Comments Add Comment

केपी ओलीलाई प्रधानमन्त्री बनाउने दुई सूत्र

अरुण बराल

प्रधानमन्त्री सुशील कोइरालाको विकल्पमा केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । विपक्षमा रहेको एमाओवादीले समेत ओलीलाई प्रधानमन्त्री बनाउन हतारो गरेपछि अब कोइराला सरकारको आयु छोटिएको हो ।

KP oli

तर, कोइरालालाई अविश्वासको प्रस्तावबाट हटाउने कि स-सम्मान विदाइ गर्ने भन्नेबारे एमाले र एमाओवादीभित्र एकमत भइसकेको छैन ।

राष्ट्रिय सरकार गठनबारे स्वयं प्रधानमन्त्रीले नै बालुवाटारमा छलफल थालेपछि अब सरकार परिवर्तनको एजेन्डा कार्यान्वयनको नजिक पुगेको स्पष्ट संकेत गर्न सकिन्छ । तर, यसमा अझै केही जटिलता छन् ।

सुशीलको चाहना

सूत्रहरुका अनुसार प्रधानमन्त्री सुशील कोइराला संविधान बनाउन नसकेको अपजससहित विदा हुने पक्षमा छैनन् । उनी सकभर आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनोस् र कांग्रेस महाधिवेशनमा समेत आफू सत्तामै रहिरहने स्थिति बनोस् भन्ने पक्षमा छन् ।

सत्ताबाट बाहिरिनुपर्ने स्थितिमा पनि फास्ट ट्रयाकबाट संविधान जारी गरेर सत्ताबाट बाहिरिन पाए अपमानित हुनबाट बचिने कोइरालाको इच्छा छ ।

यही कारणले प्रधानमन्त्री कोइराला आफैं सक्रिय भएर राष्ट्रिय सरकारको छलफलमा जुटेका छन् । संविधान बनेपछि मात्रै राष्ट्रिय सरकार बनाऔं भन्ने कांग्रेसको निर्णय आएको छ ।

ओलीको इच्छा

सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गराएर कांग्रेसलाई जश दिने काम गर्दा प्रतिस्पर्धी एमालेलाई राजनीतिक फाइदा नहुने ओलीले बुझेका छन् । यही कारण एमालेका नेताहरु जतिसक्दो चाँडो कोइरालालाई असफल सावित गर्ने पक्षमा छन् ।

यसका लागि कोइराला सरकारलाई एमालेले गरेको समर्थन फिर्ता लिने, आफ्ना मन्त्राीलाई सरकारबाट फिर्ता बोलाउने र प्रधानन्त्रीले विश्वासको मत सावित गर्नुपर्ने परिस्थिति सिर्जना गर्न एमालेमा गृहकार्य सुरु भएको छ ।

यद्यपि माधव नेपाल पक्षका एमाले नेताहरुले अहिलेको परिस्थितिमा कांग्रेसलाई पनि साथैमा लिएर जानुपर्ने भएकाले सकेसम्म सुशीललाई सम्मानजनक रुपमा विदाइ गर्ने सार्वजनिकरुपमा बताउँदै आएका छन् ।

देउवाको स्वार्थ

पछिल्लो राजनीतिक दाउपेचमा सक्रिय रहेका नेताहरुको दाबी के छ भने कांग्रेस नेता शेरबहादुर देउवाका लागि पनि जतिसक्दो चाँडो सुशील सरकारबाट बाहिरिनुमै फाइदा छ ।

संविधान नबनाई सुशील हटेको अवस्थामा उनी संविधान र सरकार सञ्चालन दुबैमा असफल भएको प्रमाणित हुने र कांग्रेसको भावी सभापति बन्न आफूलाई सजिलो हुने देउवा पक्षको विश्लेषण रहेको बताइन्छ । पछिल्ला दिनहरुमा देउवा निकै सन्तुलित हुनुका साथै रिजर्भमा बसेका छन् । आफ्नो कारणले सुशीललाई हटाइएको सन्देश नजाओस् भन्नेमा देउवा निकै सचेत देखिएका छन् ।

एमाओवादीको हतारो

Prachanda  (14)एकीकृत नेकपा माओवादीका नेताहरु ‘जाँतोलाई भन्दा हातोलाई खसखस’ भन्ने आहानजस्तै केपी ओलीलाई प्रधानमन्त्री बनाउन अघि सरेको छ । मधेसवादी, एमाओवादी र एमालेलगायतका दलहरु मिलेर ओलीको नेतृत्वमा सरकार बनाउनुपर्ने एमाओवादी नेताहरुको भित्री लबिङ देखिन्छ ।

ओलीलाई प्रधानमन्त्री बनाउने लबिङका पछाडि एमाओवादीका दुईवटा उद्देश्य हुन सक्छन्, एक पुनर्निर्माण प्रधाधिकरणमा बाबुराम भट्टराईलाई जिम्मेवारी दिने र, राष्ट्रपतिमा प्रचण्डलाई सुनिश्चित गर्ने ।

प्रचण्डलाई राष्ट्रपति बनाउने शर्तमा ओली प्रधानमन्त्री भएपछि पनि प्रचण्ड राष्ट्रपति नबन्ने खतरा भएमा यो ‘गुन’ एमाओवादीका लागि ‘अर्काको बाछो चाटी मुखभरि भुत्ला’ भन्ने आहान जस्तै बन्ने खतरा छ ।

सुशीललाई बलात् हटाउँदाको जोखिम

एमाले र एमाओवादीका नेताहरुले बुझ्न नसकेको या बुझेर पनि बुझ पचाइरहेको पक्ष के छ भने सुशील कोइरालालाई बलात् हटाउने हो भने राजनीतिमा अरु जोखिम आउन सक्छ ।

कोइरालाले आफूलाई अपमानित महसुस गरे पनि ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस सहभागी नहुने अवस्था आउन सक्छ । त्यस्तो बेलामा राष्ट्रिय सहमतिको सरकार बन्न सक्दैन र ओली सरकार विगतको झलनाथ सरकार जस्तै असफल बन्ने खतरा रहन्छ ।

नेपाली कांग्रेसलाई पनि सहमतिमा ल्याउने हो भने सुशील कोइरालाको सम्मानजनक बहिर्गमन नै हो । तर, सुशीलको सम्मानजनक बहिर्गमनले एमालेलाई फाइदा पुग्दैन, नेपाली कांग्रेस र सुशीललाई नै पुग्छ ।

तर, यो बेलामा कुन व्यक्ति वा गुटको फाइदा र घाटा हेर्नै बेला होइन । कसो गर्दा राष्ट्रिय एकता हुन्छ, त्यो बाटोमा लाग्नु अहिलेको राजनीतिक दायित्व हो । कांग्रेसलाई बाहिरै राखेर अघि बढ्ने सोचाइ निकै जोखिमपूर्ण हुन सक्छ ।

सुशीललाई राष्ट्रपति दिँदा के हुन्छ ?

सुशील कोइरालाई तत्कालै छाड्न लगाएर उनलाई राष्ट्रपति बनाउने आश्वासन अर्को एउटा सहमतिको कार्ड बन्न सक्छ । तर, यसो गर्दा एमाओवादी अध्यक्ष प्रचण्डले केपी ओलीलाई सघाउनुको औचित्य देख्ने छैनन् र एमाओवादी-एमाले सम्बन्ध चिसिन सक्छ ।

एमाले नेताहरुले पनि राष्ट्रपतिमा फेरि नेपाली कांग्रेसलाई नै ल्याउनु पार्टीगत फाइदा देखेका छैनन् । राजनीतिका चतुर खेलाडी मानिने एमाले नेताहरुको अर्जुन दृष्टि सिंहदरबार र शीतल निवास दुबैतिर सोझिएका छन् ।

यो अवस्थामा सुशील वा प्रचण्ड दुई जनाका नाममा फालिने राष्ट्रपतिको कार्ड कुनै पनि बेला बतासले उडाउन सक्छ ।
र, यही कुरा बुझेर हुनुपर्छ, प्रचण्डले मनमा निकै ठूलो डर र संशय बोकेर केपी ओलीलाई सघाउन लागेका हुन् ।

राष्ट्रपतिको प्रशंग अनिश्चित भए पनि केपी ओलीको सत्तारोहण सम्भावनाको नजिकतिर मोडिएको छ । विगतमा ओलीको विपक्षमा रहेका कतिपय अन्तरराष्ट्रिय समदायसँग पनि ओलीले लाइन मिलाइसकेकाले उनको प्रधानमन्त्री बन्ने सम्भावना नजिकिएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment