Comments Add Comment

नवनिर्माणमा जनसम्पर्क समिति भारत सक्रिय

Rahat

१२ जेठ, काठमाडौं । नेपाली जनसम्पर्क समिति भारतले भूकम्प पीडितका लागि राहत जुटाउने र वितरण कार्यलाई युद्धस्तरमा अघि बढाएको छ । भारतबाट ठूलो मात्रामा राहत सामाग्री ल्याएर प्रभावित जिल्लाहरूमा पुगेर वितरण गरेको समितिले नवनिर्माणमा आफूलाई केन्द्रित गरेको छ ।

समितिका अध्यक्ष बालकृष्ण पाण्डेका अनुसार भारत प्रवासमा रहेका समितिमा आवद्ध कार्यसमिति सदस्यहरू दाताहरूबाट सहयोग संकलनमा सक्रिय छन् । संकलित सामाग्री भूकम्प पीडितको घर निर्माणमा लगाइने उनले बताए । विशेषगरी जस्तापाता ल्याउन समितिका सदस्यहरू भारतका विभिन्न भागमा खटिएका छन् ।

यसका लागि जनसम्पर्क समितिका केन्द्रीय सदस्य तथा नेपाल तरूण दल भारत प्रवासका उपाध्यक्ष मोहनबहादुर शाक्य भारतस्थित विभिन्न जस्तापाता कम्पनिहरूसम्म पुगिरहेका छन् । शाक्यको पहलमा आउँदो हप्ताभित्र ठूलो मात्रामा जस्तापाता नेपाल आउने पाण्डेले बताए । सिन्धुपाल्चोक र दोलखाका अति प्रभावित दुर्गम भागका लागि जस्तापाता पुर्‍याउने लक्ष्य जनसम्पर्क समिति भारतले राखेको बताए ।

जनसम्पर्क समिति भारतले पहिलो चरणमा दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङसहितका चार जिल्लामा ८४ टन राहत सामाग्री नेपाल ल्याएर वितरण गरिसकेको जनाएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास कार्यालयसँग समन्वय गरी औषधी, खाद्य सामाग्री, लत्तापपडा र पालहरू चार जिल्लामा वितरण गरी लगत समेत राखेको पाण्डेले बताए । पहिलो चरणमा तत्कालका लागि तत्कालको राहत सामाग्री ल्याएको समितिले दोस्रो चरणमा अल्पकालीन र दीर्घकालीन योजनासहितको सहयोग भित्राउने लक्ष्य राखेको जनाएको छ ।

राहत संकलनमा भारतका विभिन्न प्रान्तमा समितिका सदस्यहरू सक्रिय भएजस्तै वितरणका लागि पनि नेपालभित्र सक्रिय छन् । हाल नेपाल रहेका अध्यक्ष पाण्डलेे भूकम्पपीडितका लागि सहयोग संकलनका लागि यसै हप्ता भारत जाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment