
२२ माघ, पोखरा । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ महेन्द्रपुलमा कार्यकर्तासँग गफिँदै थिए । प्रधानमन्त्री ओली समूहका गण्डकी प्रदेश सचिव तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपाली साइकलमा महेन्द्रपुल चोक आइपुगे ।
आम हड्ताल सफल पार्न जम्मा भएका कार्यकर्ताको नजिकै साइकल रोकेर नेपालीले करणलाई बोलाए, ‘इन्चार्ज कमरेड के छ के खबर ?’ राजकाजी गुरुङ हात ठड्याउँदै आए र नेपालीसँग मुड्की जुधाउँदै भने, ‘कमरेड पनि ऐक्यवद्धता जनाउन आउनुभयो, ठीक भयो ।’ दुबै हाँसे ।
मुड्की जोडेर हात मिलाएको देखेपछि नजिकै कार्यकर्ताको कानेखुसी सुनियो, ‘पहिले कमरेडहरुले मुड्की कसेर हात ठाडो गर्दै अभिवाद गर्नुहुन्थ्यो, अहिले हात निहुरिँदै आयो र मुड्की जुध्न थाल्यो ।’
दुई नेताको कुराकानीले वरिपरि हाँसो गुञ्जियो ।
नेपालीले भने, ‘हामी एउटै पार्टीमै छौं नि कमरेड ।’ पार्टी एउटै भए पनि आफूहरु आन्दोलनमा उत्रनुपरेको करणले बताए । पृथ्वीचोकका कमरेडहरुलाई पनि भेटेर महेन्द्रपुल आएको नेपाली सुनाए ।
करणले शुक्रबार काठमाडौंमा हुन लागेको ओली समूहको प्रदर्शनतिर इंगित गर्दै सोधे, ‘कमरेड त नारायणहिटी दरबारअघि जाने होला, हामी त सडकमा छौं ।’
नेपालीले बिहीबार बेलुका नै काठमाडौं जाने बताउँदै अब नारायणहिटी दरबार होइन, संग्रहालय भएको बताए । संग्रहालय हुनुपहिले दरबारै रहेको र त्यसको विम्व अहिले पनि संग्रहालयजस्तो नभएको करणले हाँस्दै भने ।
अब दरबार जनताको भइसकेको नेपालीको तर्क थियो ।
करणले फेरि दरबार त बनाइँदैन होला नि भन्दै ब्यंग्य गरे ।
अनि, एक अर्कालाई शुभकामना गर्दै दुई नेता छुट्टिए ।
ओलीको कदम बेठीक होला, अनि हड्ताल ?
नेपाल बन्द गरेर फेरि जनतालाई दुःख दिने ? यो त अति भएन र हजुर ? महेन्द्रपुलमा बन्दकर्ताले स्कुटर रोकेपछि एकजना चालकले प्रश्न गरे । बन्दकर्ताले भने, ‘माफ गर्नुहोला, तपाईंहरु जस्ता जनताकै लागि आम हड्ताल नै गर्नुपर्यो ।’
स्कुटर चालकले आफू हस्पिटल जान लागेको बताए । बन्दकर्ताले भित्री बाटो गएर सहयोग गरिदिन आग्रह गरे ।
रानीपौवातिरबाट हुइँकिँदै अर्को मोटरसाइकल महेन्द्रपुल आइपुग्यो । बन्दकर्तालाई छलेर जान खोज्दै थिए, भीडले रोकिहाल्यो । ‘रोक्नुस्, रोक्नुस् । बन्द छ भन्ने थाहा छैन ? कहाँ जान लागेको ?,’ बन्दकर्ताले हप्काए ।
मोटरसाइकल चालक जंगिदै बोले, ‘जनतालाई किन दुःख दिन हुन्छ ? नेताको स्वार्थका लागि बन्द गरेर यो कस्तो विरोध हो ?’
बन्दकर्ताले चाबी खोस्ने प्रयत्न गर्दै भनें, ‘केपी ओलीले संविधान मिचेर संसद नै विघटन गरेको विरोध हो । अहिले संविधान बचाउन सकिएन भने भोलि दुःख पाउने तपाईंले पनि हो । त्यसैले चुपचाप र्फकनुस् ।’
मोटरसाइकल चालक ‘यस्तो राजनीतिले तपाईलाई पनि दुःख दिन्छ, आज मलाई तपाईंहरुले दुख दिनुभो’ भन्दै फर्किए ।
महेन्द्रपुल आइपुगेको एउटा स्कुटर बन्दकर्ताले चोकमै रोके ।
उनी अटेर गर्दागर्दै चोकमा आएपछि बन्दकर्ताले रोकेर पालिखे चोकतिर पैदल पठाइदिए । रिसले भुन्भुनिँदै पालिखे चोकतिर लागेका चालकले प्रहरीलाई बोलाएर ल्याए र स्कुटर लैजान खोजे । आक्रोशित हुँदै बन्दकर्ताले प्रहरी र ती स्कुटर चालकलाई रोक्न खोजे । चालकले स्कुटर रोक्न खोज्ने बन्दकर्तालाई हेलमेट के ताकेका थिए, भीड उनीमाथि जाइलागिहाल्यो ।
प्रहरी र केही कार्यकर्ताले रोक्दारोक्दै उनीमाथि मुक्का बर्सियो । कसैले पछाडिबाट मुड्की बजारे, कसैले घोक्रोमा हाने । प्रहरीले बल्लबल्ल उनलाई त्यहाँबाट निकालेर पठाए । बन्दकर्ताले रोकेपछि विशेष कामले तेर्सापट्टी जानैपर्ने भएकाले उनले सहयोग मागेको प्रहरीले बताएको थियो ।
बन्द, आम हड्तालले दिएको दुःख र त्यसप्रतिको आक्रोस यी दृश्यले देखाएका थिए । लामो समयपछि भएको बन्दमा असन्तुष्टि जनाउँदै यस्तो विरोधको शैली त्याग्न सर्वसाधरणले आग्रह नै गरे । लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नचले पनि चलेका निजी कार, मोटरसाइकल र स्कुटर चालकले भने आमअड्ताल भन्दा अर्को विरोधको तरिका खोज्न भनेका थिए ।
देशमा बन्द, हड्तालजस्ता गतिविधिबाट वाक्क भएका जनताले अब राजनीतिक दलबाट यस्तो अपेक्षा गरेका थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा प्रचण्ड माधव समूहले आहृवान गरेको आम हड्तालमा बिहीबार बन्दको कारणबारे धेरैले सोधे ।
नेकपा प्रचण्ड-माधव समूहको आम हड्ताल सफल पार्न महेन्द्रपुलको मोर्चा सम्हालेका थिए, केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजकाजी गुरुङ ‘करण’ले । चलेका गाडी तथा मोटरसाइकल रोक्दै उनले भनिरहेका थिए, ‘प्रधानमन्त्री केपी शर्माले संविधानमाथि नै ‘कू’ गरेपछि बाध्य भएर यो कदम चाल्नु परेको हो । तपाईंहरुले बाध्यता बुझेर सहयोग गरिदिनुहोला ।’
करणले थुप्रै पटक अभद्र व्यवहार नगर्न कार्यकर्तालाई सूचित गरिरहेका थिए ।
तपाईंका कुनै पनि नेता ठीक छैनन् !
यस्तै, दृश्य पृथ्वीचोकसहित मुख्य चोकहरुमा पनि देखियो ।
धेरैजसो साना सवारी साधनलाई फर्काइएको थियो र भित्री बाटो प्रयोग गर्न आग्रह गरिएको थियो । केही सवारी साधनले बन्दकर्तालाई छलेर हुइँकिँदा लाठीको झटारो खाए, कतै गाली र थर्काइसमेत सर्वसाधारणले खेपे ।
पृथ्वीचोकमा पूर्वसांसद तथा प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य सीता गिरी ओली, प्रदेश सांसद रामजी बराल, कास्की सचिव बखानसिंह तमु खटिएका थिए । कार्यकर्ताहरुसहित उनीहरु आफैं सवारी साधनलाई रोक्दै फर्काउँदै गरिरहेका थिए ।
पृथ्वीचोकमा बन्दकर्ताले गाडी रोकेपछि प्रतिगमनको बिरोध भन्दै आम हड्ताल गर्नु अग्रगमन हो ? भन्दै स्थानीयबासी कडि्कए । उनीहरुको आक्रोश थियो, ‘तपाईंको कुनै पनि नेता ठीक छैनन्, हिजो सत्तामा हुँदा ठीक हुने, आज कुरा नमिल्दा आन्दोलन गर्ने ?’
सांसद ओलीले सम्झाउँथिन् ‘हजुरले धेरै नै बुझ्नुहुँदोरहेछ । हामीलाई पनि रहर कहाँ थियो र आम हड्ताल गर्न । तर, तपाईं-हामीले नै बनाएको संविधानलाई लत्याएर संसद विघटन भएकाले बाध्य भएका हौं ।’
चोक-चोकमा भेला भएका नेताले भने नमस्कार गर्दै विषयबारे सर्वसाधारणलाई बताइरहेका थिए । चोकमा देखिएका बन्दकर्ता पनि अनेक-अनेक थिए । केही राजनीतिक हिसाबले नै बुझेर सडकमा उत्रिएका थिए । केही मजदुर र सुकुम्बासीहरुले भने ओलीले लालपूर्जा नदिएकाले विरोधमा आएको बताएका थिए । लामो समयपछि बन्द भएकाले केही व्यक्तिले भने रमाइलोका लागि भन्दै चोकमा आएको बताए ।
केपी ओलीको कदम अंवैधानिक नै भए पनि बन्द हड्ताल गरेर भएको विरोधलाई धेरै नागरिकले मन पराएनन् । पोखरा उद्योग वाणिज्य संघले बन्द हड्ताल सधैंका लागि बन्द गर्न आग्रह नै गर्यो । एकदिनको बन्दले महिनौंसम्म नकरात्मक प्रभाव पर्ने र त्यसको गलत नजीर बस्ने भन्दै यस्तो कार्य रोक्न आग्रह गर्दै महासचिव सुरेन्द्र विजुक्छेले विज्ञप्ति जारी गरेका थिए ।
प्रतिक्रिया 4