Comments Add Comment

मान्ठादेखि मान्ठा डराउन्या जुग

मोहन मैनाली

कतै पहेंलपुर धान । कतै धान काटिसकेर खाली भएको ठाउँ । कतै पराल सुकाएका गह्रा । कतै आकाशतिर फर्किएका कोदाका कपनी । कतै पाकिसकेका फापरका राता नल । कतै जोतिसकेको जमिन र कतै जोतिसकेका फाँटमा लहरै थुपारिएका मलका काला थुप्रा ।
Khet
पाण्डुसेन पुग्ने जोसुकैलाई अलमल हुन्थ्यो- फाँट र कान्ला हेर्दैछु कि लामो समय लगाएर कुशल कलाकारले ठूलो क्यानभासमा कोरेको चित्र हेर्दैछु भन्नेमा ।

तर यी दुईमा त्यति धेरै फरक छैन । कलाकारले कृत्रिम क्यानभासमा कुचीले कृत्रिम रङ लगाउने हो क्यार । किसानहरूले प्रकृतिले बनाएको क्यान्भासमा प्राकृतिक वस्तु राख्ने हो ।

यस्तो सजिव र प्राकृतिक क्यान्भासमा २०५९ कात्तिकको मध्यतिर बाजुराका किसान अन्नबाली भित्र्याउने काममा जुटेका थिए । कोही खेतमा धान काट्न व्यस्त थिए । कोही दुईतीन दिनअघि काटेर सुकाएको धान खलामा दाइँ गर्दै थिए । उनीहरू दिनभर धान चुट्थे । परालका मुठा खेतका गह्रामा सुकाउँथे । धान बत्ताएर धानबाट भुसलाई छुट्टयाउँथे । बिहान झिसमिसेमै खेतबारीमा निस्केका जवान, वृद्ध र बालकहरू साँझ झमक्क हुँदा मात्र धानको धोक्रो बोकेर घर फर्कन्थे ।

कात्तिकमै पनि पाण्डुसेनमा जाडो बढिसकेको थियो । हाम्रा हात ठिहिर्‍याएका थिए । हामी बास बसेको दहीबाजेको घरभन्दा एकसय मिटर पश्चिम, ठाडो खोल्सो पारि तीनचार जना मानिस धमाधम धान काट्दै थिए । हामी उनीहरूले धान काटेको खिच्न बाटो छाडेर कान्लामाथि गयौं ।

‘यसपालि धान फलेन भन्छन् नि । कस्तो छ तपाईंहरूको खेतमा ?’ केहीबेर धान काटेको खिचेपछि मैले सोधें ।

Mantha-dareko-jug-coverउनीहरू चुपचाप धान काटिरहे । धानको बोट कात्तिकको शीतले छपक्कै भिजेको थियो । धान काट्नेका हात पनि भिजेका थिए । जाडोबाट बच्न लोग्नेमानिसले मफलरले र स्वास्नीमान्छेले मजेत्रोले कान छोपेका थिए ।

‘कात्तिकदेखि नै जाडो हुँदोरहेछ । पछि पुसमाघमा त कठ्याङ्गि्रने जाडो हुन्छ होला, हैन ?’ उनीहरू बोलिहाल्छन् कि भनेर मैले फेरि सोधें ।

एउटा गराको धान काटुन्जेल हामी त्यहीँ बस्यौं । उनीहरू एक शब्द बोलेनन् । त्यसपछि हामी आफ्नो बाटो लाग्यौं ।

खेतको बाटो हिँडेर अलि अगाडि अर्काे खोल्सो तर्‍यौं । बाटैछेउको बारीमा दुईजना लोग्नेमान्छे काम गर्दै थिए । साना केटो जोत्दै थियो । अधबैंसे मानिस बिउ छर्दै थिए । खेतको धान र बारीको मकै अनि कोदो भित्र्याइसक्नेहरूले गहुँ लगाउने याम थियो त्यो ।

उनीहरूले काम गरेको खिच्न हामी कान्लो उक्लियौं । झोलाबाट क्यामरा निकाल्यौं । ट्राइपड निकाल्न थाल्यौं । यत्तिकैमा बिउ छरिरहेका मानिस काम छाडेर भागे ।

उनी हामीसँग डराएजस्तो लाग्यो ।

‘ए दाइ, नभाग्नुस् । हामी केही गर्दैनौं । आफ्नो काम गर्नुस्,’ हामीले अनुरोध गरेपछि उनी हामीतिर फर्किए । यतिवेलासम्ममा हामीले काँधमुनि झुन्डयाएको ट्राइपड निकालेर बारीमा राखिसकेका थियौं । उनले त्यो बन्दुक होइन रहेछ भन्ने बुझे होलान् । तैपनि हामीले फेरि एक पटक ‘हामी केही गर्दैनौं’ भन्यौं । त्यसपछि उनी छर्दै गरेको बिउको डाली च्यापेर फर्किए ।

साना काँटीका, अधबैंसे ती मानिसले लामो बाउला भएको स्वेटरमाथि आधाबाहुले सर्ट लगाएका थिए । टाउकामा टोपी थियो तर खुट्टा भने नाङ्गै थिए । उनी थर्थरी काम्दै थिए । पाण्डुसेनको कात्तिकको शीत यस्तो अवस्थाका मानिसको जीउ कमाउन सक्ने गरी चिसो थियो । तर मानिस दौडेर भागीहाल्नु पर्ने खालको जाडो भने थिएन ।

‘किन भागेको ?’ एक छिनपछि मैले सोधें ।

‘नौला मान्ठा (मान्छे) आउँदा डर मान्दाछौं, हजुर ! मान्ठादेखि मान्ठा (मान्छेदेखि मान्छे) डराउन्या जुग आयो । हजुरहरूलाई देखेर मेरो हड (शरीर) काँपिगो । त्यसैले भागेको,’ ती मानिसले भने ।

यसो भन्दा उनको सारा शरीर लगलग कामिरहेको थियो ।

‘ल… बिउ लिन गएको भन्नु पर्दैन ? त्यसो भनेर के हुँदो हो ?’ जोतिरहेको केटाले अधबैंसेलाई हप्कायो ।

उनी डराएको कुरा शरीरले बेस्कन भनिरहेको थियो तर त्यो डर देखाउनु हुँदैन भन्ने ठान्यो त्यो केटाले ।

हामीले उनीहरूलाई हाम्रा बारे बतायौं । उनीहरूका बारेमा सोध्यौं । बिउ छर्ने मानिस जुल्फे सार्की रहेछन् । जोत्ने केटा उनको छोरा रहेछ ।

मोहन मैनाली
मोहन मैनाली

अलिक बेर कुरा गरेपछि जुल्फे हामीसँग डराउन छाडे । उनले अघि हामीसँग डराउनुको कारण यसरी खोले :
‘अघि तपाईंहरू आउँदा हिजोका सेना आए कि भनेर डर लाग्यो । बेली (हिजो) सेनाले मान्छे मारेर गयो ।’

पछिल्लो वाक्य भन्दा जुल्फेले साउती गरे, पूरै बोली निकालेनन् ।

‘कतिजना मार्‍यो ?’

‘पिर्याकोटको लम्बु एक जना । माथि सात जना ।’

‘नाम थाहा छ ?’

‘पिर्याकोटका लम्बुको त नाम राखेको छ । पदमबहादुर शाही । माथिकाको थाहा छैन ।’

पदमको घर मूलबाटैमा थियो । हामी सजिलै उनको घर पुग्न सक्थ्यौं । तर हामीलाई लाग्यो- यस्तो अवस्थामा नचिनेका मानिसकहाँ कसरी जानु ? के भन्नु ? के गर्नु ?

हामीले पहिले चाँपारुख जाने निधो गर्‍यौं । त्यहाँका चिया पसले डबलबहादुर कडायतलाई भेट्न । अस्तिका दिन साँझ हामीले उनीकहाँ चिया खाएका थियौं । हामी पत्रकार हौं भन्ने कुरा उनले त्यतिबेलै थाहा पाएका थिए । हामीलाई उनले पदमबहादुरको घरमा लगेर चिनजान गराइदिन्छन् कि भन्ने आस लागेको थियो ।

मूलबाटो गएको भए चाँपारुख पुग्नुभन्दा पहिले पदमको घर आउँथ्यो । त्यसैले, हामी अलि घुमाउरो बाटो भएर चाँपारुख पुग्यौं ।

छोटो पालीमुनिको, एउटा कुर्सी र एउटा टेबल भएको उनको पसलको चुलाको भित्ता पूरै कालो थियो । चुलाका दुईवटा मुखमा राखिएका डेक्ची र चियादानीमा तीनचार पत्र कालो जमेको थियो । हामी पुग्दा डबलबहादुर बल्न नमानेर धुवाँएका चुलाका दाउरालाई बाल्नका लागि फुक्दै, फकाउँदै थिए ।

उनले फुक्दा हावाले उडाएको खरानी उनको टाउकाभरि थियो ।

हामी पुगेपछि उनले आफ्नो काम छाडे । कुरा गर्लान् भनेको त हामीतिर हेरेर भक्कानिए पो !
हिजो बिहान माथिबाट झरेका सेना र पुलिसले डबलबहादुरलाई ‘पदमबहादुर शाही कहाँ छ ?’ भनी सोधेछन् । गाउँभरका को मानिस कहाँ छन् भनी उनले कसरी थाहा पाउनु ? ‘थाहा छैन’ भनेछन् । यस ‘अपराध’ मा उनीहरूले उनका मुखमा २/४ बुट हिर्काएछन् ।

बुटले आफ्ना ओठमा पारेको घाउ हामीलाई देखाएर उनले चित्त बुझाउने कोसिस गरे ।
उनको कुरा सुनिसकेर हामीले आˆनो समस्या उनलाई सुनायौं ।

‘जनक सर उतै जानुभएको छ,’ डबलबहादुरले भने, ‘उहाँले मद्दत गरिहाल्नुहुन्छ नि !’
आपतका वेला यति कुरा थाहा पाउँदा पनि आडभरोसा भएझैं लाग्यो ।

जनक शाहीसँग हाम्रो परिचय अस्तिको दिन साँझ यही पसलमा भएको थियो । हाम्रो परिचय कसरी भएको थियो भन्ने कुरा डबलबहादुरलाई राम्रोसँग थाहा थियो ।

थकाइ र भोक अलिअलि भए पनि मेटाउन हामी डबलबहादुरकहाँ चिया खान बसेका थियौं । हामी चार जना मेच र मुढामा बसेका थियौं । आफ्ना झोला अगाडि राखेर । हाम्रा सामान बोक्ने दुईजना मानिस पर्खालमा भारी अडयाएर बसेका थिए ।

अलि परबाट एकजना मानिस हामी भएतिर आयो । अलि वर आएर रोकियो । अगाडि आउने कि पछाडि र्फकने दोधारमा भएझैं गरेर । हिम्मत गरेर केही कदम अघि आयो । फेरि रोकियो । पहिलेकै झैं गरेर ।

हामी बास बस्ने वेला त भइसक्न लागेको थियो । तर बास बस्ने ठाउँ आइपुगेको थिएन । हामीलाई लाग्यो- अब यस माओवादीले हामीलाई सोधपुछ गरेर र हाम्रा सामान खोतलेर हैरान पार्ने भयो । बास बस्ने ठाउँ पुग्न ढिलो पार्ने भयो ।
त्यो मानिस फेरि केही कदम अघि आयो । यसपटक यति नजिक आइपुगेको थियो कि उसलाई र्फकंदा झन् खतरा छ भन्ने लागेछ । सरासर अघि आयो र चुलाछेउको पर्खालमा अडेस लाग्यो ।

‘सरहरू के कामले हो कुन्नि ?’ उसले सोध्यो ।

मैले जसरी पनि डटेर उसको मुकाबिला गर्नुपर्ने भयो । भनिदिएँ, ‘हामी यसै घुम्दै हिँडेका ।’

मान्छे ‘यसै घुम्दै हिँड्ने’ वेला थिएन त्यो । त्यसैले, उसले पत्याएन ।

‘झोला र चालढाल हेर्दा त त्यस्तो लाग्दैन,’ उसले भनिहाल्यो ।

त्यसपछि मैले आफ्नो परिचय दिएँ, गन्तव्य र उद्देश्य बताएँ ।

‘म जनक शाही । यही स्कुलमा पढाउँछु’ भनेर उनले एक डिल मास्तिरको हाई स्कुलतिर देखाए । हामीसँग हात मिलाउन आए । ‘के गर्ने सर ? नयाँ मान्छेसँग नडराउँदा मरिएला भन्ने डर । डराउँदा यस्तो लाजमर्दाे हुने !’

उनले त उनको मनको कुरा भनेका थिए । तर त्यो हाम्रो पनि मनको कुरा थियो ।

चिया खाइन्जेल उनले स्कुलका शिक्षक र विद्यार्थीले दुवैतिरबाट पाएको दुःख सुनाएका थिए । उनलाई अरू धेरै कुरा हामीलाई सुनाउन मन थियो तर रात पर्न लागेकाले हामीलाई बिदा दिएका थिए ।

त्यसको ३८ घन्टाजति पछि उनी हाम्रा लागि ठूलो सहारा बनेका थिए । उनैको भरोसा गरेर हामी पदमको घरतिर लाग्यौं ।

फाइनप्रिन्टबाट प्रकाशित मान्ठा डराएको जुगबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment