Comments Add Comment

भकारो सुधार्नेलाई सरकारी अनुदान

२१ माघ, बागलुङ । जिल्लामा सञ्चालित ‘भकारो सुधार कार्यक्रम’ बाट किसानले लाभ उठाएका छन् ।

सरकारले अनुदान दिएपछि भकारो सुधार गर्न किसान आकर्षित भएका हुन् । भकारो सुधारबाट हुने दीर्घकालीन फाइदासँगै पूर्वाधार तयारीको लागि अनुदान मिलेपछि किसान खुसी छन् ।

लेखानीलाई त भकारो सुधारमा ‘नमुना’ गाविस बनाउन कृषि विकास कार्यालय लागिपरेको छ । यो वर्ष मात्रै एक सय १० घरमा भकारो सुधार भइसकेको कार्यालयले जनाएको छ । दुईभन्दा बढी भैंसी पाल्नेलाई मात्र अनुदानको व्यवस्था छ । एक किसानले भकारो सुधार कार्यक्रमको लागि पाँच हजार दुर्इ सय रूपैयाँ अनुदान प्राप्त गर्ने कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताए ।

चालु आवमा जिल्लामा दुर्इ सय वटा भकारो सुधारको कार्यक्रम परेकामा ९० वटा अन्य गाविसमा सञ्चालन गरिने उनले जानकारी दिए ।

‘नमुना’ गाविसको रुपमा विकास गर्न लेखानीमा मात्रै एकैसाथ एक सय १० वटा घरमा भकारो सुधार गरिएको हो । लेखानीका दुर्इ सय किसानले गतवर्ष नै भकारो सुधार गरेका थिए । यसबाट वडा नं ७, ८ र ९ का किसानले बढी लाभ उठाएका छन् ।

सुधारिएको भकारो मलको खाद्यतत्व सुरक्षित राख्न, घामपानीबाट जोगाउन, मूत्र सङ्कलनका लागि उपयुक्त मानिन्छ । “गाईवस्तुको मूत्र बढी मलिलो हुन्छ, यसको सङ्कलन गर्न सकिन्छ”–अधिकृत अधिकारीले भने “भकारो सुधारका धेरै फाइदा छन्, गाईवस्तुको लागि पनि सफा, न्यानो र सुरिक्षत हुन्छ, घामपानीबाट जोगिदाँ मलको खाद्यतत्व पनि खेर जान पाउँदैन ।” थोरै मेहनत र सानो लगानीबाट भकारो व्यवस्थित र लाभदायी बनेपछि किसान यसतर्फ आकर्षित बनेको उनको भनाइ छ ।

भकारो सुधार गरेपछि आफ्नो गोठको रुपै फेरिएको लेखानीका किसान हरिमाया रोकाले बताए । गाईवस्तुको मूत्र सङ्कलन गरेर खेतीबालीमा लगाउने गरेको उहाँको भनाइ छ । “मल पानीले पनि नबगाउने, घामले पनि नसुक्ने, भकारो पनि सफा हुने साह्रै राम्रो भएको छ”– रोकाले भने, “यो गर्नेलाई सरकारले पनि अनुदान दिएर झन् राम्रो गरेको छ ।”

अनुदानको रकमबाट किसानले मलखाद माथि छानो राख्ने, सिमेन्ट लगाउनेलगायत अन्य पूर्वाधार बनाउने गरेका छन् । दुईभन्दा बढी भैँसी पाल्ने किसानले मात्र यो अनुदान पाउने भएकाले व्यावसायिक पशुपालनमा पनि प्रोत्साहन मिलेको छ । भकारो सुधारको लागि यो वर्ष मात्रै बागलुङका दुई सय किसानले १० लाख ४० हजार रूपैयाँ अनुदान प्राप्त गर्नेछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment