Comments Add Comment

एमाओवादी सिद्धिन्छ, एमाले झन बलियो हुन्छ : पोखरेल

१७ फागुन, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले खुल्लामञ्चबाटै एमालेको औचित्य छैन भनेपछि एमाले नेताहरु तरंगित भएका छन् ।

प्रचण्डको अभिव्यक्तिको जवाफ दिँदै एमाले नेताले अब एमाओवादीचाँहि एमालेमा विलय हुने दिन आउने बताएका छन् ।
एमाले महासचिव ईश्वर पोखरेलले प्रचण्डको भनाइलाई ‘बर्बराहट’को संज्ञा दिएका छन् । एमाले सचिव गोकर्ण विष्टले एमाओवादी दिग्भ्रमित भएको प्रतिक्रिया दिएका छन् ।

‘दलहरुको औचित्य जनताले पुष्टि गर्ने हुन्, जनताले एमालेलाई जिताएर, एमाओवादीलाई हराएर कसको औचित्य के भन्ने सावित गरिसकेका छन्’ विष्टले भने ।

एमाओवादीचाँहि एमालेमा विलीन हुन्छ

sankar_pokrelएमाले स्थायी समिति सदस्य शंकर पोखरेलले कांग्रेसमा एमाले बिलय हुने होइन, एमाओवादी चाहिँ एमालेमा बिलिन हुने दिन आउने प्रतिक्रिया दिएका छन् ।

‘एमालेको एजेण्डाबाट तराईका सम्भ्रान्त जमिन्दारहरुलाई धक्का पुगेको छ, पहाडमा एमाओवादी झन् कमजोर बन्दैछ’ पोखरेलले भने ‘खुलामञ्चमा उनीहरुको प्रहार एमालेमाथि केन्दि्रत हुनुको चूरो कुरा त्यही हो’ ।

पोखरेलले एमाओवादी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने भन्दै ढीलो चाँडो एमालेमा विलीन हुनुको विकल्प नरहेको दाबी गरे ।

उनले एकल जातीय राज्यको एजेण्डा नछाडेसम्म विपक्षी मोर्चासँग वार्ता भए पनि सहमति हुने सम्भावना आफूले नदेखेको बताए । ‘उनीहरु अहिले बहुपहिचान भने पनि कुनै एक जातिलाई राष्ट्र मानेर अरु जातिहरुलाई पहिचान दिने कुरा गर्छन्’पोखरेलले भने ‘त्यसमा सहमति हुँदैन’ ।

भ्रम चिर्न जनतामा जान्छौं : गुरुङ

Prithivi_Subba_Gurungएमालेले आफ्ना विरुद्ध फैलाइएका भ्रम चिर्न जनअभियान सञ्चालन गर्न लागेकाले त्यहीबेला माओवादी र जातिवादीहरुको भण्डाफोर गरिने सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

गुरुङले भने-खुलामञ्चबाट एमाले विरुद्ध जति विषवमन गरे पनि त्यो आत्मरतिमात्र हो । हामी तराई मधेस र पहाड सबैतिर जागरण अभियान चलाउदैछौं । ३० दलको भन्दा ठूलो प्रदर्शन एमाले एक्लैले धेरैपटक गरिसकेको छ र फेरि पनि गर्न सकिन्छ ।

विपक्षी मोर्चा विशेष गरी आफू विरुद्ध खनिएपछि एमाले नेताहरुबीच अनौपचारिक छलफल समेत भएको स्रोतले जनाएको छ । आइतबार बस्ने स्थायी समिति बैठकमा यसको जवाफ दिइने एक नेताले बताए ।

प्रचण्डको बर्बराहत हो, एमाओवादी सिद्धिन्छ

ISHWOR-POKHRELप्रचण्डले खुलामञ्चमा आफ्नो भाषण विशेष गरी एमाले विरुद्ध केन्द्रिरत गरेको एमाले महासचिव ईश्वर पोखरेलको प्रतिक्रिया छ ।

महासचिव पोखरेलले ३० दलको शक्ति प्रदर्शन र आमसभाको उद्देश्य एमालेको विरोध गर्नुमात्र देखिएको भन्दै त्यसबाट एमाले झन सुदृढ रहेको पुष्ट हुने अनलाइनखबरलाई बताए ।

तीस दलको सम्पूर्ण शक्ति लगाएर जम्मा गरिएका बीस पच्चिस हजार मान्छेका बीच प्रायः सबै वक्ताहरुले एमाले र खासगरि हाम्रा अध्यक्षलाई प्रहारको तारो बनाए’ पोखरेलले भने ‘उनीहरुले आफ्नो सम्पूर्ण शक्ति एमालेलाई सत्तोसराप गर्न खर्चिएको देखियो, यो बर्बराहटको नेतृत्व प्रचण्डले गर्नुलाई हामीले अन्यथा सोचेका छैनौं’ ।

महासचिव पोखरेलले एमाले जनताका बीचमा बलियो वामपन्थी शक्ति बन्दा एमाओवादीको स्पेस कमजोर हुँदै गएको र जनतामा पराजित भइसकेकाले उनीहरु एमालेका विरुद्ध खनिएको बताए ।

महासचिव पोखरेलले भने- हामी माओवादीलाई सान्त्वना दिन्छौं, उनीहरु अझै पनि अवसरवादको खोल फालेर सच्चिएनन् भने सिद्धिनुको विकल्प छैन, सिद्धिने बेलामा एमालेविरुद्ध गरिएको बर्बराहटको कुनै अर्थ छैन ।

एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार खुल्ला मञ्चको सभामा एमालेको औचित्य सकिएको भन्दै कांग्रेस र एमालेलाई एउटै पार्टीका रुपमा बुझनुपर्ने  बताएका थिए ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment