Comments Add Comment

भूकम्पको पीडाले ज्यान गुमाउनेले राहत पाएनन्

३ जेठ, काठमाडाैं । १३ वर्षीया बालिका खुश्बु लामिछानेले आफ्नी मृत आमालाई दागबत्ती दिँदै गर्दा शुक्रबार पशुपति आर्यघाट पुगेका आफन्त तथा मलामीहरु शब्द बिहीन बनेर टोलाइ रहेका थिए । सानै उमेरमा बुबा गुमाएकी खुश्बुले यति सानै उमेरमा मातृ शोक पनि व्यहोर्नु पर्छ भन्ने सोचेकी पनि थिइनन् ।
Pasupati
तर, ४० वर्षीया आमा गीताले पनि साथ छोडेपछि गोठाटार निवासी यी बालिकाले हिन्दु संस्कार अनुसार आमालाई दागबत्ती दिन आफै अघि सरिन् । मृतकका छोरा नभए आफन्त तथा नजिकका पुरुष व्यक्तिबाट दागबत्ती दिने चलनलाई पन्छाएर १३ वर्षीया बालिका खुश्बुले छोराको भूमिका निर्वाह गर्ने आँट गरिन् । यो दृष्यले सबैलाई भावविवल पनि बनायो ।

वैशाख १२ गते आएको विनाशाकारी भूकम्पले खुल्ला आकाशमुनिको बासमा पुर्‍याएपछि खुश्बुकी आमा गीता बिरामी परेकी थिइन् । हुन त भूकम्पका कारण घर तथा कुनै संरचना भत्किएर मृत्यु भएको भए उनी पनि भूकम्प पीडितको सूचीमा पर्ने थिइन् । तर, त्यसो नभइ खुल्ला आकाशमुनीको बास बस्ने क्रममा चिसोको समस्याले बिरामी परेपछि मृत्युवरण गरेकी गीता भूकम्प पीडितको सूचीमा परिनन् ।

भूकम्पका कारण मृत्यु भएकाको दाहसंस्कारमा सरकारले आर्यघाटमा दाउरा तथा त्यहाँ लाग्ने खर्च निःशुल्क गरेको छ । तर, गीताको मृत्यु भूकम्प पीडितको सूचीमा नपरेपछि १३ वर्षीया बालिका खुश्बु आमालाई दागबत्ती दिन तयार भएपनि दाससंस्कारका लागि लाग्ने विभिन्न खर्चका लागि आफन्तको सहयोगको आशमा थिइन् ।

यी अबोध बालिकाले नारीले पनि आफ्ना बाबुआमाको काजक्रिया गर्न सक्छन् भन्ने आँट देखाइरहँदा दाहसंस्कारका लागि लाग्ने रकमको सहयोग गर्ने हात पनि जुटिहाल्यो ।

यस्तै, अर्को दृश्यमा, नेपाली सेनाका एक जवान मृत्यु भएकी आफ्नी आमाको दाहसंस्कारका लागि खर्च अभावमा छटपटाइ रहेका थिए ।

वैशाख १२ गतेको भूकम्पपछि बिरामी परेकी ७० वर्षीया आमालाई सेनाका जवान सूर्यबहादुर विकले प्युठानबाट एम्बुलेन्समार्फत काठमाडौं ल्याएका थिए । परिवार पनि नभनी भूकम्प पीडितको उद्धार तथा राहतमा सूर्यबहादुर अहोरात्र खटिरहेका छन् । यहीबेला उनकी आमाको उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा मृत्यु भयो । आमालाई काठमाडौं ल्याउनै ठूलो रकम खर्च गरेका उनले आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आफन्तको सहयोग कुर्नु परेको थियो । तर, उनले पनि दाहसंस्कारका लागि सहयोगी हात भेटिहाले ।

त्यो सहयोगी हात थियो, चलचित्र निर्देशक हिमग्याब लामाको । भूकम्प गएको दिन बैशाख १२ गतेको भोलिपल्टबाट निर्देशक लामा हरेक दिन पशुपति आर्यघाट पुग्छन् । बौद्धधर्मी उनी हिन्दुहरुको दाहसंस्कार हुने स्थान पशुपति आर्यघाट दिनहुँ पुग्नुको एउटै कारण हो, भूकम्पबाट मृत्यु भएर ल्याइएका कतिपय वेवारिसे शव तथा दाहसंस्कारका लागि खर्च अभावमा शव दाह गर्न नसकिरहेकाहरुलाई सहयोग गर्नु । यही क्रममा खुश्बु लामिछाने र सेनाका जवान सूर्यबहादुरलाई निर्देशक लामाले भेटेका हुन् । लामाले बैशाख १३ गते यता हालसम्म ७० वटा शवको दाहसंस्कारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् ।

धेरै संघसंस्था तथा व्यक्तिले भूकम्प पीडितलाई लक्षित गरी राहत र सहयोग तर्फ ध्यान केन्द्रित गरिरहेको अवस्थामा लामाले भने खर्च अभावमा दाहसंस्कार गर्न नसकेका पीडितहरुलाई सहयोग गर्नु पनि मानवीय धर्म हुने ठानेको र अहिले पनि सो कार्यलाई निरन्तरता दिइरहेको बताए । कसैको ध्यान नपुगेको क्षेत्रमा आफुले गरेको सहयोगलाई सबैले सरहाना गर्ने गरेको उल्लेख गर्दै निर्देशक लामाले यो परोकारी कार्यलाई दीर्घकालिन बनाउन थप व्यवस्थित गरेर लैजाने सोच बनाएको बताए । ‘कसैको ध्यान नगएको क्षेत्र रहेछ, लामाले भने- ‘त्यसमा पनि धेरै मानिसले सामान्य रुपमा लिएको तर बुझ्दै जाँदा धेरै मानवियताको गहिराइ भेटिने स्थान रहेछ आर्यघाट ।’

‘भूकम्प गएको दिन ६/७ तलामाथि रहेको अवस्थामा सकुशल बाच्न पाउँदा सबै भन्दा ठूलो खुशी लागेको थियो’ उनले भने- ‘तर अहिले त्यो भन्दा पनि आर्यघाटमा दिनहुँ आएर शव दाहमा सहयोग गर्न पाउँदा लागिरहेको छ ।’

निर्देशक लामाको यो परोकारी कार्यमा नायिका रेखा थापाले पनि साथ दिइरहेकी छिन् । निर्देशक लामा र नायिका थापाको टोलीमा नृत्य निर्देशक कमल खालिङ पनि आबद्ध छन् ।

सरकारले भूकम्प पीडितको हकमा दाहसंस्कारका लागि लाग्ने दाउरा निःशुल्क उपलब्ध गराएपनि शव जलाउनलाई आवश्यक पर्ने पराल, घ्यु तथा हिन्दु संस्कार अनुसार आवश्यक केही सामग्री खरिदका लागि भने आफैले खर्च व्यहोर्नु पर्ने हुन्छ । त्यसका लागि पनि कम्तिमा १८ सयदेखि ३५ सय खर्च लाग्ने आर्यघाटस्थित सुलभ पसलका सञ्चालक बताउँछन् ।

हरेक दिन दाहसंस्कारका लागि पशुपति आर्यघाटमा भिड हुन्छ । त्यसमा पनि वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि भने आर्यघाटमा शव दाहको संख्या बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment