Comments Add Comment

रामदेवका नाममा बालवालिका किन जम्मा पारियो ?

Patanjali distribute Relief (1)

३ असार, काठमाडौं । भारतीय योगगुरु रामदेवमाथि भूकम्प प्रभावित २२ बालबालिकालाई अवैधरुपमा हरिद्वार लैजान लागेको आरोप लागेपछि पतञ्जली योगपीठ नेपालले स्पष्टीकरण दिने प्रयास गरेको छ ।

मण्डिखाटारस्थित कार्यालयमा विहीबार आयोजित पत्रकार सम्मेलनमा योगपीठका अधिकारीहरुले कानूनी प्रक्रिया पूरा नै नगरी बालबालिका जम्मा गरेको स्वीकार गरे । तर, हरिद्वार लैजाने योजना नभएको उनीहरुले दाबी गरे ।

रामदेवको हरिद्वार आश्रममा लैजान पतञ्जली योगपीठ बनेपाले बालबालिका भेला गरेको थाहा पाएपछि स्थानीय प्रशासनले बुधबार हस्तक्षेप गरी २२ बालबालिका अभिभावकलाई जिम्मा लगाएको थियो ।

तर, विहीबारको पत्रकार सम्मेलनमा पतञ्जली नेपालका ट्रष्टी सालिकराम सिंहले यो घटनालाई भारतीय प्रधानमन्त्री मोदी र नेपालवीचको सम्बन्धसँग जोड्ने प्रयास गरे ।

सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रामदेवको सम्वन्ध राम्रो भएको भन्दै नेपाल र भारत सम्वन्ध बिगार्ने षड्यन्त्र भएको दाबी गरे । उनले बालबालिकालाई हरिद्वार लैजान लागेको भन्नु कुनै अन्तराष्ट्रिय समूहले दिएको प्रयोजित समाचार भएको दाबी गरे ।

भारतमा रामदेवले योग सिकाउँछन् । तर, नेपालमा उनको संस्थाले भूकम्प प्रभावित बालबालिका जम्मा पार्‍यो । जिल्ला प्रशासन कार्यालय वा बालकल्याण समितिबाट अनुमति नलिई योग गुरुका नाममा बालवालिका भेला पारेपछि स्थानीय प्रशासनले आशंका गरी वालवालिकाको उद्धार गरेको हो ।

काभ्रेको स्थानीय प्रशासनले योग सिकाउने संस्थाले अनुमति नै नलिई बालबालिका जम्मा गरेपछि हस्तक्षेप गरेर बालबालिका छुटाएको बताएको छ ।

पतञ्जली योगपीठ बनेपाका ग्रुबेन तौजलेले बालबालिका राख्न स्थानीय प्रशासनसँग कुनै अनुमति नलिएको स्वीकार गरे । उनले तर्क गरे -‘भूकम्पपछि अफिस खुलेका छैनन्, कर्मचारीहरु भेटिएनन् । संकटका बेला कागज बनाउन सम्भव भएन ।’

ट्रष्टी सालिकराम सिंहले बालबालिकालाई पढाउन स्कुल खोल्ने योजना रहेको दाबी गरे । यसका लागि महिला बालबालिका र शिक्षा मन्त्रालयलाई आग्रह गरिएको उनले दाबी गरे । अभिभावक गुमाएका बालबालिकालाई विभिन्न स्कुलमा पढाउने र खर्च आफूले व्यहोर्ने उनले पत्रकार सम्मेलनमा तर्क गरे ।

ट्रष्टी सिंहले धार्मिक संघ संस्थाहरुले आफूहरुविरुद्ध षड्यन्त्र गरेको संकेत गर्न खोजे पनि कसले त्यस्तो षडयन्त्र गरेको हो भन्ने खुलाएनन् ।

बालबालिकालाई विद्यालय नपठाउने हो भने धर्म परिर्वतनमा फस्न सक्ने भन्दै उनले भने-‘हामीले राहत बाँड्दा धर्मको किताब बाँडेका छैनौं ।’

पत्रकार सम्मेलनमै पोको बाँडियो

तर, धर्मका नाममा किताब नबाँडेको बताउने रामदेवका कार्यकर्ताले पत्रकार सम्मेलनमा सहभागीहरुलाई ‘राहत’ भन्दै कम्बल र केही पोको दिएर पठाएका थिए । धेरै सहभागीले लिएर पनि आए ।

आयोजकले दिएको राहत लैजाने मध्येका एकले बताए अनुसार बोरामा प्याक गरेर दिइएको पोकोमा बाबा रामदेवका उत्पादन रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment