कसैले साँच्ची नै भनेको हो की डाक्टर भगवानकै रुप हुन् । चीनका एक व्यक्तिको हकमा डाक्टर साँच्चीकै भगवान नै सावित भएका छन् । उनको चुँडिएर छुटि्इसकेको बायाँ हात आज डाक्टरहरुकै कारण पुनः जोडिएको छ र काम गर्नसक्ने भएको छ ।
चीनको हुनान प्रान्तस्थित चांगसामा रहेको जियांगा अस्पतालमा यो दुर्लभ शल्यक्रिया सम्पन्न गरेका हुन् । चुँडिएको हातलाई खुट्टामा एक महिनासम्म कलमी गरेर त्यसलाई पुनः पाखुरामै ल्याएर गाँस्न डाक्टरहरु सफल भएका हुन् ।
झोउ नाम गरेका ती व्यक्तिको कारखानामा काम गर्ने सिलसिलामा मेसिनले बायाँ हात नाडीबाट चुँडालेको थियो । त्यसपछि उनको त्यो चुँडिएकेा हात समेत बोकेर तत्कालै अस्पताल पूराइयो । अस्पतालका माइक्रोसर्जन डाक्टर टांग जुयु सहितको टोलीले झोउको त्यो चुँडिएको हातलाई पुनर्जिवन दिन सकिने हिम्मत गरे, किनकी उनीहरुले सन् २०१३ मा पनि यस्तै शल्यक्रिया सम्पन्न गरेका थिए ।
दुर्घटनाका क्रममा पाखुरा तथा चुँडिएको हात दुबैमा निकै धेरै घाउ भएको हुँदा डाक्टरहरुले तत्कालै त्यो चुँडिएको हातलाई गाँस्न सकेनन् र त्यो चुँडिएको हातका स्नायुहरुलाई केही समय निको हुन दिने निर्णय गरे ।
त्यसपछि डाक्टरहरुले झोउको त्यो चुँडिएको हातलाई दायाँ खुट्टाको गोलीगाँठो भन्दा माथिको भागमा कलमी गरेर गाँस्ने निधो गरे ।
यसरी चुडिइसकेको सरीरको भागमा १० घण्टाभित्रमा रक्तसंचार सुचारु नभएमा त्यो मर्छ र त्यसलाई पुनः बचाउन सकिँदैन । त्यसैले उनीहरुले खुट्टामा उक्त हातलाई कलमी गरेर गाँसे र एक महिनासम्म त्यसमा रक्तप्रवाह गरेर त्यसका नसा तथा मांसपेशीहरुलाई निको हुन छाडे ।
एक महिनापछि हालै डाक्टरहरुले खुट्टामा कलमी गरेर गाँसिएको त्यो हातलाई त्यहाँबाट निकालेर पाखुरामै प्रत्यारोपण गरेका छन्, सफलतापूर्वक । उक्त जटिल शल्यक्रियाका लागि १० घण्टा लागेको थियो ।
झोउले प्रत्यारोपाणपछि अब आफ्ना औलाहरु अलिअलि चलाउन सक्ने भएका छन् तर पूर्ण रुपमा हातले काम गर्नका लागि लामो समय लाग्ने बताइएको छ ।