Comments Add Comment

शान्ति स्थापना गर्न प्रधानमन्त्रीले मागे युवाको सहयोग

Sushil-Koirala

१० फागुन, धादिङ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलन र तोडफोडबाट देशलाई बचाउन तरुण युवाहरुलाई आग्रह गरेका छन् ।

गणेशमान जन्मशताब्दीका अवसरमा धादिङको बैरेनीमा आइतबार आयोजित पदयात्रा कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘देशको जिम्मेवारी तरुण युवाहरुको काँधमा आएको छ, आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउनुहोस् ।’

उनले युवाहरुले देशमा शान्ति स्थापनामा सहयोग गरे आफूले देश विकास गरेर देखाइदिने दाबी समेत गरे । प्रधानमन्त्री कोइरालाले भने, ‘तपाईं शान्ति दिनुस् हामी विकास दिन्छौं, त्यसमा अन्तर पर्ने छैन ।’

उनले दुई हात जोडेर शान्तिको निमित्त प्रयास गर्न सबैलाई अनुरोध गरेका थिए । देशमा विकासको लहर आएकोले पनि दीगो शान्ति स्थापना आवश्यक रहेको कोइरालाको भनाइ थियो ।

मुुलुकका शान्ति र राजनीतिक स्थायित्व कायम भए रोजगारीको सिर्जना हुने र विदेशिएका ३० देखि ३५ लाख नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संघीय गणतन्त्रात्मक लोकतान्त्रिक संविधान आउनेमा शंका नगर्न सबैलाई आग्रह गरे । उनले भने, ‘संविधान आउँछ आउँछ, लोकतान्त्रिक संविधान नै आउछ । यसपटक हामी गरेरै देखाउछौं ।’

यसअघि प्रधानमन्त्री कोइरालाले बैरेनी नजिक गल्छीमा निर्माण गरिएको गणेशमान सिंह बलिदान चौतारोमा वर र पिपलका विरुवा रोपेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment