
रंगी–विरंगी बेलुन उडाएर उत्सव मनाउँछौँ हामी । विशेष कार्यहरुमा पनि बेलुन फुलाइन्छ । बेलुनले मन खुसी बनाइदिन्छ ।
तर कहिलेकाहीँ त्यहीँ बेलुनले ठूलै समस्या पनि ल्याउँदो रहेछ । सन् १९८६ मा अमेरिकाको ओहियोस्थित क्लिभल्याण्ड सहरमा त्यस्तै भएको थियो ।
एउटा च्यारिटी संस्थाले विश्व रेकर्ड कायम गर्ने योजनाका साथ बेलुन फेस्टिवलको आयोजना गरेको थियो । कीर्तिमान कायम गर्नका लागि एकसाथ २० लाख बेलुन फुलाएर आकाशमा छाड्ने योजना थियो ।
झण्डै २५ सय मानिसले रातभर लगाएर २० लाख बेलुन फुलाउने काम गरे । फुलाएका लाखौँ बेलुनलाई एकसाथ छाड्नका लागि तीनतले छत बनाएर राखिएको थियो ।
लाखौँ बेलुन आकाशमा उडेको हेर्न मानिसहरु लालायित थिए । क्लेभलेन्डबासीहरु पूरै जोसले भरिएका थियो । तर एकाएक मौसम बदलियो । मौसम बदली भएपछि आयोजकहरुले २० लाख बेलुन तत्कालै आकाशमा छाड्ने निर्णय गरे । तर बेलुन छाडेसँगै एक्कासि वर्षा भयो । वर्षाले मानिसहरुको सपनामा तुषारापात गरिदियो ।
वर्षाले आकाशमा उडिरहेका बेलुनलाई भुइँमा झारिदियो । क्लेभलेन्ड सहर तथा भवनका छतहरु रंगीचंगी बेलुनले भरिभराउ भए ।
अवस्था यतिसम्म गम्भीर भयो कि एयरपोर्ट समेत ३० मिनेटका लागि बन्द गर्नुपर्यो । उत्तर अमेरिकाको महान तालमध्येको एक इरी तालमा पानीको सतह बेलुनले ढाकियो ।
त्यहीँ समयमा तालमा दुर्घटना भएर दुईजना मानिस बेपत्ता भए । उनीहरुको खोजी कार्यसमेत बेलुनका कारण प्रभावित भयो । अर्को दिन मात्र ती दुई व्यक्तिको लास फेला पर्यो ।
दुर्घटनाको सिकार भएका व्यक्तिका परिवारहरुले बेलुन फेस्टिबल आयोजकमाथि मुद्दा हालेका थिए ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4