Comments Add Comment

एमालेको चेतावनीपछि चितवनमा प्रधानमन्त्रीले प्रचण्डलाई भेट्दै

kp-susil-prachanda

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच मंगलबार चितवनको शिवनगरमा भेटघाट हुँदैछ । सत्ता साझेदार नेकपा एमालेले सरकारबाट बाहिरिने चेतावनी दिइरहेका बेला हुन लागेको प्रधानमन्त्री र विपक्षी दलका नेतावीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चितवनको शिवनगरस्थित नारायणी उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला  र एमाओवादी अध्यक्ष प्रचण्ड एउटै मञ्चमा उपस्थित हुन लागेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा दुई नेतावीच अनौपचारिक वार्ता हुने बताइएको छ ।

प्रधानमन्त्री सुशील कोइराला आफूले चुनाव जितेको क्षेत्रको विद्यालय भएकाले कार्यक्रममा सहभागी हुन लागेका हुन् । प्रचण्ड आफ्नै गृहजिल्लाको विद्यालयको कार्यक्रम भएकाले निम्त्याइएका हुन् ।

कार्यक्रममा उपस्थित सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेतालाई बेग्लै कोठामा आराम गर्ने क्रममा अनौपचारिक वार्ताको वातावरण बनाउन कांग्रेसका जिल्ला नेताहरु लागिपरेका छन् ।

दबावमा प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइराला एकातिर सत्ता समझेदार एमालेको र अर्कातिर विपक्षी एमाओवादी मोर्चाको चर्को दबावमा छन् ।

विपक्षी मोर्चाले होली पर्व सकिँदा पनि सरकारकाले सार्थक वार्ताको वातावरण नबनाए अर्को चरणको आन्दोलनमा जाने चेतावनी खुलामञ्चबाटै दिइसकेको छ । वार्ताका लागि संविधानसभामा अघि बढेको प्रक्रिया स्थगन गरेर सम्वाद समितिमार्फत् अघि बढ्नुपर्ने शर्त एमाओावदीले अघि सारेको छ ।

यसैवीच सोमबार बल्खुमा सम्पन्न एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्रीले तत्कालै संविधान निर्माण प्रक्रिया अघि नबढाए सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।

प्रक्रिया अघि बढाउँदा एमाओवादी आन्दोलनमा जाने र नबढाउँदा एमाले सरकारबाट बाहिरिने दोहोरो चुनौतीका वीचमा प्रधानमन्त्रीले मंगलबार प्रचण्डलाई भेट्दैछन् ।

अब प्रचण्डले एमालेको कुरा सुन्छन् या एमाओवादीको ?  यो प्रश्न निकै रोचक बनेको छ । प्रधानमन्त्रीले आफ्नो विवेकले निर्णय लिनुपर्ने घडी आएको छ, जुन चितवनमा प्रचण्डसँगको भेटबाटै उजागर हुन सक्छ ।

सुशीलमाथि आशंका

प्रधानमन्त्री सुशील कोइरालाले संविधान बन्नासाथ सरकार छाड्ने बताउँदै आएका छन् । तर, भदौमा कांग्रेसको महाधिवेशन नसकिँदासम्म उनी प्रधानमन्त्रीको कुर्सीमा रहन चाहेको र प्रधानमन्त्री आफैंले संविधान बन्न नदिइरहेको आशंका एमालेले गरेको छ ।

उता प्रक्रियामा नगए सरकार छाड्ने एमालेको निर्णयलाई एमाओवादीले भने सहमति भाँड्न खोजिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment