Comments Add Comment

अदालत र अख्तियारजस्तै बन्न थाल्यो संसदीय समिति

मात्रिका पौडेल

२ फागुन, काठमाडौं । एसएलसीसमेत पास नगरेको व्यक्तिले एबबीबीएस पढेर डाक्टर बन्न सम्भव छ ? झापा अनारमनी-४ का प्रवुद्ध खड्काविरुद्ध यस्तो अभियोग लगाउँदै उनको डाक्टरी प्रमाणपत्र छानविनका लागि संसदको सुशासन तथा अनुगमन समितिमा उजुरी परेको छ ।

Sherdhan-Rai-UMLअदालत वा अख्तियारमा जस्तै संसदीय समितिमै धमाधम यस्ता उजुरीहरु आउन थालेपछि सभासदहरु चकित भएका छन् । ‘सभासदको काम उजुरी सुन्ने र न्यायाधीश बन्ने पो हो कि भन्ने डर भइसक्यो’ एमाले सभासद अमरबहादुर थापाले भने ।

कतैबाट न्याय पाइएन अथवा उजुरीको सुनवाइ भएन भन्दै संसदीय समितिमा न्याय माग्न आउनेहरुको संख्या बढ्न थालेको छ । सहज पहुँच र राजनीतिक आस्थाका आधारमा कतिपय उजुरीमा छानविन समेत अघि बढ्ने आशाले पनि संसदीय समितिमा यस्ता उजुरी परेका हुन सक्छन् ।

सुशासन तथा अनुगमन समितिमा छोटो समयमै यस्तै प्रकृतिमा दर्जनभन्दा बढी उजुरी परेपछि कुन छानविन गर्ने, कुन नगर्ने भन्नेमा सभासदहरु अन्योलमा परेको थापा बताउँछन् ।

‘हामी अदालती काम गर्ने निकाय नभए पनि जनताको उजुरी सुन्ने र फछ्र्यौट गर्ने विधि त बनाउनै पर्छ’ पूर्वकानुन सचिव समेत रहेका अका सभासद उदय नेपाली श्रेष्ठले भने ।

उजुरीको क्षेत्राधिकारबारे छलफल

समितिमा परेका उजुरीहरुको छानविन, सुनुवाइ र समाधान गर्ने उपाय खोज्न सभापति शेरधन राईले समिति बैठक नै बोलाए । सभासदहरुको राय लिएर कस्ता उजुरी लिने भन्ने उनको आशय थियो ।

समितिमा कतिपय उजुरी यस्ता पनि आउने गरेका छन्, जसमा अख्तियारले झूठा मुद्दा लगाएको भन्दै मुद्दा फिता लिइदिन माग गरिएका छन् ।

उजुरीहरुको सन्दर्भमा कांग्रेस सभासद ध्यानगोविन्द रञ्जितको भनाइ निकै घतलाग्दो छ ।

‘कतिपय मान्छेको बानी सेतो कागज देख्ने बित्तिकै कसैको विरुद्ध केही लेखेर उजुरी हालिहाल्ने बानी हुन्छ’ रञ्जितले भने ‘समितिमा अन्यायमा पर्नेमात्र होइन, अन्याय गर्नेहरु पनि उजुरी लिएर आउँछन्’ ।

संसदीय समितिमा अन्यायमा पर्ने र अन्याय गर्ने दुबै प्रवृतिका मान्छे आउन थालेपछि त्यस्ता उजुरीहरुको छानविन गर्न उपसमिति नै बनेको छ । त्यो उपसमितिले कतिपय उजुरी आफैं टुंगो लगाउने र महत्वपूर्ण विषयलाई समितिमा ल्याउने निर्देशन सभापति राईले दिएका छन् ।

‘अख्तियारले सुनुवाइ गरेन भनेर हामीसमक्ष धेरै उजुरी पनि आएका छन्’ राईले भने ‘हामी अब पत्राचार नै गरेर सबैका गुनासा तथा उजुरी सुन्न निर्देशन दिन्छौं, आवश्यक ठाउँमा आफै अनुगमन गर्छौं’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment