Comments Add Comment

सोमबारदेखि त्रिभुवन विमानस्थल १० घण्टा बन्द, चुनौतीपूर्ण काम थालिँदै

: यात्रु, एयर ट्राफिक र धावनमार्ग व्यवस्थापनमा चुनौती

१८ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिबाट दैनिक १० घण्टा बन्द हुँदैछ । २१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम भोलि सोमबारबाट सुरु गर्न लागिएको छ । सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो ।

झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो ।

चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन-वेको स्तरोन्नति काम सुरु गर्दैछ ।

नागरिक उड्ययन प्राधिकरण अन्तरगतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइनेछ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक अप्ठेरा आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ । हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वषर्ायाम लागेपछि निकै बढ्छ ।

चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो ।

अब हालको कालोपत्रेलाई सबै उप्किएर नयाँ बिछ्याइनेछ । अहिलेको धाँजा फाट्ने समस्यालाई हटाउन अब धावनमार्ग भित्री सतहबाट स्तरोन्नति गरिनेछ । भित्रैबाट खोतलेर आवश्यक नयाँ निर्माण सामग्री राखेर बलियो बनाइँदैछ ।

‘लामो समयदेखि सञ्चालनमा रहेको धावनमार्गको भित्री भागमा साना र ठूला छिऽहरु पनि हुन सक्छन् । त्यसैले भित्रैबाट धावनमार्गको भित्री भू-बनोटलाई नै वैज्ञानिक ढंगले आवश्यक नयाँ निर्माण सामग्री राखेर रिह्याबिलिटेसन गर्नुपर्छ,’ उड्ययन अधिकारीहरु भन्छन् ।

यो योजनाअनुसार ३ हजार ५० मिटर लामो धावनमार्गलाई बलियो बनाइनेछ । यो रिह्याबको काम गरे २१ घन्टा मात्र चल्ने गरेको विमानस्थल २४ घण्टा नै सञ्चालनका लागि योग्य हुने दावी गरिएको छ ।

धावनमार्ग ममर्तको काम काम गर्न राति १० बजेपछि मात्रै सुरु हुनेछ र विहान ८ बज्दा विमानस्थल फेरि सञ्चालनका लागि योग्य बनाइसकिनेछ ।

एक रातमा धावनमार्गको ८० देखि १०० मिटरसम्ममा मात्रै काम हुन सक्ने पौडेलले बताए । यो समयमा दैनिक १० घण्टा विमानस्थलमा उडान-अवतरण सेवा रोकिनेछ ।

उपकरण, जनशक्ति, दक्ष प्रविधिक सामग्रीहरु तयार अवस्थामा राखिएको पौडलले जानकारी दिए । रातभर काम गरेपछि विहान उडान सुरु हुने बेलासम्म खनिएको धावनमार्गको भाग स्तरोन्नति गरेर तयार गरिसक्नुपर्नेछ ।

source: flickr

विमानस्थलका अनुसार यो काम चुनौतीपूर्ण हुनेछ । धावनमार्ग स्तरोन्नतिका क्रम सानो समस्या आएपनि उडान अवतरण प्रभावित हुनसक्ने नागरिक उड्ययन सम्बद्ध अधिकारी बताउँछन् ।

‘राति धावनमार्गको निश्चित भाग खनेपछि कालोपत्रे गर्नुअघि ठूलो वषर्ा भए त्यसले विमानस्थल नै अवरुद्ध पनि हुन सक्छ,’ एक बरिष्ठ उड्डयन अधिकारी भन्छन्,’थोरै हेलचेक्र्याइँ भयो भने एयर ट्राफिक व्यवस्थापनमा निकै समस्या आउँछ ।’

विस्तार परियोजनाका प्रमुख पौडेल दैनिक रुपमा बैठक बसेर प्रत्येक दिनको कामको योजना बनाउने बताउँछन् । मौसमको पूर्वानुमान गरेर मात्रै राति रन-वेमा काम गरिने भन्दै संवेदनशील अवस्था आउने देखिए काम नगरिने बताए ।

काममा ढिलाइ पनि गर्न नहुने र रातभर काम गरेर विमान एयरपोर्ट तयार अवस्थामा राख्नुपर्ने भएकाले निकै संवेदनशील भएर काम गरिने उनको भनाइ छ ।

‘राति खोतलिएको धावनमार्ग छिटो तयार गर्न अलकत्रा पनि विशेष खालको प्रयोग गर्दैछौं,’ पौडेलले भने,’छिट्टै पकड जमाउने खालको अलकता प्रयोग गरिने भएकाले समस्या हुँदैन ।’

यो कामका लागि १० घण्टा विमानस्थल बन्द हुने भएपछि त्रिभुवन विमानस्थल कार्यालयलाई पनि एयर ट्राफिक र पार्किङ व्यवस्थापनमा निकै समस्या हुने देखिएको छ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै एयरपोर्टमा आउने सबै ˆलाइटलाई व्यवस्थापन गर्नुपर्ने भएकाले आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्था अझै बढ्ने अनुमान गरिएको छ ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री भने यही कामै कारण उडान कटौति नगरिएको बताउँछन् । ‘वायुसेवा कम्पनीसँग कुरा गरेर उडान समयको व्यवस्थापन गर्दैछौं,’ क्षेत्रीले भने,’कतिपय एयरलाइन्सले यात्रुको चाप नभएका फ्लाइट तालिकाबाट झिक्नुभएको छ ।’

यसै पनि त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जामको समस्या ब्याप्त छ । जसलाई व्यवस्थापन गर्न एयर ट्राफिक कन्ट्रोलरलाई धौ-धौ पर्छ भने आकाशमा विमान होल्ड हुँदा यात्रुमाथि मानसिक दबाव सिर्जना हुने गरेको छ । उड्न तयार भएका यात्रुलाई पनि प्रतीक्षा गर्न सहज हुँदैन ।

अब करिब ३ महिना विमानस्थलमा हुने चापको कारण यस्तो समस्या झनै बढ्ने अनुमान छ । यदि रातभरमा उप्काइएको धावनमार्ग विहान ८ बजेसम्म मर्मत गरेर नसकिए विमानलाई होल्ड भएरै बस्नुपर्ने वा भारत गएर अवतरण गराउनुपर्ने अवस्था आउन सक्छ ।

तर, सरकारले भने संवेदनशील भएर काम गरिने भन्दै वैज्ञानिक तवरमा धावनमार्गलाई नयाँ बनाएर छाडिने बताएको छ ।

विमानस्थलमा अब १४ घण्टा मात्रै सेवा दिइने हुनाले यात्रुको चाप पनि एकैपटक धेरै हुनेछ । यसो व्यवस्थापनको चुनौती गर्न आफूहरु तयारी अवस्थामा रहेको दावी सरकारको छ ।

मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताए।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको नागरिक उड्ययन प्राधिकरण (क्यान)ले जनाएको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ ।

यो कामका लागि चिनियाँ निर्माण कम्पनीसँग करबाहेक  तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो। धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम सुरू गरिनेछ। निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ ।

सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन सुरू भएको थियो। त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो। धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ ।

विमानस्थलको धावनमार्ग मर्मत (कालोपत्र) जिरो टु बाट सुरू गरिनेछ। हरेक दिन निश्चित मिटर धावनमार्ग जोतेर त्यसबाट निक्लेको सामान फालेपछि विभिन्न तहमा निर्माण सामग्री राखेर सतहसम्म ल्याएर विमान ८ बजे सञ्चालनका लागि तयार गरिनेछ। जिरो टु देखि एक हजार ६०० मिटरसम्म अत्यन्त बिग्रिएको अवस्थामा छ ।

यो भूकम्पपछि बढी समस्या आएको छ । क्यानले धावनमार्ग मर्मतका लागि तीन जोत्ने मेसीन, तीन पेभलर मेसिन तथा अन्य थुप्रै उपकरणको व्यवस्था गरेको छ ।

धावनमार्ग दैनिक ८० मिटर जोतेर १० घण्टामा पुनः उडानका लागि तयार गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।

‘उपकरणको पर्याप्त व्यवस्था गरी चुनौतीको सामना गर्छौं । समस्या आउन सक्छन् किनभने पहिलो पटक यो काम गर्दैछौं’, महानिर्देशक गौतमले भने।

विमानस्थलको दक्षिणतर्फको भाग कमजोर भएकाले त्यताबाट नै मर्मत सुरू गरिने विमानस्थलले जनाएको छ । दिनहुँ ८० मिटर कालोपत्रे उक्काएर मर्मत गरिने छ । अहिले ३० सेन्टिमिटर गहिराइसम्मको कालोपत्रे हटाएर नयाँ कालोपत्रे हाल्ने प्राधिकरणको योजना छ ।

खासगरी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा हरेक एक दशकमा कालोपत्र फेर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर नेपालको विमानस्थल निर्माण भएयता कालोपत्रे फेरिएको छैन ।

विमानस्थलमा अहिले १०० बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुन्छन् । विमानस्थलबाट आन्तरिकतर्फ हेलिकप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित ३१ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्राधिकरणको प्रतिवेदनअनुसार देशभरका ५६ विमानस्थलमध्ये ३३ सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये ३१ विमानस्थलमा कालोपत्रे गरिएको छ । (राससको पनि सहयोगमा) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment