Comments Add Comment

स्कुल बनाउन प्रचण्डको टोली साँगा पुग्यो

Prachanda

८ जेठ, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा श्रमदान गर्न एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु गाउँ छिरेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रबार सिन्धुपाल्चोक गएका छन् । प्रचण्डको टोलीमा भूगर्भविद, सिभिल इन्जिनियर, मनोचिकित्सक र पत्रकारहरु छन् ।

शुक्रबार प्रचण्डले साँगाचोक गाविसस्थित जनजागृति उच्च माविबाट पुनर्निर्माण अभियानको उदघाटन गर्नेछन् । ‘आज दिनभर स्कूलको भवन पुनर्निर्माणको काम हुन्छ, अध्यक्ष प्रचण्ड आफैले पनि श्रम गर्नुहुन्छ,’ एमाओवादी सिन्धुपाल्चोकका अध्यक्ष माधव सापकोटाले भने ।

सापकोटाका अनुसार प्रचण्ड शुक्रबार साँगाचोकमै बस्नेछन् । शनिबार क्षेत्र नम्बर १ को माङ्खामा र आइतबार भोटेनाम्लाङ गाविसमा पुनर्निर्माणको काम हुनेछ । भोटे नाम्लाङमा ५ माओवादीको संयुक्त कार्यक्रम हुनेछ ।

‘तराईबाट बाँस र जस्तापाता ल्याएका छौं,’ सापकोटाले भने, ‘भूकम्पको विपत्तिमा परेकाहरुलाई पुनर्वासको व्यवस्था मिलाउन एमाओवादी सक्रिय छ ।’

विहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्डले पुनर्निर्माणको अभियानमा जानेहरुको विदाइ गरेका थिए । पहेँलो हेलमेट, ह्याम्मरसहितका नेता-कार्यकर्ताहरु तोकिएको जिम्मेवारीअनुसार भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् ।

 बाबुराम गोरखामा

एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गोर्खाको पुनर्निर्माण अभियानको नेतृत्व गरेका छन् । इन्जिनियर, भूगर्भविदसहित उनी बुधबारै गृहजिल्ला गोर्खा गएका हुन् । उनलाई जनार्दन शर्मा प्रभाकर लगायतका नेता र कार्यकर्ताहरुले पुनर्निर्माण अभियानमा साथ दिएका छन् ।

डा. भट्टराई शुक्रबार खोप्लाङ पुगेका छन् । वैशाख १२ को भूकम्पको केन्द्रविन्दु वारपाकबाट पैदल हिँडेर लाप्राक आएका उनी शुक्रबार खोप्लाङ गएका हुन् । भौगोलिक अवस्था अध्ययन गर्ने, भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माण गर्ने लगायतका काममा उनी सक्रिय छन् ।

Narayankaji-with-caders

 नारायणकाजी दोलखामा

यसैगरी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुनर्निर्माण अभियानको नेतृत्व गर्दै भूकम्प प्रभावित अर्को जिल्ला दोलखा पुगेका छन् । २-४ दिन दोलखामै बसेर अभियानमा खटिनेछन् ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment