
३० असोज, काभ्रेपलाञ्चोक । तिहार पर्वलाई लक्षित गर्दै घर लिपपोत गर्ने परम्परागत संस्कृतिलाई पुनःजीवित गर्न काभ्रेको एक पालिकाले नगरवासीमा अपिल गरेको छ।
काभ्रेको खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले नगरवासीमा यस्तो अपिल जारी गरेका हुन् ।
आधुनिकतासँगै गाउँघरमा माटोले घर लिप्ने चलन घट्दै गएको भन्दै यसले गाउँको मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनाएको भन्दै उनले नगरवासीमा यस्तो अपिल गरेका हुन् ।
उनका अनुसार दीपावलीको अवसरमा घरआँगन माटोले लिप्ने चलन केवल धार्मिक वा सौन्दर्यका लागि मात्र होइन, सामाजिक एकता र परम्पराको संरक्षणका लागि पनि महत्त्वपूर्ण छ ।
‘हाम्रा पुर्खाले सदियौँदेखि दीपावलीमा सेतो र रातो माटोले घर-आँगन लिप्ने परम्परा पालन गर्दै आएको तर अहिले यो सांस्कृतिक अभ्यास हराउँदै गएको छ,’ अध्यक्ष थिङले जारी गरेको विज्ञप्तिमा छ ।
गाउँपालिकाले यस वर्षदेखि हरेक घरमा सेतो र रातो माटो प्रयोग गरेर दीपावली मनाउने अभियान सुरु गर्ने निर्णय गरेको छ ।
स्थानीय परम्परा र सांस्कृतिक पहिचान जोगाउन सबै नागरिक, टोल समिति र विद्यालयहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।
अपिलमा भनिएको छ, ‘सांस्कृतिक पुनरुत्थानका लागि हाम्रा मौलिक सिप र परम्परालाई व्यवहारमा उतारौँ र हाम्रो पहिचान जोगाऔँ ।’
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4