Comments Add Comment

संविधानसभा छाडेर आउन प्रचण्डलाई बैद्यको आग्रह

Mohan baidhya Kiran

२२ माघ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले एमाओवादीसँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै उनले संविधानसभा छाडेर सडकमा आउन समेत प्रचण्ड माओवादीलाई आग्रह गरेको छ ।

केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा वैद्यले एमाओवादीलाई संविधानसभा छाडेर आउन आग्रह गरे । उनले भने-‘संविधानसभा भित्रैबाट संविधान बनाउनेतिर जानुभयो भने उहाँहरु पनि पश्चगामी यथास्थितिवादी धारामा जानुहुन्छ र जनताको समस्या यथावत रहन्छ ।’

अहिलेको संविधानसभाबाट संविधान बनेपनि जनताको संविधान नबन्ने भन्दै उनले भने-तपाईहरु सडकमा आउनुस् । सडक संघर्षबाट मात्रै जनताको संविधान बन्छ भनेर हामीले वारम्बार भन्दै आएका छौं ।’

एमाओवादी संविधानभा सडकमा आए सहकार्य गर्ने भन्दै उनले नभए जनताले साथ नदिने बताए । उनले भने-‘उहाँहरु आउनुभयो भने राम्रो, संघर्ष अघि बढ्छ । उहाँहरु आउनु भएन भने उहाँहरुको पक्षमा जनतामा जाँदैनन् ।’

एकीकरण प्रक्रियालाई अघि बढाउने

तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले बैद्य माओवादीले एमाओवादीसहितका दलहरुसँग पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

जनयुद्धमा संग्लन र अन्य सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याएर ‘नयाँ माओवादी कम्युनिष्ट केन्द्र’ बनाउने बैद्यले बताए ।

तत्काल कार्यगत एकता गरी संघर्ष अघि बढाउने बैद्य माओवादीको निर्णय गरेको छ । आफूहरुलाई सुरुबाटै अलग गरेको सत्तारुढ कांग्रेस र एमालेले एमाओवादी सहितका शक्तिलाई संविधासभाबाट पाखा लगाउने काम गरेको वैद्यले बताए ।

उनले अब कार्यगत एकता गरेर आन्दोलनको आँधीबेहरी श्रृजना गर्ने र संघर्षको बीचबाटै जनताको संविधान बनाउनु पर्ने बताए ।

आफूहरुले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको भन्दै उनले प्रचण्ड मोर्चासँग साझा नारा बनाएर आन्दोलनमा जान प्रयास गर्ने बताए । ‘उहाँहरु सडकमा आउनु भयो भने साझा नारा बनाउने प्रयास गर्छौं’ माओवादी अध्यक्ष बैद्यले भने-‘नभए ताममेल मिलाउँछौं ।’

भ्रष्टलाई कारबाही गर्ने

नेकपा-माओवादी केन्द्रीय समितिको बैठकले भ्रष्ट फटाहाहरुलाई कारबाही गर्ने जनाएको छ ।

फागुन १ गतेदेखि चैत्र २४ गते सम्मको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत भ्रष्ट र फटाहाहरुलाई कारवाही गर्ने वैठकले निर्णय गरेको महासचिव रामबहादुर थापा बादलले बताए ।

अभियानका लागि ‘संविधानसभा-२ विघटन र सर्वपक्षीय राजनीतिक सभाको गठन, संघर्षद्वारा जनसंविधान निर्माण र संगठन सुदृढिकरण तथा विस्तारका लागि अभियान’ भन्ने मुल नारा तय गरिएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रीय समितिको बैठकले नेत्रविक्रम चन्दको बर्हिगमनपछि रिक्त रहेका मध्ये ३७ जनालाई केन्द्रीय समितिमा थप गरेको छ ।

वैठकले १० सदस्य स्थायी समिति र १९ सदस्य पोलिटब्युरो सदस्य पनि चयन गरेको छ ।

यसअघिका पोलिटब्युरो सदस्यलाई स्थायी समितिमा र पुराना केन्द्रीय सदस्य सवैलाई पोलिटब्युरोमा बढुवा गरेको हो । केन्द्रीय सल्लाहकारबाट ६ जनालाई पनि केन्द्रीय सदस्यमा ल्याएको माओवादीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment