Comments Add Comment

मंगलबारको भूकम्पबाट ११० को मृत्यु, ४७ वेपत्ता

३१ वैशाख, काठमाडौं । गत मंगलबारको भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या ११० पुगेको छ । योसँगै वैशाख १२ र २९ गते आएका भूकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या ८ हजार १९९ पुगेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

 

यस्तै १७ हजार ८६७ जना घाइते भएका छन् । मंगलबारको भूकम्पमा मात्रै २ हजार ६०९ जना घाइते भएको प्रहरीको तथ्यांक छ । यो विवरण प्रहरीले उपलब्ध गराएको विहीबार दिउँसो ३ बजेसम्मको हो ।

मंगलबारको भूकम्पबाट काठमाडौं उपत्यकामा मात्रै ११ जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९२ र पश्चिम क्षेत्रमा ३ जनाको मृत्यु भएको छ । मृतक ५८ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ ।

घाइते हुनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ५८५, पूर्व क्षेत्रमा ११६, मध्य क्षेत्रमा ७९२, पश्चिम क्षेत्रमा १०५ र मध्य पश्चिम क्षेत्रमा ११ जना छन् । घाइतेमध्ये १ हजार ७०० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

मंगलबारको भूकम्पमा परी ४७ जना वेपत्ता छन् । १ हजार ८५५ पूर्णरुपमा र १ हजार ५४ आंशिकरुपमा गरी जम्मा २ हजार ९०९ भौतिक संरचनामा क्षति पुगेको छ ।

१२ वैशाखको भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं उपत्यकामा १ हजार ७०३, पूर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ६ हजार २२, पश्चिम क्षेत्रमा ४१९ र मध्यपश्चिम क्षेत्रमा २ जना छन् । काठमाडौं उपत्यकामा १० हजार ७७० जना घाइते भएका छन् । पूर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५ हजार ५५०, पश्चिम क्षेत्रमा १ हजार १९८, मध्यपश्चिम क्षेत्रमा २२ र सुदूरपश्चिम क्षेत्रमा २ जना घाइते भएका छन् ।

३७४ जना वेपत्ता

२५२ जना नेपाली नागरिक र ११२ जना विदेशी नागरिक बेपत्ता छन् ।

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ७ सय ३४ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment