Comments Add Comment

नेपालका प्रमुख हिमताल सुरक्षित

६ असार, काठमाडौं । भूकम्पपछि नेपालका प्रमुख तीन हिमताल सुरक्षित रहेको अध्ययनले देखाएको छ । जल तथा मौसम विज्ञान विभागले हालै गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले तीन ठूला ताल दोलखाको च्छो रोल्पा, सोलुखुम्बुको इम्जा र रुकुमको ठूलागी हिमतालमा कुनै असर नपरेको पाइएको हो ।

भूकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनले नेपालका हिमताल खतरामा परेको भन्ने समाचार बाहिर आएपछि विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले हिमतालको अवलोकन अध्ययनका लागि विज्ञहरुको टोली पठाएको थियो ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक डा ऋषिराज शर्माले भूकम्पपश्चात गरिएको प्रमुख तीन तालको अध्ययनले सुरक्षित पाइएको बताए । उनका अनुसार इम्जा हिमतालमा भूकम्पको कुनै प्रभाव नदेखिएको र च्छो रोल्पा हिमतालमा सानासाना चिरा देखिएता पनि ठूलो क्षति नदेखिएकाले हिमतालको तल्लोतटीय क्षेत्रका समुदायमा तत्काल कुनै खतरा देखिएको छैन ।

च्छो रोल्पा हिमताल समुद्री सतहबाट चार हजार ५८० मिटर उचाइमा छ, यसको अधिकतम् गहिराइ २७० मिटर, लम्बाइ तीन दशमलव ५५ मिटर र आयातन ८५ दशमलव ९४ रहेको छ । इम्जा हिमताल पाँच हजार १० मिटर उचाइ, दुई दशमलव लम्बाइ र अधिकतम् ११६ गरिहरो रहेको छ । त्यस्तै ठूलागी हिमताल चार हजार १४६ मिटर उचाइ शून्य दशमलव ६० मिटर र ८१ मिटर गहिराइको छ ।

विभागले सन् १९८८ देखि हिमनदी र हिमतालसम्बन्धी अवलोकन, अध्ययन र अनुसन्धान गरिरहेको छ । इसिमोडद्वारा सन् २००१ मा गरिएको सर्वेक्षणअनुसार नेपाल भरी दुई हजार ३२३ वटा हिमताल रहेको र त्यसमध्येमा २१ वटा हिमताल अत्यन्त जोखिमयुक्त अवस्थामा रहेको देखाएको छ ।

भूकम्पपछिको अवस्थामा वातावरणीय क्षेत्रमा के कस्तो असर पुग्यो भनी अध्ययन गर्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सचिव डा कृष्णचन्द्र पौडेलको नेतृत्वमा दू्रत वातावरणीय मूल्याङ्कन (आरइए) समिति गठन गरेको थियो ।

समितिका प्राविधिक संयोजक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकलगायत क्षेत्रमा पानीको मुहान सुकेको र कतिपय स्थानमा पानीको मूल फुटेको पाइएको बताए ।

भूकम्पबारे पूर्व जानकारी दिने मेसिन जडान गरिदैँ

भूकम्पको क्षति र अपनाउनुपर्ने सजकतालाई मध्यनजर गर्दै विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले भूकम्पबारे पूर्व जानकारी दिने अत्याधुनिक उपकरण जडान गर्ने तयारी गरेको छ ।

मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले भूकम्पसम्बन्धी जानकारी दिने उपकरण देशका विभिन्न भागमा जडान गर्न लागिएको जानकारी दिए । त्यस्ता ८० वटा उपकरण मित्रराष्ट्र चीनबाट सहयोग स्वरुप ल्याउन लागिएको र अहिले प्राविधिक परीक्षण भइरहेको बताए ।

ती उपकरणले भूकम्पबारे प्रभावकारी जानकारी राख्न र भूकम्प आउनुभन्दाअघि २० देखि २५ सकेन्डअघि जानकारी दिनसक्ने बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment