Comments Add Comment

कार्यविभाजनमा कुरा नमिलेपछि एमाले बैठक स्थगित

१० फागुन, काठमाडौं । केन्द्रीय सदस्य मनोनयन एवं नेताहरुको कार्य बिभाजन गर्न आइतबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

CPN_UML_officeमनोनयन र कार्य विभाजनमा अझै संस्थापन पक्ष र माधव नेपाल पक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपालको आग्रहमा दोस्रोपटक बैठक स्थगित गरिएको एमाले स्रोतले जनाएको छ । अघिल्लो बैठक पनि नेपाल रौतहटमा भएकाले उनकै आग्रहमा स्थगित भएको थियो ।

कार्यविभाजन अलपत्र

नवौं महाधिवेशन भएको ८ महिना पुगिसक्दा पनि महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको कार्य विभाजन भएको छैन ।

कार्यविभाजन नहुँदा पार्टी तदर्थ ढंगले चलेकाले यसलाई आवधिक विषय मानेर टुंगो लगाउनु राम्रो हुने केन्द्रीय सदस्य सूर्य थापाले बताए ।

जसले जे जिम्मेवारी पाए पनि पार्टीकै काम गर्ने भएकाले कार्य बिभाजनलाई गुटको लडाई बनाउन नहुने उनको भनाइ छ ।

थापाले केही समयअघि पार्टी अध्यक्षलाई लिखत रुपमै कार्य बिभाजनको सन्दर्भमा सुझाव समेत दिएका थिए ।

केन्द्रीय सदस्य मनोनयनको टुंगो लगाएरमात्रै कार्य बिभाजन हुने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । उनका अनुसार मंगलबार बस्ने बैठकले मनोनयनको टुंगो लगाउनेछ ।

जिम्मेवारी कसलाई के ?

एमालेमा १४ जना केन्द्रीय सदस्य मनोनयनका लागि नेताहरुले डेढ सयको नाम लिएका छन् । तीमध्ये घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे, केदार न्यौपाने र देवशंकर पौडेलको नाममा सहमति भइसकेको बताइएको छ ।

त्यस्तै पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको इन्चार्ज बनाउनेमा विवाद छैन । जसमध्ये विद्या भण्डारी पूर्वान्चल, अष्टलक्ष्मी शाक्य मध्यमाञ्चल, युवराज ज्ञवाली पश्चिमाञ्चल, वामदेव गौतम मध्यपश्चिमान्चल र भीम रावल सुदूरपश्चिमाञ्चलमा खटिनेछन् ।

दुई उपमहासचिवमध्ये बिष्णु पौडेलले संगठन र घनश्याम भुसालले पार्टी स्कूलको इञ्चार्जको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

पाँच सचिव र अञ्चल इञ्चार्ज तथा विभाग एवं फाँट प्रमुखमा नेताहरुबीच कुरा नमिलेको स्रोतले जनाएको छ । प्रचार विभागमा योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य तीन सचिवमध्ये कसलाई जिम्मा दिने भन्ने कुरा खमिलेको छैन ।

प्रचार विभागमा शुरुमा योगेशको नाम थियो भने बीचमा गोकर्णको नाम आयो । पछिल्लोपटक भीम आचार्यलाई प्रचार बिभाग प्रमुख बनाउने प्रस्ताव आएको एक नेताले बताए ।

प्रदीप ज्ञवालीलाई सचिवालय सचिव र पृथ्वीसुब्बा गुरुङलाई संगठन विभाग प्रमुख बनाउने सहमति भएको स्रोतले जनाएको छ ।

प्रचार, मोर्चा संगठन र राज्य व्यवस्था बिभागको नेतृत्व यी तीनजना सचिवलाई बाँड्ने क्रममा नेताहरुबीच सहमति हुन बाँकी छ । उनीहरु तीनैजना माधव नेपाल प्यानलबाट निर्वाचित हुन् ।

त्यस्तै १४ अञ्चलसहित अन्य तीन अञ्चल कमिटीसरहका १७ अञ्चल इञ्चार्जमा पनि कुरा मिल्न बाँकी छ ।
पोलिटब्यूरो सदस्यले अञ्चल इञ्चार्जको जिम्मेवारी पाउने मापदण्ड बनाउनुपर्ने कुरा उठेकाले लम्बिएको स्रोतले जनाएको छ ।

नेपाल पक्षले सभासद रहेकालाई अञ्चल र भूगोलको जिम्मेवारी नदिने प्रस्ताव अघि सारेको छ । नेपाल पक्षले मापदण्ड बनाएरमात्रै जिम्मेवारी बाँडफाँड हुनुपर्ने अडान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment