+
+
Shares

इजरायल र हमासबीच युद्धविराम सहमति, तत्काल २० इजरायली बन्दी मुक्त गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते ६:३८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।

२३ असोज, काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । यस यस सहमतिको उद्देश्य गाजामा जारी युद्धलाई रोक्ने र कैदीबन्दीहरू रिहाइको सुनिश्चितता गर्नु हो ।

बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ ।

एसोसिएटेड प्रेस (एपी)का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले दिएका छन् । यसबाट दुबै पक्षले सम्झौताको शर्त पालना गरिरहेसम्म पुन: आक्रमण सुरु नहुने बताइन्छ ।

इजरायलको संसदमा सम्बोधन गर्न ट्रम्पलाई निम्तो

यसबीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुरा गरेका छन् ।

दुवै नेताहरुले सबै बन्दीहरूको रिहाइसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न पुगेको ऐतिहासिक उपलब्धिमा एक–अर्कालाई बधाई दिएका छन् ।

उनीहरूले आपसी सहकार्यलाई निरन्तरता दिने सहमति पनि जनाएका छन् । प्रधानमन्त्री नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई इजरायली संसद (केनेसट) मा सम्बोधन गर्न निमन्त्रणा दिएका छन् ।

सबै पक्षद्वारा सम्झौताको पुष्टि

गाजा शान्ति सम्झौताको प्रारम्भिक चरणबारे बुधबार राति ढिलो इजरायली अधिकारी, हमास र मध्यस्थ कतारले पुष्टि गरेका छन् ।

यद्यपि वार्ताकारहरूले गाजाको शासन प्रणाली वा हमासको निरस्त्रीकरण जस्ता विवादास्पद विषयहरूबारे सहमति जुटाए कि जुटाएनन् भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

अधिकारीहरूका अनुसार यी बाँकी विषयहरूमा इजिप्टमा हुने आगामी वार्ताले सम्झौताका आगामी चरणहरू निर्धारण गर्नेछ ।

कतारले खेलेको महत्वपूर्ण भूमिका

इजरायल र हमासबीचको युद्धविराममा कतारले पनि प्रमुख भूमिका खेलेको बताइएको छ ।

अमेरिका, इजरायल, इजिप्ट र कतारका वार्ताकारहरू सोमबारदेखि नै इजिप्टको पर्यटकीय सहर शर्म–अल–शेखमा युद्धविराम र ठूलो स्तरको बन्दी–स्वाप (कैदी आदानप्रदान) को रूपरेखा अन्तिम बनाउनका लागि बसेका थिए । यस वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका प्रतिनिधिहरू सहभागी थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानी समेत वार्तामा सहभागी भएका थिए ।

नेतन्याहूको प्रतिक्रिया– इजरायलका लागि विशेष दिन

प्रधानमन्त्री नेतन्याहूले यो सम्झौतालाई इजरायलका लागि विशेष दिन भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो इजरायलका लागि विशेष दिन हो । भोलि म सरकारलाई यो सम्झौतामा स्वीकृति दिन र हाम्रा सबै प्रिय बन्दीहरूलाई घर फर्काउनका लागि बैठक बोलाउनेछु । म इजरायली रक्षा सेनाका वीर सैनिकहरू र सुरक्षाकर्मीहरूलाई धन्यवाद दिन्छु, जसको साहस र बलिदानले हामीलाई आजको यो चरणमा पुर्‍याएको छ ।’

उनले अमेरिकी राष्ट्रपति ट्रम्प र उनको टोलीलाई पनि बन्दीहरूको रिहाइमा महत्वपूर्ण योगदानका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘हामी सबै मिलेर आफ्ना लक्ष्यहरू पूरा गर्दै र छिमेकीहरूसँग शान्ति विस्तार गर्दै जानेछौं ।’

अर्को एक पोस्टमा नेतन्याहूले लेखेका छन्, ‘योजनाको पहिलो चरण स्वीकृत भएसँगै हाम्रा सबै बन्दीहरू स्वदेश फर्काइनेछन् । यो कूटनीतिक सफलता मात्र होइन, इजरायलका लागि राष्ट्रिय र नैतिक विजय पनि हो । मैले सुरुदेखि नै स्पष्ट गरेको छु, जबसम्म हाम्रा सबै बन्दीहरू फर्किंदैनन् र हाम्रा सबै लक्ष्यहरू पूरा हुँदैनन्, तबसम्म हामी आरामले बस्ने छैनौं ।’

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले सैन्य अभियान सुरु गरेको थियो । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीहरुसहित झण्डै एक हजार दुई सय जना मारिएका थिए । आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई अपहरण गरेर लगेको थियो । उनको अवस्था अझै थाहा हुन सकेको छैन ।

हिजो विपिनको पुरानो भिडियो सार्वजनिक भएको थियो । युद्धविराम सहमतिले उनको अवस्था पनि पत्ता लाग्ने विश्वास गरिएको छ ।

हमासको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा लगातार आक्रमण जारी राखेको छ, यसक्रममा झण्डै हजार व्यक्ति मारिएका छन् भने हमासले प्रयोग गरेको भनिएको गाजा लगायतका क्षेत्र तहसनहस भएको छ ।

त्यसअघि पछि सुरु भएको संघर्ष अन्त्य गर्ने प्रयासहरूमा यो युद्धविराम सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता मानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?