
काठमाडौं । इजरायली गुप्तचर अधिकारीहरुले हमासबाट बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको एउटा भिडियो प्राप्त गरेको भन्दै बुधबार साँझ सार्वजनिक गरेका छन् ।
जोशी परिवारले पनि यो भिडियोबाट विपिन जोशी जीवित रहेको विश्वास जागेको जनाएको छ । ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाण, जसलाई आज हामी तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटुट विश्वास दिलाएको छ,’ जोशी परिवारले भनेको छ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएपछि उनको अवस्था हालसम्म थाहा हुन सकेको छैन ।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् । विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएको छैन ।
बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियोमा विपिनले आफ्नो परिचय दिँदै आफू नेपाली नागरिक भएको बताएका छन् र ‘अर्न एण्ड लर्न’ कार्यक्रमको सिलसिलामा इजरायल आएको बताएका छन् । तर यो भिडियो कहिले खिचिएको हो भन्ने स्पष्ट हुन सकेको छैन । गाढा नीलो कपडा लगाएको उनको यो भिडियो पुरानो हुन सक्ने अनुमान छ ।
विपिनका परिवारका सदस्यहरुले पनि भिडियो सार्वजनिक गर्नुभन्दा अगाडि आफूहरुलाई देखाएको तर अहिले सार्वजनिक भए पनि त्यसभन्दा बढी केही थाहा नभएको बताएका छन् ।
सन् २०२३ नोभेम्बरमा ‘वाल स्ट्रिट जर्नल’ले प्रकाशित गरेको रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रिपोर्टका अनुसार दुईवटा ग्रिनेड बंकरमा छिर्दा विपिनले तीमध्ये एउटा समातेर बाहिर फ्याँक्न सफल भएका थिए । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भए ।
विपिनलाई भने हमासले अपहरण गरी गाजामा लगेका थिए । एक समयमा उनलाई अलशिफा अस्पतालमा राखिएको थियो । सो अस्पतालमा रहेको उनको भिडियो पनि सार्वजनिक भएको थियो । त्यसयता विपिनको अत्तोपत्तो थिएन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीको ६ घण्टापछि गाजामा युद्धविराम गर्न हमास सहमत भएको थियो। हमासले गत शुक्रबार राति घोषणा गरेअनुसार, उनीहरू ट्रम्पको योजना अनुसार सबैतिरका बन्दीहरू (जीवित वा मृत) अवस्थामा रिहा गर्न तयार छन् । साथै गाजाको प्रशासन छोड्न पनि तयार भएको जनाइएको छ ।
हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो । यससँगै नेपाली युवक विपिनको अवस्था पनि सार्वजनिक हुने आशा पलाएको थियो ।
प्रतिक्रिया 4