Comments Add Comment

कहिले लागू हुन्छ आर्यघाटमा दाउरा निःशुल्क गर्ने वन मन्त्रीको घोषणा ?

१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने अवस्थाको अन्त्य गर्न दाउरा निःशुल्क गर्ने योजना बनाएको उनले सुनाए ।

तर उनको घोषणा लागू भएको छैन । पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुका अनुसार मन्त्रीको योजनाबारे आधिकारिक जानकारी आएको छैन ।

तर पशुपति आर्यघाटमा शव जलाउन दाउरा शीर्षकमा शुल्क तिर्नु पर्दैन । साबिकको टिम्बर कर्पाेरेसन अफ नेपालले अन्तिम संस्कारको लागि प्रयोग हुने दाउराको लागि सहुलियत दिँदै आएको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आले

पशुपति आर्यघाटमा प्रयोग गरिने दाउरा चुरे क्षेत्रमा काठ काट्दा प्रयोग गरिएका दाउराहरु हुन् । एउटा शव जलाउन मृतकको उचाइ र आकारको आधारमा ३०० देखि ४०० किलोसम्म पर्ने दाउरा खपत हुने गर्छ । र, ढुवानी खर्चका रुपमा दाउराको मूल्य प्रतिकिलो १० रुपैयाँ लिने गरिएको कोषको सार्वजनिक सेवा महाशाखा प्रमुख राजुकुमार रेग्मीले जानकारी दिए ।

झण्डै १५ रुपैयाँको हाराहारीमा पर्ने काठको ढुवानी शुल्क पनि घाटा खाएर वन निगमले काठ उपलब्ध गराउँदै आएको उनी बताउँछन् ।

त्यसो भए वनमन्त्री आलेको घोषणा कहिले लागू हुन्छ त ? मन्त्रीका विज्ञ सल्लाहकार यम बहादुर बमका अनुसार पशुपति आर्यघाटमा लाग्ने दाउरालाई निःशुल्क बनाउन मन्त्रालयले प्रक्रिया सुरु भइसकेको छ । अर्थमन्त्रालयबाट समेत स्वीकृति लिएर सबै प्रक्रिया अघि बढाउँदा यो योजना कार्यान्वयनमा आउन साढे २ महिनादेखि ३ महिनासम्म लाग्न सक्ने बम बताउँछन् ।

उनका अनुसार वन निगममार्फत हरेक वर्ष ३० लाख किलो काठ अन्तिम संस्कारमा खपत हुने गरेको छ । पशुपतिको आर्यघाटमा दाउरा निःशुल्क गर्दा यो संख्या ३० लाखबाट बढेर ५० लाख पुग्ने अनुमान वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

नेपालमा गोरखा भूकम्पको बेलामा पनि सरकारले शव जलाउने काठदाउरा निःशुल्क दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment