Comments Add Comment

जनमत संकलनमा भाँडभैलोका १० दृश्य

चिरञ्जीवी पौडेल

स्थान : विजय ममोरियल स्कुल, डिल्लीबजार

समय : दिउँसो एक बजे

कक्षा कोठाभित्र १०-१२ जना पुरुष तथा महिला परिक्षाअघि विद्यार्थीले हतारमा नोट पढेझैं संविधानको मस्यौदा पढिरहेका थिए । संविधानबारे सभासदलाई सुझाव दिने तयारीमा आएका उनीहरु कागजमा केही टिपिरहेका पनि थिए । एक घन्टापछि यहाँ कस्तो रडाको मच्चिदै छ भन्ने उनीहरुलाई के अनुमान ?

Janamat Sankalan At Dillibazar  (15)

बोलाइएको थियो एक बजे । स्थानीय विकासमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर १ का सभासद प्रकाशमान सिंह दलबलसहित दुई बजे आइपुगे । मुस्किलले सय जना अट्ने कोठाभित्र सुझाव संकलन नामको ‘प्रहसन’ सुरु भयो ।

स्कुलमा जम्मा भएकामध्ये आधाजति मानिस बाहिरै रहे भने आधा कोचामकोच गरेर भित्र बसेका थिए । मन्त्री सिंहले पानसमा बत्ति बालेपछि दुई जना वक्ताले ‘विषयवस्तुमाथी प्रकाश पार्दै’ २० मिनेट खपत गरे ।

Janamat Sankalan At Dillibazar  (3)

त्यसपछि उद्घोषकले सहभागीहरुलाई तीन-तीन मिनेट बोल्न समय दिँदै हात उठाउन आग्रह गरे । तत्कालै १२-१५ वटा हात उठे । माइक पाए, रुद्रमणि गौतमले । तीन मिनेट आरामसित बोल्न पाउने उनी पहिलो र एक मात्र भाग्यमानी सावित भए ।

भाग्यमानी गौतमले संविधानको मस्यौदाले अपांगहरुको हक-हित सुनिश्चित गर्न नसकेको आवाज उठाए । ‘पाँच लाख भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई हेला गरेर कस्तो संविधान ल्याउन खोजिएको हो ?’ उनले प्रश्न उठाए ।

दृष्य २

भाग्यमानी गौतमले बोलिसकेपछि होहल्ला सुरु भयो । पछाडि बसेकाहरु छेकियो… छेकियो… भन्दै कराउन थाले । अगाडि बसेकाहरु ‘हल्ला नगरौं’ भन्दै हल्ला गर्न थाले । यसै क्रममा माइक समाए ताराबहादुर थापाले ।

‘यो संविधानमा दिइने छैन, पाइने छैन, गरिने छैन’ जस्ता शब्दहरु धेरै परेका रहेछन्, ‘यी तानाशाही शब्दहरु हुन् ।’ उनले चर्को स्वरमा भने । यूवाहरुको एउटा समुहले गटटट ताली बजायो ।

उनले थपे, ‘यो संविधानमा सेनाले असन्तुष्टि जनाइसक्यो, सर्वोच्चले असन्तुष्टि जनाइसक्यो, अख्तियारले पनि असन्तुष्टि जनाइसक्यो । र, जनता पनि असन्तुष्ट छन्,’ त्यही समुहले फेरि ताली ठोक्यो ।

हल्ला बढ्दै गइरहेको थियो । माइकमा बोलेको आवाज सुन्न कठिन हुँदै गयो । थापाले समाजवाद, विदेशी एकाधिकारवाद, राष्ट्रिय औद्योगिक पूँजिवाद, जस्ता गह्रूंगा/अस्पष्ट शब्द प्रयोग गरेर लामै भाषण ठोके ।
अन्तिममा उनले भने, ‘हामी यो संविधानलाई बहिस्कार गर्छौं ।’

दृष्य ३

‘के हो हामीले सुन्न नपाउने ?’ ढोकाभित्र ठेलमठेल गर्दै कानमा मुन्द्री लगाएका एक युवक प्रवेश गरे । ‘हामी चाहिँ जनता होइन ?’ भन्दै च्याँठि्ठएपछि सबैको ध्यान उनीतिर केन्दि्रत भइदियो । कोठा भित्रकाले पनि हो… हो… भन्दै साथ दिए ।

होहल्लाका बीच तेस्रो वक्ताले माइक समाते । ‘सम्पूर्ण जनसमुदायमा नमस्कार, म …. कार्की,’ भन्दै थिए । तर, उनले बोलेको सुन्ने अवस्था विद्यमान रहेन । यद्यपि उनले आफ्नो लिखित भाषण बोल्दै गए । उनले संभवतः शिक्षामा केन्द्रित भएर बोलेका थिए ।

अब होहल्ला बेस्सरी चर्कियो । अघिसम्म शान्तिपूर्वक सुनिरहेकाहरु पनि जर्‍याकजुरुक उठेर ‘हल सानो भो’ भन्दै उफ्रिन थाले । बीच-बीचबाट ‘मुर्दाबाद मूर्दाबाद’ को आवाज आउना थाल्यो ।

मञ्चमा बसेका मन्त्री सिंह किंकर्तव्यविमुढ भएर हेरिरहे । उनलाई सुरक्षाकर्मीहरुले पहरा दिए । पाँच मिनेटसम्म निरन्तर होहल्ला र नारावाजी भएपछि मन्त्रीले माइक समातेर बोल्न थाले । तर आफूले बोलेको सायद आफैंले सुनेनन्, अरुले के सुनुन् ।

दृष्य ४

कथामा फरक मोड आयो । हुलदंगाकै बीचबाट ठूल्ठूलो स्वरमा हिन्दू राष्ट्र जिन्दावादको नारा लाग्न थाल्यो । ‘हिन्दू राष्ट्र कायम गर, अखण्डता जिन्दावाद, संघीयता चाहिँदैन’ जस्ता नाराहरु चर्को हुँदै गए । यतिबेला प्रहरी तात्यो ।

Janamat Sankalan At Dillibazar  (11)

भीडबीच नारा भट्याएरहेका एक अधवैंशेलाई प्रहरीले कठालोमा समात्यो । उनी झन् चिच्याउन थाले । ‘कि माइक दे, कि नारा लाउन दे’ भन्दै उनले औंलो ठड्याए । तर प्रहरीले टेरेन । उनलाई झांगलझुंगल पार्दै बाहिर निकालियो । दुई जना प्रहरीले उनलाई बाहिर गेटसम्म पुर्‍याए । उनले निरन्तर नारा लगाइरहेका थिए, ‘हिन्दू राष्ट्र जिन्दावाद, अखण्ड नेपाल जिन्दावाद ।’

दृष्य ५

गेट बाहिरको परिदृश्य पनि तनावग्रस्त रहेछ । डेढ दर्जन जति व्यक्तिहरु व्यानर ओछ्याएर नारावाजी गरिरहेका थिए । उनीहरुका नारा पनि त्यस्तै थिए, ‘अखण्ड नेपाल जिन्दावाद । हिन्दू राष्ट्र जिन्दावाद । संसारका हिन्दूहरु एक हौं । संवैधानिक राजतन्त्र फिर्ता गर । हाम्रो आन्दोलन जारी छ ।’ उनीहरु राप्रपा नेपालका कार्यकर्ता रहेछन् ।

Janamat Sankalan At Dillibazar  (10)

भित्रबाट घोक्रेठ्याक लगाइएका अधवैशे बाहिरको नारावाजीमा मिसिए । तर, प्रहरीले त्यहाँ पनि हस्तक्षेप गर्‍यो । एक महिलालाई लछारपछार गर्दै भ्यानमा हाल्यो । प्रदर्शनकारी र प्रहरीबीच निकैबेर घम्साघम्सी चल्यो ।

दृश्य ६

हिन्दू राष्ट्रको पक्षमा नारावाजी गर्नेलाई बाहिर निकालेपछि कोठाभित्र क्षणिक शान्ति आयो । एक महिलालाई माइक दिइयो । उनले पाँच प्रतिशत भोट ल्याउनेलाई मात्र दलको मान्यता दिनुपर्ने आवाज उठाइन् । ‘हो कि होइन भन्नुस त दाजूभाई दिदीबहिनीहरु ?’ रकस्टारको शैलीमा उनले भिडतर्फ माइक तेस्र्याउदै सोधिन् । भीडबाट ठीक हो, ठीक हो भन्ने आवाज आयो । महिला हौसिइन् ।

त्यसपछि उनले महिलालाई राज्यका हरेक निकायमा ३३ प्रतिशत आरक्षण दिनुपर्ने माग राखिन् । ‘हो कि होइन भन्नुस त दाजुभाई दिदी बहिनीहरु ?’ रकस्टारले फेरि भिडतिर माइक तेर्स्याइन् । तर, यसपटक उनले सोचेजस्तो जवाफ आएन । भिडले भन्यो, हुँदैन हुँदैन । एक जनाले बोले, ‘यो माओवादीको नारा हो । कांग्रेस एमालेको होइन ।’ रकस्टार खिन्न भइन् ।

‘र अन्तिममा म के कुरा भन्न चाहन्छु भने, हामी महिलाहरु बच्चा पाउने मेसिन…’ उनी के भन्न खोज्दै थिइन्, अर्की एक महिला आएर माइक खोसिन् । दुई महिलाहरु जुध्न थालेपछि उद्घोषकले हस्तक्षेप गरे । केही मानिसहरु ‘पोथी-पोथी जुधे है,’ भन्दै भद्दा हाँसो हाँसे । उद्घोषकले माइक खोसेपछि दुई महिला एक अर्कालाई धारे हात लाउँदै बाहिर निस्के ।

दृश्य ७

अब सुरु भयो, माइकका लागि भिडन्त । म बोल्छु भन्दै एकै साथ कयौं व्यक्तिहरुले हात तेर्स्याए । उद्घोषक विलखबन्धमा पर्दै थिए, एक मोटा व्यक्तिले माइक कब्जा गरे । उनले भाषाको कुरा निकाले । ‘नेपालको राष्ट्रिय भाषा नेपाली मात्र हो,’ उनले यति भन्नासाथ केही युवाहरुले हुटिङ गरे । उनीहरुले एकाएक बेन्चमाथी उभिएर ‘खस भाषा मुर्दावाद’ को नारा लगाउन थाले ।

सुझाव दिने वक्ता भने अरुलाई बाल नदिई एक सुरमा बोलिरहेका थिए । उनले बोलेका केही शब्दहरु मात्रै सुनिए, ‘हिमाल, पहाड र तराईसहितको…. धान्न सक्दैन… प्रत्यक्ष निर्वाचित वडा अध्यक्ष… विदेशीका इशारामा…. कुनै पनि हालतमा…. ९० प्रतिशत हिन्दू…. जातीय आरक्षण… यति भन्दै…)

दृश्य ८

बेन्चमा उभिएर चर्को हुटिङ गरिरहेका युवाहरु उत्तेजित रुपमा प्रस्तुत हुन थाले । वक्ताले बोलिरहेका बेला उनीहरुले मस्यौदाको प्रतिलिति च्यात्दै हावामा उडाइदिए । ‘यी… तिमीहरुको मस्यौदा’ भन्दै उनीहरु चिच्याए ।

प्रहरीले उनीहरुमाथी हस्तक्षेप गर्दा कोठाभित्र कोलाहल मच्चियो । मुन्द्री लगाएका एक युवकलाई प्रहरीले समात्यो । ‘ए हात नहाल’ भन्दै केही युवाहरुले प्रहरीलाई ताने । कोठाभित्र भागाभाग सुरु भयो । मन्त्रीज्यूले फेरि माइक समातेर केही बोल्न थाले । तर, यसपटक पनि सायद आफूले बोलेको आफैंले बुझेनन् ।

मुन्द्री लगाएका युवक नेकपा-माओवादी जिन्दावाद भन्दै जोर-जोरले नारा लगाउँदै बाहिर निस्के । ७-८ जना युवाहरुको समुह उनको नारामा साथ दिँदै मुठ्ठी उज्याउँदै पछिपछि लागे ।

दृष्य ९

‘दाजूभाइ तथा दिदीबहिनीहरु,’ युवाहरु निस्केपछि एक पाका व्यक्तिले माइक समात्दै भने, ‘आज हामी संविधान निर्माणको विषयमा छलफल गरिरहेका छौं ।’

उनले २००७ सालमा कसरी प्रजातन्त्र आयो, ०१७ सालमा कसरी गुम्यो जस्ता कुराहरु गर्न थालेपछि मन्त्रीले बुँदागत रुपमा आफ्ना धारणा राख्न आग्रह गरे । त्यतिबेलासम्म बोर भइसकेका सहभागीहरु एक-एक गर्दै बाहिर निस्किन थाले । भित्र १२-१५ जना मात्रै बाँकी थिए ।

दृश्य १०

संविधानको खास बहस त कोठाबाहिर मैदानमा भइरहेको रहेछ । मानिसहरु झुण्ड-झुण्डमा बसेर माथापच्चि गरिरहेका थिए । उनीहरुबीच राष्ट्रिय जनावारदेखि आरक्षण राष्ट्रपति-उपराष्ट्रपतिको योग्यतासम्मका कुराहरुमा छलफल चलिरहेको पाइयो ।

Janamat Sankalan At Dillibazar  (5)

चार जनाको समुहमा रहेका युवाहरुको कुराकानीमा यसो कान थाप्ने प्रयास गरियो । ‘गाई नै ठीक छ नि,’ उनीहरुमध्ये उमेरमा जेठा देखिने व्यक्तिले जोड दिए, ‘जे भए पनि हामी हिन्दू धर्म मान्नेहरुका लागि गाईभन्दा ठूलो के हुन्छ ?’

तर चश्मा लगाएका किशोरले असहमति जनाए । ‘हाम्रो लागि पो गाई ठूलो त, गाई काटेर खाने मान्छेले त कहाँ मान्छन् ? बरु गैंडालाई बनाइदिँदा हुन्छ ।’ तेस्रो व्यक्तिले पहिलो व्यक्तिको पक्ष लिए । चौथो व्यक्तिले दोस्रो व्यक्तिको पक्ष लिए । उनीहरुको विवाद सल्टिने छाँट देखिएन ।

अन्त्यमा, 

गेट बाहिर केहीबेर अघि मच्चिएको रडाको मत्थर भइसकेको थियो । प्रदर्शनकारीहरु सडकमा बसेर शान्तिपूर्वक हिन्दू राष्ट्रको नारा लगाइरहेका थिए । प्रहरीहरु छेउमा बसेर सुनिरहेका थिए ।

तस्वीरः कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment