’

विगतमा नेपाल पर्यटन बोर्डका पूर्वबोर्ड सदस्यसमेत रहेका सिम्खडा र उनको टोली नै टानमा अध्यक्षमा धमला र महासचिवमा सागर पाण्डेसहितको टोलीलाई टानमा ल्याउन लागिपरेको थियो ।

टानको लेखापरीक्षण प्रतिवेदन

taan1 taan2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment