Comments Add Comment

पत्रकार र एमबीबीएसका विद्यार्थी नै मोटरसाइकल चोरीमा संलग्न

१८ चैत, विराटनगर । छुट्टाछुट्टै स्थानबाट मोटरसाइकल चोरी गरेको आरोपमा एमबीबीएस गरिरहेका विद्यार्थी र पत्रकारसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस रिरहेका विद्यार्थी विजयकुमार यादव र माउण्टेन टेलिभिजन विराटनगरमा क्यामेरा मेनको रुपमा काम गरिरहेका मनोजकुमार चौधरीसहित प्रहरीले ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

चोरीका पाँचवटा मोटरसाइकलसहित पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१४ का २७ वर्षीय  अनुज यादव, २२ वर्षीय सोनेलाल महत्तो र सिरहाको सिरहा नगरपालिका- २२ का २० वर्षीय सुनिल यादव छन् ।

नोबेल मेडिकल कलेजमा भएको चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका विजय र मनोजको साथबाट तीनवटा मोटरसाइकल बरामत भएको छ भने विराटनगरका अनुज र सोनेलाललाई एक/एक र सिरहाका सुनिललाई एउटा मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।

नोबेल मेडिकल कलेजबाट मोटरसाइकल बढी हराएको सूचना पाएपछि निगरानी बढाएको प्रहरीले चोरीको आरोपमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थी र सञ्चारकर्मीलाई नियन्त्रणमा लिएको हो । ‘अस्पतालमा आउने सेवाग्राहीको मोटराइकल चोरी भएपछि सादा पोशाकमा प्रहरी परिचालन भएको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले भने ‘हामीले सूक्ष्म रुपमा संकास्पद व्यक्तिहरुमाथि अनुसन्धान गरिरेका थियौं ।’

नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका बिजयकुमारको घर सिरहाको लहान -९ मा पर्छ । सन् २०११ मा एमबीबीएस भर्ना भएका उनी इन्टर्न गरिरहेको बताइएको छ । विराटनगर महानगरपालिका- ४ सप्तकोशी मार्गमा डेरा बसिरहेका यादवले डेरालाई नै चोरीका मोटरसाइकल लुकाउने केन्द्र बनाएका थिए ।

प्रहरीले उनको डेराबाट २ वटा मोटरसाइकल, मोटरसाइकलमा प्रयोग हुने पार्टपूर्जा, मोटरसाइकलको रङ परिवर्तन गर्ने स्प्रे, मोटरसाइकलका पाटपूर्जा खोल्न प्रयोग हुने रेञ्चहरु बरामत गरेको थियो ।

यादवको डेराबाट स५प ३३३९ नम्बरको मोटरसाइकल र नम्बर प्लेट नभएको रातो रङको मोटरसाइकल, मोटरसाइकल नम्बर प्लेटलगायत अन्य पाटपूर्जाहरु बरामत भएपछि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

अनुसन्धानका क्रममा यादवले पछिल्लो समय माउण्टेन टेलिभिजनमा क्यामेरा मेनको रुपमा काम गर्दै आएका चौधरीको नाम पोलेका थिए । चौधरी र यादव साथीसाथी हुन् ।

मोटरसाइकल ग्यारेजमा काम गर्ने चौधरी अपराध लुकाउन मिडियामा जोडिएका थिए । उनी विराटनगर-१२ कोशी प्रोजेक्टबाट स१०प ३५०१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका थिए ।

चौधरीले चलाएको मोटरसाइकलको बास्तबिक नम्बर को३५प ९७६३ हो । त्यस्तै यादवको डेराबाट फेला परेको स५प ३३३९ नम्बर लेखिएको मोटरसाइकलको नम्बर को२५प ५२५१ रहेको प्रहरीको दाबि छ । सो मोटरसाइकल गत फागुन १८ गते नोवल मेडिकल कलेज अगाडीबाट हराएको थियो । मोटरसाइकल हराएको भन्द्र विराटनगर- ४ इक्राइका सुसान्त यादवले उजुरी गरेका थिए ।

त्यस्तै शुक्रवार को २८ प ७९७४ नम्बरको मोटरसाइकल हराएको सूचना विरेन्द्र यादवले प्रहरीलाई दिएका थिए । शनिवार हराएको मोटरसाइकल सहित विराटनगर-१४ का अनुज यादव र सोनेलाल महत्तोलाई पक्राउ गरेको हो ।

मोवाइलले खुल्यो चोरी

केही दिनअघि प्रहरीलाई विराटनगरबाट मोवाइल चोरी भएको निवेदन परेको थियो । चोरी भएको मोबाइल खोज्ने क्रममा प्रहरीेले विराटनगर- ५ चाँदनी चोकबाट को३७प ३१२० नम्बरको मोटरसाइकलसहित सिरहा नगरपालिका-२२ का २० वषर्ीय सुनिल यादव पक्राउ गर्‍यो ।

मोवाइल चोरीको अनुसन्धान गरेको प्रहरीले मोटरसाइकल चोरी गरेको पनि पत्ता लगाएको हो । यादवले सिरहा नगरपालिका-१ सिरहाबाट गत फागुन १९ गते चोरी गरेको मोटरसाइकल लिएर विराटनगर आएका थिए ।

यादवविरुद्ध सिरहामा मोटरसाइकल चोरीको उजुरी छ । मोरङमा भने मोवाइल चोरीको उजुरी परेकाले सोहीअनुसार अनुसन्धान भइरहेको छ ।

प्रहरीले पक्राउ परेका पाँच जनालाई मुलुकी फैजदारी अपराध -संहित) २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment