Comments Add Comment

‘अल्पमत पक्ष’को माग एमालेद्वारा अस्वीकार

Uml-Sthai-cc

२१ माघ, काठमाडौं । नेकपा एमालेले एमाओवादी नेतृत्वको मोर्चालाई ‘अल्पमत पक्ष’ नामाकरण गर्दै उसले माग गरेअनुसार संविधान निर्माणको प्रक्रिया रोक्न नसकिने अडान दोहोर्‍याएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार साँझ सम्पन्न स्थायी समिति बैठकले प्रश्नावली निर्माणको काम जारी राख्दै वार्ताको प्रयास गर्ने निर्णय लिएको छ । ‘संविधानसभामा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन, उनीहरु अल्पमत पक्ष हुन्’ एमाले उपाध्यक्ष भीम रावलले भने-‘हामी अल्पमत पक्षलाई पनि सहमतिमा ल्याउन लचिलो बन्छौं, तर प्रक्रिया रोकिँदैन ।’

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले प्रश्नावली समिति फिर्ता गर्नुपर्ने अल्पमत पक्षको माग स्वीकार्य नहुने बताए ।

तर, आन्दोलन रोकेर वार्तामा आए प्रश्नावलीको काम रोक्न सकिने उनले बताए । ‘पहिले आन्दोलन लगायतका बितण्डा रोकिनुपर्छ, वार्तामा आएपछि हामी प्रश्नावलीको कामलाई रोक्न सक्छौं’ रावलले भने-‘प्रश्नावली बनाउने भनेको सहमति नगर्ने भन्ने होइन ।’

बैठकमा प्रश्नवाली समितिको काम र अब हुन सक्ने सम्भावित घटनाबारे समीक्षा भएको सचिव प्रदीप ज्ञवालीले बताए ।

सडकछापलाई जवाफ नदिने

यसैबीच एमालेले पार्टी अध्यक्ष केपी ओलीको मानसिक उपचार गराउनुपर्ने भनी ३० दलीय मोर्चाले गरेको निर्णय स्तरहीन सडक छापहरुको प्रलाप भन्दै यसमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको जनाएको छ ।

‘यस्ता सडक छापहरुका स्तरहीन फत्तुर कुराको खण्डन गर्दै हिँड्ने एमाले त्यति गिरेको पार्टी होइन’ ज्ञवालीले भने-‘यसबारेमा हामीले छलफलै गरेनौं ।’

उपाध्यक्ष भीम रावलले जसले त्यस्तो निर्णय लेखे, उनीहरुकै दिमागको डाक्टरी जाँच गर्नुपर्ने बताए । एमाले सचिव पृथ्वीसुब्बा गुरुङले ओलीको सन्दर्भमा ३० दलको निर्णयले उनीहरुको मानसिक अवस्था झल्काएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment