
इच्छाशक्तिसँगै दगुरे मेरा पाइलाहरू । पाइलाहरू पुगे कञ्चनजङ्घा बेसक्याम्पसम्म । र, पुगे मेरा नयनहरू कञ्चनजङ्घाभन्दा पर क्षितिजले बोकेको आकाशसम्म ।
आफ्नो यति ठूलो गौरवलाई नजिकबाट नियाल्ने र महसुस गर्ने रहर कुन नेपालीमा नहोला र ! जीवनमा एकपटक मात्र भए पनि कञ्चनजङ्घाकै अगाडि उभिने बर्षौं देखिको रहर थियोे, मेरो । साँच्चै भनुँ भने कञ्चनजङ्घाले तानिरहेको थियो मलाई । तानेरै कञ्चनजङ्घाले मलाई बेस क्याम्पसम्म पुर्यायो । मसँग थिए– राम मोक्तान र लाल तामाङ ।
कञ्चनजङ्घाको अर्थ शब्दकोषमा खोजेँ, तर पाइनँ । यद्यपि, स्थानीयहरूका आ–आफ्नै अर्थहरू छन् । कसै–कसैले कञ्चनजङ्घालाई सुनचाँदी, मणि, अन्न र पवित्र ग्रन्थको अर्थ लगाएका छन् भने किरात भाषामा यसलाई सेवालुङ्मा अर्थात पवित्रताको प्रतीक भनिएको छ । अर्थ जेसुकै भए पनि कञ्चनजङ्घा नेपालको दोश्रो र संसारको तेश्रो अग्लो हिमाल हो । सगरमाथाको उचाइ पत्ता लाग्नु अघिसम्म कञ्चनजङ्घालाई नेपालको सर्बोच्च हिमाल मानिन्थ्यो ।
यात्रा प्रारम्भ भयो, १० वैशाख २०६९ मा, काठमाडौँबाट भद्रपुरसम्म नेपाल वायु सेवा निगमको जहाजबाट । भापाको भद्रपुरबाट बिर्तामोड पुगेर टाटा सुमो चढेर २८० किलोमिटर उत्तरको ताप्लेजुङ बजार पुग्यौँ । पहाडको साँघुरो र घुमाउरो सडकमा गुड्दागुड्दै साँझको छ बज्यो ताप्लेजुङ पुग्दा । थाकेर ज्यान ओइलाएको सागजस्तै बनेको थियो । भोलिपल्टै पदयात्रा सुरू गरिहाल्न नसकिने त होइन ! आफैप्रति भरोसा थिएन ।
ताप्लेजुङमा चिसो सिरेटोले स्वागत गरिरहेको थियो । होटलको कोठामा झोला थन्क्याउने बित्तिकै हामी डाइनिङतिर छिर्यौं।
ताप्लेजुङको कालो बङ्गुरको मासु र तोङ्बाको बयान खुबै सुनेको थिएँ । त्यसबारे होटलको साहुनीसित सोध्दा पकाएर ठिक्क पारेको मासुको भाँडाको ढकनी खोलेर देखाउँदै उनले भनिन्, “मासु र तोङ्बाले तपाइँहरूलाई नै पर्खिरहेका छन् !”
१८२० मिटर उचाइको चिसोलाई काबु पार्न र थाकेको शरीरमा पुनर्ताजगी ल्याउन तोङ्बाको चुस्कीभन्दा उत्तम कायदा अरू के हुन सक्थ्यो र ! रामले अर्डर गरिहाले ।
साहुनीले एक थर्मस तातो पानी सहित सबै चिज फटाफट टेबलमा राखिदिईन् । तिनैजनाले तीनपटकसम्म थर्मसको पानी थपेर तोङ्बा तान्यौँ । साँझ रमाइलो बनान्यो, चाहेजस्तै गरी । तोङ्बाले सन्जीवनी बुटीकै काम गर्यो । हामी काठमाडौँबाट हिड्दाको जस्तै जोश, जाँगर र उमङ्गले भरियौँ ।
भोलिपल्ट मिर्मिरसँगै चराहरूको चिर्बिराहटले निद्रा खुलायो । विस्तारै घामले पनि आँखा खोल्दै गयो । झ्यालको खापाबाट छिरेका प्रारम्भिक किरणहरुले हामीलाई चङ्गा बनाए ।
ताप्लेजुङको प्रत्येक शुक्रबार पसल बन्द हँदो रहेछ । यताउति गर्दै निकैबेर नियाँलेर हेर्यौं। तल हेर्दा साँघुरो उपत्यकाबिच तमोर नदी बगेको देखिन्थ्यो ।
आज छिरूवा छिचोल्नुपर्छ । यात्राको लम्बाइ लामै थियो । गन्तब्यका लागि पाइला उठायौँ हामीले । हरिया डाँडामा जोशका साथ पाइला सारिरहेका थियौँ हामी चञ्चल हावामा चराचुरूङ्गीका ध्वनीे श्रवण गर्दै । मनलाई चराजस्तै उडाएर देखाएँ मैले अरू धेरै दृश्यहरू ।
कञ्चनजङ्घा त अझै धेरै टाढा छ । आधार शिविर पुग्न यस्ता दृष्यहरु हेर्दै अझ धेरै घना जङ्गल र भीमकाय पहाडहरू पार गर्नुपर्छ । र, त्यो विकट ठाउँ पुगेर मैले लेख्नु थियो एउटा रोचक यात्रा वृतान्त ।

रामताङ नपुगी कञ्चनजङ्घाको दर्शन पाउन सकिँदैनथ्यो । कतिखेर रामताङ पुगौँला र आँखालाई कञ्चनजङ्घासम्म ठोकाउँँला भन्ने थियो । साँच्चै भनुँ भने कञ्चनजङ्घाबाहेक अरू कुनै कुरा थिएन, मेरो मनमस्तिष्कमा । सुनेको कञ्चनजङ्घाको प्रतिबिम्ब मात्र आइरहन्थ्यो आँखा अगाडि ।
हरेक विहान सूर्योदयसँगै उठ्नु । हतार–हतार हातमुख धोएर खाजा खानेबित्तिकै अर्को गन्तव्यका लागि बाटो तताउनु हाम्रो दैनिकी बनेको थियो ।
तमोर किनार हुँदै छरुवाबाट सेकाथुम (१,६४० मिटर) तर्फ लाग्दा बाटोमा पाइलैपिच्छे ऐंसेलु र काफल भेट्यौँ । सुकेको आँतलाई रसिला काफल र ऐंसेलुले भिजाउँदै हिँड्नुको मज्जा अर्कै थियो । एकातिर वनस्पतिहरूको बास्ना, अर्कोतिर जिब्रालाई कन्दमुलको स्वाद । सोचेभन्दा छिट्टै सेकाथुम पुग्यौँ र ज्यानलाई न्याय दियौँ । सेकाथुमलाई जापानटार पनि भनिँदो रहेछ ।
सेकाथुमपछिका बाटा जति उकालो लाग्थ्यो, त्यति नै यात्रा कठिन हुन्थ्यो । त्यो दिन आम्जीलासा (२,५१० मि.) मा पुग्ने हाम्रो लक्ष्य पूराहुन सकेन, थाङ्यानी (२,४०५ मिटर) को सानो चिया दोकानमा बास बसियो । पाङ्पेबाट फर्केका भारतीय टोली पनि त्यहीँ बस्न आइपुगे ।
थाङ्यानी पुग्दा हाम्रो शरीरबाट निकै पसिना बगिसकेको थियो । थकाइ त थियो नै वजन पनि घटिसकेको थियो । सुत्नका लागि कोठा राम्रो नभएकोले अघिल्लो रातजस्तै पालमा सुत्यौ । थकाइले हरेक रातको निद्रा यति मीठो बनाएको कि हामी बेलुकी सुतेपछि एकैचोटी बिहान ब्युँझन्थ्यौँ ।
यात्राको सातौँ बिहान सूर्योदयअघि नै उठेर घुन्सा (३,६०० मिटर)तर्फ लाग्यौँ । घ्याप्लादेखि घुन्सासम्म रङ्गीबिरङ्गी गुराँसमा रङगिएका थियौँ, हामी । चराहरूका आवाजले मन्त्रमुग्ध बनाइरहेको थियो, हामीलाई ।
हतारोमा बगिरहेको घुन्सा खोलाले हाम्रो स्वागत गरिरहेझैँ लाग्थ्यो, गड्केरै । रेडपान्डाको त्यो संसारमा एउटै रेडपान्डा नदेख्दा भने नमजा भइरहेको थियो । हाम्रा लागि त्यो दुर्भाग्य नै थियो । कहाँ गएछन् रेडपान्डाहरू आज ? हाम्रो स्वागतमा तिनीहरूको पनि उपस्थिति भइदिएको भए कति रमाइलो हुन्थ्यो । स्वभावैले लज्जालु ती बनेलुहरू हाम्रै लाजले कुनै कुनाका बसेर हामीलाई नै हेरिरहेका त छैनन् ?
सोच्दासोच्दै फलेगाउँ (३,१४० मीटर) पुगिएछ । गुराँसे पहाडहरूले घेरिएको फलेगाउँ एउटा सुन्दर उपत्यकाझैँ लाग्थ्यो । बस्ती छेउको गहनाझैँ लाग्ने ६० बर्ष पुरानो गुम्बा । पारि पाखामा एकोहोरिएर झरिरहेको सुन्दर झरना । ती सुन्दर दृश्यहरूमा आँखाहरु डुलिरहे झिमिक्कै नगरी !
चांैरी र तिनका बाच्छा–बाच्छीसित रमाइरहेका तिब्बती मूलका अबोध बालबालिकाले फलेगाउँको शौन्दर्य वृद्वि गरिरहेका छन्, जगतकै सम्पूर्ण खुशी आफूमा बटुलेर । लाग्छ, यो स्वर्गभित्रको एउटा छुट्टै स्वर्ग हो ।
मानव बस्ती छ, धर्म छ, संस्कृति छ, संस्कार छ । छैन त केवल राज्यको उपस्थिति । र पनि छैन, गाउँलेहरूमा कुनै गुनासो ।
घुन्साभन्दा अगाडि स्मारक आइपुग्यो । सन् २००६ को हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मारकमा केहीबेर घोत्लिन बाध्य भएँ ।
कञ्चनजङ्घा संरक्षण आयोजनासम्बन्धी कार्यक्रम सकेर काठमाडौँका लागि उडेको हेलीकप्टर केहीबेरमै नजिकैको डाँडामा ठोक्किँदा सबै यात्रु दिवंगत भएका थिए । हेलिकप्टरमा डा. हर्क गुरुङ लगायत एक से एक मूर्धन्य व्यक्तित्वहरु थिए । श्रद्घान्जली अर्पण गरेर हामी अगाडि बढ्यौं ।
नलग्नुपर्ने मान्छेहरुलाई लगिदियो निर्दयी कालले । घुन्सा (३५९५ मि) नपुगुन्जेल भुट्भुट्टिरहेँ म ।
ताप्लेजुङको माथिल्लो भाग शेर्पा बहुल रहेछ । शेर्पा बस्ती घुन्सामा बिजुली र टेलीफोन सुविधा रहेछ । अनुभवी होटल ब्यवसायीहरू पाहुनाको स्वागत गर्न जानेका । थकाइलाई त उनीहरूको आत्मिय व्यवहारले नै मार्यो !
बिहान घुन्साबाट चारहजार १०० मिटर उचाइको खाम्बोचेनतर्फको यात्रा सुरु भयो । रमणीय बाटोलाई ठाउँठाउँमा पहिरोले अप्ठ्यारो बनाएको रहेछ । घुन्सा र खाम्बोचेनको कहिँ पनि खाने, बस्ने सुबिधा थिएन । हामीले रामपरकखर्कमा बिस्कुट र चाउचाउले दिउँसोको गर्जो टार्यौं।
अब ठाडो उकालो सुरु भयो । लाग्न थाल्यो– जीन्दगीको खाता यतै बन्द त हुँदैन ? माथिबाट ढुङ्गाहरू झरिरहने भएकोले गलेँ भनेर एक ठाउँमा उभिरहन पनि नमिल्ने । जोखिम मोलेरै हामी अगाडि बढी रह्यौँ अनि ठूलो झरना र सातहजार ७११ मिटर अग्लो कुम्भकर्ण हिमालले जिस्काउने ठाउँमा पुग्यौं ।
यहीँ डराउँदै र त्यही पुलकीत हुँदै खाम्बोचेन पुग्यौँ, हामी । हिँड्दैगर्दा छहजार मिटरभन्दा माथिका अनगिन्ती हिमालहरू आँखा अगाडि आए । आफैँमा सुन्दर खाम्बोचेनबाट जता हेर्यो, त्यतै स्वर्ग देखिन्थ्यो ।
त्यो ठाउँलाई न आधुनिकताले छोएको छ न राजनीतिले । न कुनै जुलुस/नारा न त बन्द/हडताल । त्यो हिमाली बस्तीमा छन् त केवल घाँसे चौरमा चरिरहेका चौंरी, भेँडाका बथान र तीनका रखवालाहरू । लाग्छ, ती सबै खुशीका राजकुमारहरु हुन्, जसलाई कुनै रोग लाग्दैन । उनीहरूमा न लोभ छ न त कुनै कुराको लालच । न कुनै विकृति छ न त विसङ्गति नै । सब छन् कञ्चनजङ्घा हिमालजस्तै निर्मल र निश्छल ।
लोहनाक पुग्न अझै ७०० मिटर चढ्नुपथ्र्यो । उचाइका कारण हुन सक्ने खतरालाई ध्यानमा राखेर पनि हामी खाम्बोचेनमै बस्यौं ।
ठाउँठाउँमा ढुङ्गा खस्ने भएकाले लोहनाकको बाटो पनि खतरापूर्ण रहेछ । खस्ने ढुंगाबाट जोगिन पहिरोेका कुनाकुनामा बसिरहेका भेडाहरू मान्छे नजिक पुग्दा भाग्थे ।
ठाउँठाउँमा ढुङ्गा खसिरहेको भेटिन्थ्यो । त्यो नरोकिएसम्म पर्खिरहनुपथ्र्यो । त्यो कठिन उकालोको सुरक्षित ठाउँमा पुगेर हामी फेरि प्राकृतिक सौन्दर्यमा रमाउँन थाल्थ्यौं ।
लोहनाकबाट हिँडेको दुई घण्टामा रामताङ पुगियो, जहाँबाट कञ्चनजङ्घा हिमालय सृङ्खलाका अनगिन्ती हिमाल देखिन्छन् । हामी पुग्दा दृश्यावलोकनमा कुनै बादलु बाधा थिएन । हिमालहरू एकनास उभिएका थिए । त्यो प्राकृतिक सौन्दर्यको वयान शब्दमा गर्नै सकिनँ म । हामीले केवल हेरिरह्यौँ, हेरिरह्यौँ । हेर्दाहेर्दै लठ्ठियौँ तर मन तृप्त हुन सकिएन ।
थुप्रै हिमनदी पनि देखिए, हिमपहिरोहरु पनि गोचर भए । लोनाक पुगेको दिन चाही मौसमले तुजुक देखायो । मेघ गज्र्यो, सिरेटो चल्यो अनि हिमपात भयो । ज्यानमा जाडो बढेको तिव्र अनुभव गर्दै सोचँे– यहाँका हिउँ चितुवाहरू यतिखेर कुन दुलोमा होलान् ।
सहयात्री लालले भने त्यो मौसममा ताप्लेजुङको तोङ्बा र कालो बङ्गुरको भुटुवा सम्झे ।
“अब तातो पानी माग्ने अनि त्यसैलाई तोङ्बा सम्झेर तान्ने ।”
रामले उपाय निकाले । हामीले तातो पानी मागेर धित मरुञ्जेल खायौं । काम पनि गर्यो तातो पानीले ।
यात्रा तालिका अनुसार भोलि बिहान पाङ्पेमा अर्थात कञ्चनजङ्घा आधार शिविरतिर लाग्नुपर्ने थियो । मौसम नबिग्री जाओेस् ! यही कामना गर्दै सुतियो ।
तर, बिहान पाँच बजेसम्म मौसममा सुधार आउने छाँट थिएन । धन्न, खाजा खाउन्जेल सम्ममा लक्षण राम्रो हुँदै आयो । मौसम न हो, कतिखेर बिग्रने र कतिखेर सप्रने कसलाई थाहा हुन्छ र !
“मौसमले साथ दिने भयो । अब आकाश खुल्छ । जान–आउन ७–८ घण्टा लाग्ने भएकाले अबेर नगरौँ”, रामले तातो लगाए ।
नभन्दैै, आकाश खुल्दै गयो, बाटो अप्ठ्यारो भए पनि हेरिरहुँ लाग्ने परिदृष्यहरु फैलिँदै गए । तर, बाटो वास्तवमै कठिन थियो– चारहजार ५०० मिटर माथिको उकालो । हामी लामो लामो श्वास तान्दै, उकालिँदै स थाक्दै थियौँ । लाल सबभन्दा अगाडि पुगेर हामीलाई पर्खिरहेका हुन्थे । कतिपय हिमाल आरोहण समेत गरिसकेका टे«कर लालको गतिमा हिँड्न हामी कहाँ सक्नु र ! म त उकालोमा आफ्नो सामथ्र्यको अग्निपरीक्षा दिँदै थिएँ ।
जसोतसो पाँचहजार मिटरको पाङ्पेमा अर्थात् बेस क्याम्प पुग्दा कञ्चनजङ्घाको शीरमा बादल नाचिरहेको थियो । जब हावाले बादलको भुल्कालाई माथि उचाल्यो, स्वागतमा कञ्चनजङ्घाले झुकेर अभिवादन गर्यो हामीलाई । यात्राको सबभन्दा खुशीको तत् क्षणमा कञ्चनजङ्घा हिमाल हातले छोइएला कि भनेजस्तो दूरीमा ऊ त्यही उभिएको थियो । वरिपरिका सम्पूर्ण हिम शृङ्खलाहरू हाँसिरहेका थिए ।
हेर्दाहेर्दै घामको किरणले कञ्चनजङ्घालाई लाल बनायो । हामी त्यति नै खुशी भयौं, जति जो ब्राउन र जर्ज ब्रान्ड सन् १९५५ मा पहिलो पटक कञ्चनजङ्घाकोे सफल आरोहण गर्दा भएका थिए ।
मैले खुब नियालेर हेरेँ, कञ्चनजङ्घालाई । र, फेरि पनि कञ्चनजङ्घाको अर्थ खोज्ने प्रयत्न गरेँ । वास्तवमा कञ्चनजङ्घा त एउटा नियति रहेछ । प्रकृतिसित उसले गरेको सम्झौता र स्वीकारोक्तिले शरीरभरि हिउँतन्ना ओढेर हाँसिरहेको एउटा यथार्थ रहेछ । विवशता रहेछ ।
प्रतिक्रिया 4