Comments Add Comment

देउवाले भने-गिरिजाबाबु हुनुहुन्न अब ६०-४० को भागबण्डा हुँदैन

Sherbahadur-Deuwa

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी भित्र ६० र ४० प्रतिशतको भागबण्डामा अब नहुने बताएका छन् । उनले नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढ्ने बताए ।

३३ औं वीपी स्मृति दिवसको सन्दर्भमा बुधबार नेपाल प्रेस युनियनले ‘नयाँ संविधानमा हाम्रो सरोकार’ विषयमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘पार्टी एकता गर्दाका गिरिजाबाबु अहिले हुनुहुन्न म मात्रै छु । अब पार्टीमा ६०-४० को भागबण्डा हुँदैन ।’

पार्टी छिन्न भिन्न

त्यसअघि कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नीति अनुसार नचलेर नेतामुखी भएको र भागबण्डाले कांग्रेस छिन्नभिन्न भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

केसीले भने, ‘म अहिले प्रतिपक्षले प्रयोग गर्ने सिन्डिकेट शब्द त प्रयोग गर्न चाहान्न तर, पार्टी नीति र सिद्धान्त अनुसार चलेको छैन । सिंगो गिरोहबाट सन्चालित छ । ६० र ४० को भागबण्डाले पार्टी छिन्नभिन्न भएको छ ।’

संविधानमा संशोधन प्रस्ताव राख्ने

त्यसको असर नयाँ संविधान निर्माणमा देखिएको उनले बताए । पार्टीले आफ्ना एजेण्डालाई संविधानमा संवोधन गर्न नसकेको केसीको भनाइ थियो ।

संविधानको प्रस्तावनादेखि अन्त्यसम्म गम्भीर र अनगिन्ती त्रुटीहरु रहेको भन्दै उनले त्यसलाई सच्याउने पहल गर्न वरिष्ठ नेता देउवाको ध्यानाकर्षण गराए । ‘प्रस्तावनामा जनताको लोकतन्त्रबाट सुरु गरेर अनेकौं शब्दजाल बुन्दै समाजवाद उन्मुख हुने भनिएको छ । के हो यो समाजवाद उन्मुख भनेको त्यसलाई प्रष्ट्याउनुपर्छ ।’

प्रस्तावनामा अनावश्यक शब्दहरु थोपरिएको, बहुलवादको अडान राख्न नसकेको, २००७ सालको जनआन्दोलनबारे कतै पनि उल्लेख नभएको, प्रेसलाई अंकूश लगाउन खोजिएको लगायतका विषयमा उनले असन्तुष्टि जनाए । नेता केसीले संविधानसभामा संशोधन प्रस्ताव दर्ता गराउने जानकारी पनि गराए । केसीले भने, ‘म आफै प्रस्तावक भएर संविधानसभामा संशोधन प्रस्ताव राख्छु । म बिचारको कुरा गर्ने मान्छे । पार्टीसँग मात्र मतलव छैन ।’

देउवाको प्रष्टिकरण

नेपाली कांग्रेस हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने पार्टी भएको उनले बताए । नेता केसीले संविधानको प्रारम्भिक मस्यौदामा अहिले देशभर गरिएको सुझाव संकलनलाई नाटकको संज्ञा समेत दिए ।

‘अधिकांश जनताले हिन्दु धर्म चाहियो भनेका छन् । धर्म निरपेक्षता होइन, धार्मिक स्वतन्त्रता भनेका छन् । त्यसलाई सम्वोधन गर्न सकिन्छ ? यी कुराहरु नयाँ संविधानमा अटाउन सकिन्छ ?’ केसीले देउवाको ध्यानाकर्षण गराउँदै प्रश्न गरे, ‘नसक्ने भए नाटक मात्र गर्न खोज्या ?’

केसीपछि मन्तव्य राखेका पूर्वप्रधानमन्त्री देउवाले झारा टार्नका लागि मात्रै सुझाव संकलन नगरिएको प्रष्टिकरण दिए । उनले सकेसम्म धेरै सुझावहरुलाई संविधानमा समेट्ने प्रतिबद्धता जनाए । उनले संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था राख्न आफूले पहल गर्ने आश्वासन समेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, पुरुषोत्तम बस्नेत, हरिहर विरही, किरण पोेख्रेल, हरि अधिकारी लगायतले प्रेस स्वतन्त्रता विना लोकतन्त्र संस्थागत हुन नसक्ने भन्दै संविधानमा त्यसको स्पष्ट व्यवस्था हुनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment