Comments Add Comment

पशुपतिमा सुनको जलहरि : समृद्धि देखाउन आस्था र परम्पराको उल्लंघन

१८ माघ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको मुल जिम्मेवारी पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृति वस्तु र स्थलहरुको संरक्षण र सम्बर्द्धन गर्नु हो । तर, कोषकै जोडबलमा यसअघि नै विवादित बनेको मूल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निणर्य गरेको छ ।

कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने प्रस्ताव २०७० सालमै गरिएको थियो । डा. टण्डन सदस्य सचिव भएकै समयमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासमक्ष समेत सुनको जलहरि बनाउने प्रस्ताव लगिएको थियो । तर स्थानीयले विरोध गरेपछि सरकार पछि हट्यो ।

त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यो प्रस्ताव पुर्‍याइएको थियो । पहिले नै विरोध भएको भन्दै राष्ट्रपति कार्यालयले समेत यसमा प्रक्रिया अघि बढाएन । तर अघिल्लो सोमबार पशुपति पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउन प्रक्रिया अघि बढाउन सहमति मात्र दिएनन्, केन्द्र सरकारले सहयोग गर्ने बचन समेत दिएका छन् ।

लगत्तै पशुपति क्षेत्र विकास कोषको बैठक बसेर पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निणर्य लिइएको छ । कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ । बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

तर कोषको यो निणर्यको आलोचना भएको छ । विरोध गर्नेहरुमध्ये कतिपयले पशुपति क्षेत्रमा रहेका दर्जनौं मन्दिर एवं सत्तलहरू अलपत्र छाडेर समृद्धि देखाउन सुनको जलहरि बनाएको बताएका छन् भने कतिपयले आम विश्वास विपरीत भएको बताएका छन् ।

प्रतिमा लक्षणको विधानमा स्पष्ट नलेखिएपनि लौकिक जीवनमा सुनलाई लक्ष्मीको प्रतीक मानिन्छ । त्यसैले सुनका गहनाहरू शैव मन्दिरमा चढाउने प्रचलन परम्परागत रुपमा पाइँदैन । अझ पशुपतिनाथ मन्दिरमा तसुन चढाए पनि वस्त्र र शिवलिंगमा अहिलेसम्म सुन लेपन गरिएको इतिहास नभेटिएको इतिहासविद्हरू बताउँछन् ।

वैष्णव एवं शैव सम्प्रदायबारे राम्रो दखल राख्ने पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव टण्डन भने पशुपतिको मूल शिवलिंगको जलहरि सुनको राख्ने विषयमा विरोध गर्नुको कुनै औचित्य नरहेको बताउँछन् ।

मन्दिरको शोभाका लागि राज्यको क्षमताले धान्छ भने सुनको जलहरि राख्नु झनै गर्वको विषय हुने उनले बताए । सामान्यतया सुनलाई वैष्णव देवताको मूर्तिमा मात्रै राख्ने चलन छ नि ? भन्ने प्रश्नमा डा. टण्डन भन्छन्, ‘यदि वैष्णव मन्दिरमा चढाएको कुरा शैव मन्दिरमा चढाउन नहुने हो भने पशुपति मन्दिरको स्नानको बेला प्रयोग भएको जल तुलसीको पात र शालिकग्राम मिसिएको छैन भने पिउनै हुन्न भन्ने मान्यता छ, यसलाई कसरी लिने ?’

शिव र विष्णु एकै हुन् भन्ने देखाउनको लागि नेपालमा नै पहिलोपटक हरिहर सम्प्रदायको विकास भएको भन्दै उनले पशुपतिमा सुनको जलहरि राख्ने कामको बचाउ गरे ।

भेटिँदैन सुनको जलहरीको इतिहास

पशुपति मन्दिरप्रतिको उच्च भक्तिभाव लिच्छविकालदेखि मध्यकालहुँदै आजसम्मका शासकले समेत गर्ने गरेका छन् । लिच्छविकालका विभिन्न वंशावली एवं अभिलेखहरूमा पनि यस मन्दिरको उच्च प्रशंसा भेट्न सकिन्छ । सुनको पातामा अभिलेख लेख्नेदेखि तिब्बतमा चल्ने सिक्का छापेर पठाउनेसम्मको समृद्ध इतिहास हामीले विभिन्न स्रोतबाट देख्न सक्छौं ।

तर अहिलेसम्मका कुनै पनि ऐतिहासिक स्रोतले पशुपति मन्दिरमा सुनको जलहरि वा सुनको शिवलिंग राखेको विषय उल्लेख नगरेको बताउँछिन् नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा अध्यापनरत डा. सन्ध्या पराजुली ।

धेरै सम्पन्नशाली शासकहरुले सुन चढाएको इतिहास छ तर पशुपतिको वस्त्र आभूषण बनाउने र शिवलिंग नै सुनको बनाएको इतिहास भने नभएको उनी बताउँछिन् । नेपालमा मात्रै नभएर ठूलाठूला भारतीय शिव मन्दिरमा पनि सुन नभई चाँदीको नै प्रयोग भएकाले पनि नेपालमा आर्थिक हिसाबले नभएर विधानकै कारणले सुनको शिवलिंग नराखिएको हुन सक्ने उनी बताउँछिन् ।

पशुपति परिसरमा रहेको जयदेव द्वितीयले वि.सं.को आठौं शताब्दीमा पशुपति मन्दिरमा चाँदीको कमल चढाएको अभिलेखमा उल्लेख गरेका छन् । लिच्छविकालीन शक्तिशाली राजा अंशुवर्माले आफूलाई ‘पशुपति भट्टारक पादानुगृहित’ को उपाधि लिएका छन् । पशुपतिको नाममा कैयौं दान दिएपनि पशुपतिको शिवलिंगलाई सुनले लेपन गरेको पाइँदैन ।

मल्लकालमा जयसिंहरामबद्र्धन, जयस्थिति मल्ल जस्ता शासकले पनि पशुपतिमा स्वणर् लिंग वा जलहरी राखेको प्रमाण नपाइनुले पशुपतिमा सुनको जलहरि राख्नु उपयुक्त नभएको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

तर इतिहासमा अहिलेसम्म भएको प्रमाण नपाइएको सुनको जलहरि यसपालि भने पशुपति क्षेत्र विकास कोषले आफ्नो वार्षिकोत्सवसमेत रहेको अक्षय तृतीयासम्ममा परिवर्तन गर्नेगरी प्रक्रिया सुरु भएको डा. ढकालले जानकारी दिए । ‘करिब एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ’ उनले भने ‘६५ करोड कोषसँग छ र ३० करोड सरकारले दिने भएको छ ।’

सुनको जलहरि र जलप लगाएका बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ । कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको जनाइएको छ । कानुनी एवं धार्मिक विधि पुर्‍याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ ।

सोमबार पशुपति पुगेका प्रधानमन्त्रीको निर्देशनलगत्तै बुधबार कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरि र जलपसम्बन्धी निणर्य गरेको हो । कोषको संरक्षक प्रधानमन्त्री र सञ्चालक परिषद्को अध्यक्ष संस्कृतिमन्त्री रहने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment